logo-img

प्रतिनिधिसभा बैठक : शून्य समयमा कुन सांसदले के भने ?

प्रतिनिधि सभाको आजको बैठकमा शून्य समयमा धारणा राख्ने सांसदले मनसुनी वर्षापछि देशभर बाढीपहिरो, डुबानलगायत विपदबाट भएको धनजनको क्षतिको वास्तविक विवरणबारे जानकारी दिन संसदमार्फत सरकारसँग माग गरेका छन् ।  

प्रतिनिधि सभाको आजको बैठकमा सांसद शेरबहादुर कुँवर, हेमराज राईले बाढीपहिरो र डुबानबाट भएको क्षतिको विवरण उपलब्ध गराउन सरकारसँग माग गरेका हुन् ।

मनसुनी विपद्का कारण घरवास गुमाएकालाई पुनर्वासको व्यवस्थासहित राहत उपलब्ध गराउन, घाइतेलाई शीघ्र उपचार गराउन, हराइरहेकाको खोजी तीव्र पार्न र जोखिमका रहेका बस्तीको स्थानान्तरणका लागि सांसदले माग गरेका हुन् ।  

शून्य समयमा सांसद शोभा ज्ञवाली, सन्तोष चालिसे, सीताकुमारी राना, सपना राजभण्डारी, सीता मिजार, सुशीला श्रीपाली ठकुरी, सूर्यमान तामाङ दोङले प्राकृतिक विपद् व्यवस्थापन, राहत तथा उद्धारका कार्यमा शीघ्रता दिन सरकारलाई आग्रह गरे । बाढी, पहिरोका कारण देशभरका राजमार्ग अवरुद्ध भएको विषय संसद्मा उठाउँदै सांसदले सहज यातायात आवागमनको व्यवस्था गर्न माग गरे । 

बाढीपहिरो र डुबानको जोखिम भएका स्थान पहिचान गरी त्यहाँका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने, पूर्वसूचना प्रणाली प्रभावकारी बनाउनुपर्ने, आकस्मिक उपचारका लागि अस्पताल तयार पारिनुपर्ने, उद्धारका लागि हवाई एम्बुलेन्सको व्यवस्था गर्नुपर्नेलगायत माग सांसदले माग गरे ।

सांसद शान्ति विकले गृहमन्त्रालयले विभिन्न भ्रष्टाचारका काण्ड छानबिनमा ढिलाइ गरेको र राजनीतिक समीकरण फेरबदल हुनुमा वर्तमान सरकारको कार्यशैली जिम्मेवार रहेको आरोप लगाइन् ।



सांसद डा. स्वर्णिम वाग्ले र सन्तोष परियारले अहिलेको सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त बेचन झालाई पक्राउ गरेपछि अरू व्यक्ति पनि पक्राउपर्ने डरले सत्तासमीकरण फेरबदल चलेको आरोप लगाए ।

सांसद सम्झना थपलियाले हुलाकी राजमार्गअन्तर्गत सिराहा र धनुषा जिल्ला जोड्ने कमला नदीको पुल उपयोगमा नआउँदै भासिएको सदनलाई जानकारी गराउँदै गलत डिजाइन र कमसल निर्माण सामग्रीका कारण भासिएको बताइन् । उनले त्यसबारे अध्ययन गरी दोषीलाई कारबाहीको माग गरिन् ।  



सांसद सरस्वती बजिमयले सुन तस्करी प्रकरणबारे छानबिन प्रतिवेदनले दिएका सुझाव कार्यान्वयन गर्न र प्रतिवेदनले देखाएका दोषीलाई कारबाहीको प्रक्रिया अघि बढाउन माग राखिन् । 

अर्का सांसद सराज अहमद फारुकीले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि मार्गप्रशस्त गर्न प्रधानमन्त्रीसँग आग्रह गरिन्। मुलुकमा राजनीतिक स्थिरताका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको उनले बताइन् ।  

सांसद सूर्यमान तामाङ दोङले पनि राजनीतिक समीकरण बदलिएकाले प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा गर्नुपर्नेमा जोड दिए । सांसद सुशीला थिङले राष्ट्रिय परिचयपत्रमा प्रयोग हुने फोटोमा विवाहित महिलाले सिन्दुर पोते लगाउन नपाइने व्यवस्था हटाइनुपर्ने बताइन् । 

  • प्रकाशित मिति : असार २४, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया