logo-img

कांग्रेस र एमालेले मागे सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीको राजीनामा

नेपाली कांग्रेस र नेकपा एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीको राजीनामा माग गरेका छन् । केन्द्रमा नयाँ समीकरण बनेसँगै सुदूरपश्चिम सरकारको मुख्य साझेदार दल एमालेले सरकारबाट समर्थन फिर्ता गरेर मन्त्रीहरु बाहिरिएकाे थियाे । 

एमालेले बिहीबार समर्थन फिर्ता लिनुका साथै आफ्नो पार्टीबाट सरकारमा रहेका मन्त्रीहरुलाई राजीनामा गराएको थियो । सोडारी नेतृत्वको प्रदेश सरकारमा एमालेबाट तीनजना मन्त्री थिए ।

एमालेले समर्थन फिर्ता लिएसँगै एकीकृत समाजवादीका मुख्यमन्त्री दीर्घबहादुर सोडारी अल्पमतमा परेका छन् । आइतबार दुवै दलले संयुक्त हस्ताक्षर गरेर वक्तव्यमार्फत मुख्यमन्त्री सोडारीको राजीनामा मागेका हुन् ।

कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह र एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलद्वारा हस्ताक्षरित वक्तव्यमा बहुमत गुमाइसकेका मुख्यमन्त्रीले दैनिक कामकाजबाहेक कुनै पनि काम नगर्न आग्रह गरिएकाे छ । एमालेले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिसकेको, सोडारी सरकार अल्पमतमा परिसकेको र अब सरकारमा बसिरहन मुख्यमन्त्रीलाई नैतिक आधार नभएकाले भन्दै उनीहरूले मार्गप्रशस्त गर्न माग गरेका हुन् । 

मुख्यमन्त्री सोडारीले भने आफूले प्रदेशसभामा विश्वासको मत परीक्षण गर्ने अडान लिइरहेका छन् । सोडारी नेतृत्वकाे सरकारमा माओवादी केन्द्रका ३, नागरिक उन्मुक्तिका २ र एकीकृत समाजवादीबाट एकजना मन्त्री कायम छन् ।





  • प्रकाशित मिति : असार २३, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया