logo-img

‘बा’ लाई निरन्तर चिढ्याउँदै बालेन
मेयर बालेन सामाजिक सञ्जालमार्फत विशेष गरी एमाले नेतृत्वप्रति निकै आक्रामक रूपमा प्रस्तुत हुँदै आएका छन्

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग चिढिनु नौलो होइन । उनी बेलाबेला ओलीप्रति आक्रोशित मात्रै हुँदैनन्,भ्रष्टाचारीको तक्मा पनि भिराइदिन्छन् । प्रायः सामाजिक सञ्जालबाट ओलीप्रति कटाक्ष पोख्ने बालेन पछिल्लो समय थप उग्र बनेका छन् । हालैको बाढीले काठमाडौं खोला किनारका बस्ती डुबानमा पर्दा त्यसको दोष बालेनले ओलीलाई लगाए । 

उनले ओलीलाई लक्षित गर्दै काठमाडौंमा खोला बस्तीमा नपसेको बस्ती खोलामा बसेको बताउँदै यसरी खोला छेकेर बसेका १५ हजार व्यक्तिलाई गिरीबन्धुमा व्यवस्थापन गर्न सकिने मात्रै बताएनन्, ३० वर्षसम्म भोटको राजनीति गरेको आरोप लगाउँदै अर्को ३० वर्ष पनि झुलाउने सोच बनाएको छ ? भन्दै प्रश्नसमेत गरेका छन् । 

‘आज काठमाडौंमा केही घण्टा पानी पर्दा खोला छेउ बस्ने धेरै डुबानमा परे । खोला बस्तीमा पसेको हैन, खोलाले आफ्नो बाटो खोजेको हो । आज एक दिन पानी पर्दा त यस्तो हालत छ, केही दिन लगातार पानी पर्दा के हालत हुने हो !,’ गत शनिबार बालेनले सामाजिक सञ्जालमा लेखे, ‘अनि ठुलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी ? उहाँहरूको जीवनसँग खेलबाड गरेर भोटको राजनीति यसरी नै सधैँ गरिरहने हो ? उहाँहरूलाई उचित ठाउँमा लगेर व्यवस्थापन गर्नेतर्फ सोच्ने कि उहाँहरूलाई जसरी ३० वर्ष झुलाइसक्नु भयो, अझै अर्को ३० वर्ष पनि झुलाउने सोच बनाउनु भएको छ ?’

यो विषयमा बालेनले ओली प्रधानमन्त्री बन्न थालेको प्रसङ्ग पनि जोडेका छन् । उसो त एमाले र कांग्रेसबीच सरकार बन्ने कुरा बाहिरिँदा नै बालेनले भ्रष्टाचार गर्नकै लागी नयाँ सहमति गरेको आरोप लगाएका थिए । एमाले–कांग्रेसबीच सहमति जुट्दा ‘यो समय गिरिबन्धु चियाको हो । काले काले मिलेर खाऊ भाले ।’ भनेर व्यङ्ग्य गरेका बालेनले काठमाडौंको सुकुम्वासी बस्तीमा बाढी पस्दा ओलीलाई भने, ‘काठमाडौंमा लगभग २००० परिवार खोला छेउमा बस्ने गरेका छन् । तपाईँले पचाउन खोज्नु भएको गिरिबन्धु’मा यस्ता १५००० परिवार व्यवस्थापन हुन सक्छ । अब त प्रधानमन्त्री नि बन्दै हुनुहुन्छ रे, त्यो पनि दुई तिहाइ बहुमतसहित । अब यो समस्याको समाधान गर्नु हुनेछ भन्ने आशा लिएको छु ।’

एमाले–कांग्रेसको दुई तिहाइ बहुमतको सरकार बन्न लाग्दा आशा पलाएको व्यङ्ग्य गरेका मेयर बालेन आफू भने नगर सभाभित्रै एक्लिने अवस्थाले ओलीप्रति यसरी थप आक्रोशित हुन थालेका हुन् । महानगरमा उनले आफ्नो निर्णय लागू गर्न कठिनाइ भइरहेको छ । 

काठमाडौंका ३२ वटा वडामा एमालेका १२ वडाध्यक्ष छन् । उपमेयर पनि काठमाडौंमा एमालेकै छिन् । केन्द्रमा एमाले–कांग्रेस गठबन्धन हुँदा काठमाडौं महानगरमा कांग्रेसबाट निर्वाचित १९ जना वडाध्यक्ष र एमालेबाट निर्वाचित वडाध्यक्षहरू एकमत हुनेछन् । काठमाडौंमा एक जना मात्रै नेकपा एकीकृत समाजवादीका वडाध्यक्ष छन् । केन्द्रको समीकरणअनुसार महानगरमा पनि वडाध्यक्षहरू एकमत हुँदा बालेनलाई कुनै पनि निर्णय गर्न थप असहज हुनसक्छ । यसले पनि उनी एमाले–कांग्रेसप्रति थप चिढिएका हुन सक्छन् । 



नगर सभाको निर्णयमाथि एमालेले असहयोग गर्दै आएको बताउँदै मेयर बालेनले बेला–बेला आक्रोश पोखेकै हुन्छन् । हालैको नगर सभा बैठकमा त कांग्रेस, एमालेको धङधङी बोकेर नआउन उनले जनप्रतिनिधिहरूलाई चेतावनी नै दिएका थिए । त्यसबेला भनेका थिए, ‘३ जना नेताले गर्दा, १६० जना जनप्रतिनिधीको बोल्ने अधिकार हनन भयो । काठमाडौं महानगरपालिकाको नगर सभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु होला ।’ 

धरहरा, धरहरा पार्किङ, न्युरोड सडक लगायतका विषयमा एमालेबाट निर्वाचित वडाध्यक्ष, एमाले नेता र बालेनबीच मतभेद रहँदै आएको छ । हालै  बालेनले न्युरोडमा जसले सडकमा पार्किङ गर्न पाउनु पर्छ भनेर आन्दोलन गरेका थिए, तिनैले अहिले ३ फिट फुटपाथ बढाउँदा विरोध गरिरहेको बताएका थिए । सामाजिक सञ्जालमार्फत उनले प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिन सुझाव पनि दिएका थिए । वडाध्यक्ष र मेयर बालेनबीच न्युरोड सडकबारे कुरो मिल्न सकेको थिएन । 



तत्कालीन समयमा एमालेबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका रघुवीर महासेठले काठमाडौं न्युरोडमा महानगरले कानुनविपरीत सडक तोडफोड गरेकाले रोकेको बताएका थिए । बबरमहलस्थित सडक विभागको मुख्यालय र मीनभवनस्थित सडक डिभिजन कार्यालयको प्रवेशद्वारमै काठमाडौं महानगरपालिकाको टिपरले धुलो खसालेपछि महानगर र मन्त्रालयबीच द्वन्द्व नै देखिएको । यस्ता विभिन्न घटनाले एमाले र बालेनबीचको सम्बन्ध थप बिग्रिँदै गएको देखिन्छ । 

बालेनका कुनै पनि अभिव्यक्तिमाथि ओली र उनी निकट एमाले नेताले प्रतिक्रिया जनाइहाल्छन् । गिरीबन्धु होस् या ओलीमाथि बालेनले कुनै टिप्पणी गर्दा एमाले नेताहरूको प्रतिक्रिया आइहाल्छ । काठमाडौंमा सुकुम्वासी बस्ती डुबानको प्रसङ्गमा बालेनले सामाजिक सञ्जालमा लेखेको स्ट्याटसले धेरै एमाले नेताहरू जङ्गिएका छन् । तिनै मध्यका एक ओली निकट भनिएका महेश बस्नेतले बालेनलाई केपी ओलीमाथि प्रश्न उठाउने कुनै नैतिक अधिकार नै नभएको दाबी गर्दै आक्रोश पोखेका छन् । 

‘तपाईँले गरेका ५ वटा पूर्वाधारका काम के के हो भनेर कसैले सोधेमा दिने जवाफ तपाईँसँग छैन । पब्लिक सेन्टिमेन्टलाई दुरुपयोग गरेर सोसल मिडियामा वाररुम चलाएर केही अराजक समूह परिचालन गरेर आफ्नो  प्रशंसा आफैले गर्न लगाएर तपाईँ निकै नै मात्तिनु भएको छ,’ बालेनप्रति आक्रोशित हुँदै महेशले भनेका छन्, ‘काठमाडौं उपत्यकाका सबै नदीहरू जलमग्न भए सडकहरुमा अबरोध भयो । त्यतिखेर स्थानीय तहको नेतृत्व गरेको मेयर राहत र उद्धारमा खट्नुपर्ने बेलामा तपाईँ दिनभरि इन्जोय गरेर बस्नुभयो । खान नहुने कुरा र तान्न नहुने कुरा तानेर बस्नुभयो भन्ने काठमाडौँ बासीको गुनासो छ ।’ 

यो पनि : ओली-बालेन सम्बन्ध : बिग्रिएको कहाँ हो ?

  • प्रकाशित मिति : असार २४, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया