logo-img

बाढीले पुलमा क्षतिमा पुर्याएपछि माथिल्लो र तल्लो मनाङ आवतजावत विच्छेद
फाइल तस्बिर

मनाङको माथिल्लो र तल्लो भागलाई जोड्ने पुलमा बाढीले क्षति पुर्‍याउँदा दुई भेगबीच आवतजावत पूर्णरूपमा विच्छेद भएको छ । जिल्लाको एक मात्र स्थलमार्गअन्तर्गत चामे गाउँपालिका–१ तिमाङ झरनामा आएको बाढीले मोटरेवल पुलमा क्षति पुर्‍याउँदा आवतजावतमा समस्या भएको हो ।

यही १७ असारमा तिमाङ झरनामा बाढी तथा ठूला–ठूला ढुङ्गा र गेग्रानसँगै आएको पहिरोले मोटरेवल पुलमा क्षति पुर्‍याएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए । 

पुलमा क्षति भएपछि तल्लो मनाङका स्थानीयलाई सदरमुकाम पुग्न समस्या भएको स्थानीय फुर्वा लामाले बताए । ‘सदरमुकामसम्म आउन तल्लो मनाङका स्थानीयले सकस भोग्नुपरेको छ । बाढीले पुलमा क्षति भएपछि चामे पुग्न सक्ने अवस्था छैन’, उनले भने, ‘सबैजसो कार्यालय सदरमुकाममा छन् । अत्यावश्यक कामबाट पनि तल्लो भागका स्थानीय वञ्चित भएका छन् ।’

बाढी कम नहुँदासम्म पुल मर्मत गर्न सकिने अवस्था नरहेको लामाले बताए । एक मात्र स्थलमार्ग भएको जिल्लामा पटकपटकको बाढी र पहिरोका कारण आवागमनमा सास्ती हुँदै आएको उनको भनाइ छ । अत्यावश्यक काम परेर सदरमुकामका साथै जिल्ला बाहिर जानुपर्दा तिमाङ खोला र तिमाङ झरना काट्न सकिने अवस्था नभएको लामाको गुनासो छ ।

स्थानीय मिनकासी गुरुङले असारमा कामको चापले सदरमुकाम जानुपर्ने बाध्यता रहेको भन्दै सडकका कारण निकै समस्या भोग्नुपरेको बताए । ‘जिल्लाका बासिन्दा मनसुनको सुरुआतमा नै समस्या भोग्न बाध्य छन् । बाढीपहिरोले बाटो बन्द हुने, हिँडेर जान सास्ती, सवारीसाधन सञ्चालन गर्ने अवस्था छैन । मनाङको यो समस्या कहिलेसम्म ? कहिले यस्ता समस्याका समाधान होलान् ?,’ उनले प्रश्न गरे ।

तल्लो मनाङ बाढीपहिराको मारमा पर्दै आएको छ । नासोँ गाउँपालिका–५ का वडाध्यक्ष थुतेन लामाले अहिले बाढीले क्षति पुर्‍याएको स्थानमा वैकल्पिक मार्ग निर्माण गर्न सकिने अवस्था नभएको बताए । मर्स्याङ्दी नदी किनारकिनारै सडक निर्माण भएकाले वैकल्पिक व्यवस्था नहुँदा तल्लो भागका स्थानीय बढी समस्यामा परेका उनको भनाइ छ । रासस 





  • प्रकाशित मिति : असार २१, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया