logo-img

बंगलादेशमा नेपालको पर्यटन प्रवर्द्धन

बंगलादेशबाट बढीभन्दा बढी पर्यटक नेपाल भित्र्याउने उद्देश्यले त्यहाँ नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ । पर्यटन प्रवर्द्धनका लागि बंगलादेश गएको होटल संघ नेपालको प्रतिनिधिमण्डलले त्यहाँका एक सयभन्दा बढी ट्राभल, टूर पर्यटन व्यवसायीसँग बीटूबी मिटिङका साथै छिमेकको उपयुक्त पर्यटकीय गन्तव्यको रुपमा नेपालको प्रचारप्रसार गरेका हुन् । 

संघका अध्यक्ष विनायक शाहको नेतृत्वमा गएको १८ सदस्यीय उक्त प्रतिनिधिमण्डल बंगलादेशमा नेपाल प्रवर्द्धन गरी आज स्वदेश फर्किएको हो । होटल संघ नेपाल, नेपाल पर्यटन बोर्ड र नेपाली दूतावास बंगलादेशको संयुक्त आयोजनामा यही असार २० देखि २३ सम्म बंगलादेशको राजधानी ढाकामा पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम तथा बीटुबी कार्यक्रमआयोजना भएको थियो ।

पछिल्लो समय बंगलादेशबाट नेपाल आउने पर्यटकको संख्या बढिरहेको छ । भारत, तीन र अमेरिकापछि बंगलादेश नेपालको चौथो प्रमुख पर्यटनको स्रोत बजार हो । बंगलादेशबाट वार्षिक ३७ हजार हाराहारी पर्यटक नेपाल आउने गरेको व्यवसायीको भनाइ छ ।

संघका अध्यक्ष विनायक शाहले बंगलादेशी पर्यटकहरु बिदा मनाउनका साथै कर्पोरेट गतिविधि, माइस टुरिजम, डेस्टिनेसन वेडिङ, हनिमुन टूरको माग बढ्दै गएको हुँदा खासगरी यी विषयमा जानकारी तथा प्याकेज सार्वजनिक गर्न सो कार्यक्रम फलदायी रहेको बताए । 

उनले कोरोना महामारीपछि मुलुकमा एकपछि अर्को तारे होटल थपिएका तथा केबलकारलगायत पूर्वाधार विस्तार भइरहेको सन्दर्भमा बढीभन्दा बढी बंगाली पर्यटक नेपाल ल्याउन कार्यक्रम उपयोगी भएको बताए । 

दुई देशबीच पर्यटन विकासका लागि गर्नुपर्ने प्रमुख कार्यलाई निरन्तर रुपमा सहकार्य गर्ने उद्देश्यले सोही कार्यक्रममा होटल संघ नेपालले बंगलादेशका पर्यटन विकाससँग सम्बन्धित छुट्टाछुट्टै पाँच छाता संगठनहरुबीच समझदारीपत्रमा हस्ताक्षर गरेको छ । 



दुई मुलुकका संस्थाबीच भएको सम्झौताले संयुक्त पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने संघका अध्यक्ष शाहको भनाइ छ । उनले पर्यटन प्रवद्र्धनमा आउँदा दिनमा दुवै संस्थाले योजनाबद्ध कार्यक्रम लैजाने भन्दै त्यसका निम्ति हवाई सम्पर्क सञ्चाललाई प्रभावकारी र सहुलियत बनाएर जान सकेको खण्डमा पर्यटक आगमन बढ्ने धारणा राखे । 

त्यसक्रममा बंगलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले दुई छिमेकी मुलुकबीच पर्यटन प्रवर्द्धनको प्रचुर सम्भावना भएको सो कार्यक्रम फलदायी रहेको बताए । 



बोर्डका निर्देशक लक्ष्मण गौतमले उपयुक्त पर्यटन गन्तव्यका रुपमा बंगलादेशीहरुलाई नेपालमा रहेको आकर्षण तथा पर्यटकीय गतिविधिबारे सचित्र विस्तृत प्रस्तुतीकरण गरेका थिए । 

सोही कार्यक्रममा बंगलादेशी पर्यटन व्यवसायी तथा सरकारका तर्फबाट बंगलादेश पर्यटन बोर्डका उपनिर्देशक साइफुल हसनले नेपालमा भएको पर्यटन विकासबाट अभिप्रेरित रही आपसी सहकार्य बढाउँदै जाने बताए । 

त्यस अवसरमा बंगलादेशका सगरमाथा आरोही निशात मजुमदार र बबर अलीलाई अभिनन्दन गरिनुका साथै त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरुले नेपाली सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

  • प्रकाशित मिति : असार २३, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया