logo-img

दोधारा चाँदनीमा २४ घण्टामा ५७३ मिलिमिटर वर्षा मापन
फाइल तस्बिर

वर्षासँगै नदीमा आएको बाढीमा बगेर कैलाली र कञ्चनपुर जिल्लामा दुईजना बेपत्ता भएका छन् । प्रदेश प्रहरी कार्यालय धनगढीले कैलालीको कैलारी गाउँपालिका–९ गदरिया गाउँको भुर्रा नदीमा डुबेर आइतबार साँझ सोही ठाउँका १८ वर्षीय अजय राना वेपत्ता भएका छन् । 

नुहाउनेक्रममा डुबेर बेपत्ता भएका रानाको प्रहरीले खोजी गरिरहेको छ । यस्तै, आइतबार नै कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३ का २३ वर्षीय डम्मर चौधरी नजिकै रहेको चौदर नदीमा डुबेर बेपत्ता भएका छन् । नदीमा माछा मार्न गएको बेला चौधरी डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरी टोलीले खोजी गरिरहेको छ ।

शनिबार डडेल्धुरा पर्शुराम नगरपालिका–३ का ५६ वर्षीय नवराज पनेरुको पहिरोमा पुरिएर मृत्यु भएको थियो । गाउँ नजिकैको भातगडा भन्ने ठाउँमा रहेको खानेपानीको मुहान सरसफाइ गर्ने क्रममा माथिबाट खसेको पहिरोमा परी पनेरुको घटनास्थलमै मृत्यु भएको थियो । 

अविरल वर्षासँगै ती दुई जिल्लाका विभिन्न नदी र खोलाको जल सतह बढेपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले सूचना गरेको छ ।

सबैभन्दा बढी वर्षा मापन

जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयले वर्षा मापन भएको कञ्चनपुरको दोधार चाँदनीमा यसवर्ष सबैभन्दा बढी वर्षा मापन भएको जनाएको छ । महाकाली नदीपारीको दोधारा चाँदनीमा पछिल्लो २४ घण्टामा पाँच सय ७३ मिलिमिटर वर्षा मापन भएको छ । 



कार्यालयका प्रमुख सञ्जय साहले भने, ‘दोधारा चाँदनीमा यति धेरै वर्षा मापन भएको नेपालको इतिहासमै सबैभन्दा बढी हो, यसअघि विगतका वर्षमा हेटौंडामा ५ सय १६ मिलिमिटर वर्षाको मापन गरिएको थियो ।’ अति भारी वर्षापछ दोधारा चाँदनी र आसपासका क्षेत्रमा डुबान भएको छ ।  

धनगढीमा गएको १२ घण्टामा एकसय ८४ दशमलव सात मिलिमिटर वर्षा मापन भएको छ । अझै पनि भारी वर्षा हुने पूर्वानुमान गरिएकाले उच्च सतर्कता अपनाउन साहले आग्रह गर्नुभयो । दुई सय मिमिभन्दा बढी वर्षा हुनुलाई अति भारी वर्षा भएको मानिन्छ ।



अविरल वर्षासँगै महाकाली, कर्णाली, ठूलीगाड, मोहना, खुटिया, कान्द्रा, घुरुवा, कटैनी, स्याली, दोदा, चौदरलगायतका नदी र खोलामा जलसतह बढेको छ । वर्षासँगै कैलाली र कञ्चनपुरका होचो भूभागमा रहेका बस्ती डुवानमा परेपछि धेरै परिवार विस्थापित भएका छन् । 

डुबानमा परेको कैलालीको भजनी, जानकीनगर क्षेत्रका बासिन्दा अग्लो स्थानमा रहेको हुलाकी राजमार्ग खण्डमा बसेका छन् । कैलालीको कटैनी नदीमा जडान भएको पूर्वसूचना दिन यन्त्र गए रातिको बाढीले बगाएको छ । रासस 

  • प्रकाशित मिति : असार २४, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया