logo-img

संगीतमय संसद, गीतबाटै सवाल-जवाफ

नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच यही असार १७ गते नयाँ सहमति भएपछि राष्ट्रिय सरकार निर्माण गर्ने तयारीसँगै मुलुकको राजनीति तरङ्गीत बनेको छ । उक्त सहमतिलगत्तै सत्तासाझेदार एमालेले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षी बेञ्चमा बसेको छ ।

एमालेले आफ्ना मन्त्रीहरुको राजीनामा बुझाउन प्रधानमन्त्री निवास बालुवाटार जाँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गायक फत्तेमानराज भण्डारीको एउटा गीतको हरफ एमालेका मन्त्रीहरूलाई सुनाएका थिए । ‘यस्तो पनि हुँदो रैज जिन्दगीमा...!’ सोही प्रसङ्ग उल्लेख गर्दै  एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले प्रतिनिधिसभाको आजको बैठकमा जवाफी गीत सुनाए ।

बैठकको विशेष समयमा प्रमुख सचेतक बर्तौलाले वर्तमान सरकारलाई नेकपा एमालेले दिएको समर्थन फिर्ता लिएको सन्देश लिएर मन्त्रीहरुले राजीनामा बुझाउने क्रममा प्रधानमन्त्रीले फत्तेमानराज भण्डारीको गीत सुनाएको स्मरण गराउँदै जवाफमा गायिका अञ्जु पन्तको ‘तिमिले पराई ठानेपछि, पराई हुन के भयो र तिम्रो मेरो बीचको नाता हुनुपर्ने के रह्यो र...!’ गीत सुनाए । 

प्रतिनिधिसभाको आइतबार र आज भएको बैठकमा सांसदहरुले गीतमार्फत विम्ब प्रहार गरिरहेका छन् । आइतबारको बैठकमा सांसद सुनील शर्माले गायक रामकृष्ण ढकालको गीत ‘छल गर्यो मायाले...सबैको देख्छु हासो र खुसी शिखरको बाटोमा आफूत...!’ गाएका थिए । बैठकमा सांसदहरुले दलीय प्रतिनिधित्व गर्दै एक अर्कालाई साङ्गीतिक झटारो प्रहार गरिरहेका छन् ।

विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद पूर्णबहादुर घर्तीले गायिका कुन्ति मोक्तानको ‘कति जल्छौँ आरिसले अझै जल्दै गर, मत हिँड्छु मेरै बाटो खुट्टा तान्दैगर’ सुनाए । उनले बैठकमा गीतको बिम्ब प्रस्तुत गरिएकाले आफूलाई पनि गीतको हरफ आएको भन्दै राजनीतिमा सरकार फेरबदल भइरहनु सामान्य कुरा भएको बताए । उनले यसलाई कुनै पनि राजनीतिक दलले अन्यथा लिन नहुने धारणा राखे । 

राष्ट्रिय सहमति गर्ने विषयलाई पार्टीले सदैव सकारात्मक रुपमा लिएको भन्दै संविधान निर्माणदेखि पछिल्ला सरकार गठनमा पनि सहकार्य र सहमति गर्दै अघि बढेको सांसद घर्तीले बताए । उनले संविधान संशोधनका लागि राष्ट्रिय सहमति गरेर अगाडि बढ्न सकिने धारणा राखे ।



प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ

एमालेका प्रमुख सचेतक बर्तौलाले एमालेले राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नुपर्ने विचार राख्दै आएको बताउँदै कांग्रेससँग उक्त विषयमा विचार मिलेकाले सरकारबाट बाहिरिएको बताए । उनले भने, ‘संसद्का दुई ठूला दल मिलेर मुलुकको वर्तमान सङ्कटलाई निकासा दिन राष्ट्रिय सरकार निर्माणको आकाङ्क्षा बोकेर समझदारी गरेका हौँ ।’



प्रमुख सचेतक बर्तौलाले सरकार अल्पमतमा परिसकेकाले वर्तमान प्रधानमन्त्रीले तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखे । उनले संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार गठन हुने बताए । 

सांसद बर्तौलाले संसद्मा दुई पार्टीबीचको सहमतिबारे विभिन्न टीकाटिप्पणी भइरहेको भन्दै कांग्रेस र एमालेले मुलुकमा विद्यमान समस्या समाधानको सङ्कल्पगरी सहकार्य गर्न लागेकाले यसमा सबैले सहयोग गर्नुपर्ने बताए । उनले अङ्कगणितीय हिसाबले नभई राष्ट्रिय सहमतिबाट संविधान संशोधन गरेर विद्यमान समस्या समाधानमा सम्बोधन गरिने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले संविधानको प्रावधानअनुसार नै सरकार गठन प्रक्रिया अगाडि बढाउन राजनीतिक दललाई आग्रह गरे । उनले संवैधानिक व्यवस्थाअनुरुप वर्तमान सरकारले आफ्नो समय उपयोग गरेको जिकिर गरे । सांसद झाले संविधान र संसदीय प्रणालीको अभ्यास सबै दलले गर्नुपर्नेमा जोड दिँदै अहिलेको सङ्कटलाई समाधान गर्न सबै गम्भीर हुनुपर्ने धारणा राखे ।  

  • प्रकाशित मिति : असार २४, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया