बालबालिकामा देखिने स्वास्थ्य समस्यामध्ये पेट दुखाइसम्बन्धी समस्या प्रमुख बन्दै गएको छ । बालबालिकाको पेटमा प्रायः समस्या भइरहन्छ । उनीहरू कहिले ‘पेट दुख्यो’ भन्छन् त कहिले ‘पेट ढुस्स भयो’ भन्छन् । कहिले पातलो दिसा त कहिले चुर्ना परेर हैरान । बालबालिकाले ‘पेट दुख्यो’ भन्नु सामान्य हो ।
पछिल्लो समय बालबालिकामा पेट दुख्नुको मुख्य कारण खानपान रहेको बालरोग विशेषज्ञ डा. रामहरि चापागाईं बताउँछन् । उनका अनुसार यो मौसमी पनि हुन्छ । विशेषगरी जाडो महिना र पानी पर्ने मौसममा यस्तो समस्या धेरै हुन्छ । मौसम परिवर्तन हुने बेलामा भाइरसहरू सक्रिय हुने भएकाले पनि पेट दुख्ने समस्या हुन्छ । बालबालिकालाई रूघाखोकी लागेका बेला त्यही फोहोर कीटाणु मिसिएको थुक, खकार, सिँगान बच्चाहरूले निल्छन्, जुन आन्द्रामा पुग्छ । त्यसले आन्द्राको संक्रमण गराउन सक्ने उनको भनाइ छ ।
डा. चापागाईंका अनुसार पेटको गिर्खाहरूको काम बाहिरी कीटाणुलाई समात्नु र हाम्रो शरीरमा फैलिन नदिनु हो । यो समात्ने क्रममा तिनीहरू आफैँ सुन्निएर बसेका हुन्छन् । जतिबेला आन्द्रा चल्छ, यी गिर्खाहरू पनि चल्ने भएकाले बच्चाहरूलाई धेरै पेट दुख्छ । यस्तो समस्या ६ महिना नाघेको र १२ वर्षभन्दा कम उमेरका बच्चालाई धेरै हुने उनको भनाइ छ ।
‘हिजोआज जंक फुड (पत्रु खाना) धेरै खुवाएर पेट दुख्ने समस्या थप बढेको छ । कहिलेकाहीँ जंक फुड खुवाउँदा केही हुँदैन,’ डा. चापागाईं भन्छन्, ‘तर, धेरैजसो घरमा खाजाकै रूपमा यसलाई खुवाउन थालिएको छ । यसले गर्दा घरमै पाइने खाना बच्चाले मन पराउन छाडेका छन् । बच्चाले साग र तरकारी खान मन नगर्दा कब्जियतको समस्या पनि निम्तिन सक्छ ।’
‘यसैगरी बर्खाको समयमा पानी राम्रो नहुने र सरसफाइ गतिलो नहुँदा जुकाको समस्या हुन्छ । जुकाले गर्दा पनि बच्चालाई पेट दुख्छ । जुका पर्यो भने बच्चाको तौल नबढ्ने, खाना खान मन नलाग्ने, वाकवाकी हुनेजस्ता लक्षण देखा पर्छन्,’ डा. चापागाईंले भने ।
उनका अनुसार कहिलेकाहीँ यस्तो समस्या विभिन्न रोगको संकेत पनि हुनसक्छ । खराब तथा गलत खानपानका कारण पनि बालबालिकालाई पेट दुखाइको समस्या बढ्दै गइरहेको अवस्था छ । त्यसबाहेक पेट दुख्ने समस्यामा झाडापखाला लाग्ने, नियमित रूपमा दिसा नहुने, दिसामा रगत जाने, पेट फुल्ने, पेटमा गाठागुठी आउनेजस्ता लक्षण देखिने डा. चापागाईंको भनाइ छ । पेट दुखाइको समस्याले बच्चा चिडचिडे हुने, एकनासले रुने, बारम्बार चर्पी गइरहने, खुट्टा खुम्चाएर सुत्ने, राम्रोसँग खाना नखाने, आत्तिनेजस्ता लक्षण लिएर अस्पतालमा आउने गरेको उनको भनाइ छ ।
कुनै बेलामा विभिन्न मानसिक समस्याले गर्दा पनि पेट दुख्यो भनेर अस्पतालमा आउने गरेको बालरोग विशेषज्ञ डा. चापागाईंको भनाइ छ । बालबालिकाहरूले दुख्यो भने भन्न नसक्ने हुँदा अभिभावकले आफ्नो बालबालिकाले कस्तो व्यवहार देखाउँछन्, के गर्दा बढी रुन्छन् भन्ने कुरामा ध्यान दिन डा. चापागाईं सुझाउँछन् ।
अन्य मानिसको तुलनामा बालबालिकाको नाजुक हुने हुँदा कहिलेकाहीँ बालबालिकाको रोग पहिचानमा ढिलाइ हुने चिकित्सक बताउँछन् । रोग पहिचानमा ढिलाइ भएपछि उपचारमा पनि ढिलाइ हुने डा. चापागाईंको भनाइ छ । यदि, रोगको पहिचान समयमा नै भएमा सम्पूर्ण उपचार नेपालमा नै हुने डा. चापागाईंको भनाइ छ ।
बालबालिकाहरूको पेट के कारणले दुख्छ भन्ने विषयमा केन्द्रित भएर कान्तिबाल अस्पतालका बालरोग विशेषज्ञ डा. रामहरि चापागाईंसँग फरकधारका लागि रेश्मा सिंहले गरेको संवाद
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0