logo-img

सतीले सरापेको नेपाल : देशभर मनसुनी बाढी, संसददेखि बालुवाटारसम्म सांगीतिक बाढी

देश अहिले अल्पमतको सरकारका भरमा टिकिरहेको छ । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच यही असार १७ गते नयाँ सहमति भएपछि दुई प्रमुख दल राष्ट्रिय सरकार निर्माणको तयारीमा जुटेका छन् । 

नेपाली राजनीतिले अर्को कोल्टे फेर्ने सुरसार गरिरहँदा मौसमले भने नेपाललाई चुनौती दिइरहेको छ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशमा ठूलो क्षति पुर्याइरहेको छ । हालसम्म मुलुकका विभिन्न स्थानमा गएको पहिरोमा परी ७० जनाको मृत्यु भएको छ भने ८६ जना घाइते भएका छन् ।

विगत २४ घण्टायता मात्र ५२ जनाभन्दा बढीको ज्यान बाढी पहिरोले लिएको छ । नेपाल प्रहरीका अनुसार निरन्तरको वर्षाले काठमाडौंसहित गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा भएको बाढी–पहिरोले जनधनको व्यापक क्षति भएको छ ।

शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण पाँचजना बेपत्ता भएका छन् । लगातारको वर्षाका कारण हालसम्म ८६ घरमा ठूलो क्षति भएको छ । यस्तै, वर्षाका कारण ३३५ पशु चौपायाको मृत्यु भएको प्रहरीले जनाएको छ । हालसम्म अविरल वर्षा, पहिरो, चट्याङ तथा बाढी गएको ठाउँमा ४ हजार ७ सय ९० जना प्रहरी परिचालन गरिएका छन् । 

साथै बाढी र पहिरोका कारण पछिल्लो दुई दिनमा ९ करोड ५६ लाख ७४ हजार २ सय  ५० रुपैयाँ क्षति भएको  प्रहरीले जनाएको छ ।

दैवी विपत्तिले मुलुक आक्रान्त बनिरहे पनि राजनीतिक दल भने सत्ताको खिचातानीबाट माथि उठ्न सकेका छैनन् । अहिले संसददेखि राजनीतिक भेटघाटसम्मलाई नियाल्दा त्यहाँ राजनीति होइन सांगीतिक प्रतियोगिता नै चलिरहेको भान हुन्छ । 



अहिले प्रमुख रुपमा सत्ता छाड्न आनाकानी गरिरहेको नेकपा माओवादी र सत्ता छाडेर प्रतिपक्षी बेन्चमा बस्न थालेको नेकपा एमालेबीच सांगीतिक दोहोरी नै चलिरहेको छ । यसको सुरुवात भने स्वयं प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले नै गरेका हुन् । 

कांग्रेससँग सहमति भएको केअी दिनपछि एमालेका मन्त्रीहरू राजीनामा बुझाउन प्रधानमन्त्री निवास बालुवाटार गएका थिए । हठात् राजनीतिले आफूले सोचेभन्दा फरक बाटो रोजेपछि प्रधानमन्त्री दाहालले गायक फत्तेमानराज भण्डारीलाई सम्झिए । एमलेका मन्त्रीहरूले बुझाएको राजीनामा बुझ्दै उनले गीत गाए ‘यस्तो पनि हुँदो रैछ जिन्दगीमा कहिलेकाहीँ....’



प्रधानमन्त्री प्रचण्डले कहिले कांग्रेसलाई त कहिले एमालेलाई छल गर्दै आफू सत्तामा हालिमुहाली गरेका कारण अहिले उनको हालत नाजुक बनेको भन्दै आइतबारको संसद बैठकमा कांग्रेसका सांसद सुनील शर्माले गायक रामकृष्ण ढकालको गीत गाए, ‘छल गर्‍यो मायाले.... सबैको देख्छु हाँसो र खुसी शिखरको बाटोमा आफ्नो त बरै भाग्य नै फुट्यो.....’

बैठकमा सांसदहरूले दलीय प्रतिनिधित्व गर्दै एक–अर्कालाई सांगीतिक झटारो हान्ने शृंखला यतिमै रोकिएन । प्रधानमन्त्रीलाई व्यंग्य गर्दै एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले प्रतिनिधिसभाको सोमबारको बैठकमा जवाफी गीत सुनाए । 

बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक बर्तौलाले एमालेले दिएको समर्थन फिर्ता लिएको सन्देश लिएर मन्त्रीहरूले राजीनामा बुझाउने क्रममा प्रधानमन्त्रीले फत्तेमान राजभण्डारीको गीत सुनाउनुभएको स्मरण गराउँदै गायिका अञ्जु पन्तको गीत गाए, ‘तिमीले पराई ठानेपछि, पराई हुन के भयो र तिम्रो मेरो बीचको नाता भन्नु पनि के रह्यो र...’

त्यसैगरी विशेष समयमा नै बोल्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद पूर्णबहादुर घर्तीले गायिका कुन्ती मोक्तानको गीत गाए, ‘कति जल्छौँ आरिसले अझै जल्दै गर, मत हिँड्छु मेरै बाटो खुट्टा तान्दै गर.... ।’ उनले राजनीतिमा सरकार फेरबदल भइरहनु सामान्य कुरा भएको बताउँदै यसलाई कुनै पनि राजनीतिक दलले अन्यथा लिन नहुने धारणा राखे । 

राष्ट्रिय सहमति गर्ने विषयलाई पार्टीले सदैव सकारात्मक रूपमा लिएको भन्दै संविधान निर्माणदेखि पछिल्ला सरकार गठनमा पनि सहकार्य र सहमति गर्दै अघि बढेको सांसद घर्तीले बताउनुभयो । उहाँले संविधान संशोधनका लागि राष्ट्रिय सहमति गरेर अगाडि बढ्न सकिने धारणा राख्नुभयो ।

त्यही बीचमा नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले मुलुकभर बढी, पहिरो, डुबानलगायत प्राकृतिक प्रकोपजन्य घटना बढिरहेकोप्रति सरकारको ध्यानाकर्षण गराइन् । उनले विपद् व्यवस्थापन गर्न सरकारले के तयारी गरिरहेको छ सदनलाई जानकारी गराउन माग गरेकी थिइन् । उनले हरेक वर्ष विपद् आएपछि मात्रै तयारी थाल्ने गरिएकाले भन्दै विपद् व्यवस्थापनका लागि दीर्घकालीन योजना बनाएर कार्यान्वयन गर्नुपर्ने माग गरिन् । 

माथिल्ला प्रसंगले के बोध गगर्न सकिन्छ भने राजनीतिक दल अझै पनि जनताका पीडामा भन्दा आफ्नै सत्तास्वार्थमा रुमल्लिरहेका छन् । उनीहरूका लागि दैवी प्रकोपको रोकथाम वा यसबाट पीडितहरूको घाउमा मल्हम लगाउनु प्राथमिक विषय होइन ।। उनीह्रूको प्राथमिक विषय त केबल सत्तास्वार्थ हो ।

विकसित मुलुकमा राजनीति नैतिकताका आधारमा चल्छ । तर, नेपालमा खदालतले नैतिकताका आधारमा राजीनामा गर्नुपर्ने ठहर गरिसक्दा पनि मुलुकका गृहमन्त्री कुर्सी छाड्न मान्दैनन् ।  

बेलायतमा चुनाब सम्पन्न भएर त्यसको पूरै नतिजा नआउँदै त्यहाँका प्रधानमन्त्रीले राजीनामा दिएर बाहिरिइसके । नवनियुक्त प्रधानमन्त्रीले पद ग्रहण गरेको भोलिपल्टैबाट विकासका योजना अघि सारिसक्यो । चुनाव सम्पन्न भएर हिजो (आइतबार) मात्रै बनेको बेलायती सरकारले पेन्सन, आवास, ब्याजदर, आर्थिक वृद्धि, स्वच्छ ऊर्जा, पर्यावरण र इमिग्रेसनदेखि दक्ष जनशक्ति विकाससम्म गहन छलफल र बहस सुरु गरिसक्यो । 
 
तर, नेपालमा सत्ताका लागि कसले कसलाई बदनाम गर्ने टुंगो छैन । हिजोसम्म तथानाम गाली गरिरहेको पार्टीसँग अर्को दिन सहकार्य सुरु हुन्छ अनि हिजोसम्मको सहयात्रीविरुद्ध विषवमनको बाढी लाग्छ । तर, जनताको समस्या उनीहरुका लागि चुनावी एजेण्डाभन्दा बढी केही हुँदैन । 

अनि जनता कुहिरोका कागजस्तै रुमल्लिन बाध्य छन् । यसले गर्छ कि उसले गर्छ कि भन्दै चुनावैपिच्छे नयाँनयाँ प्रयोगमा रमाउन अभिशप्त छन् । तर, जो आए पनि जनताको समस्या ज्युँका त्युँ नै रहन्छ । अनि पुपुर्रोमा हात राख्दै भन्न बाध्य हुन्छन्, सतीले सरापेको देश.... । 

  • प्रकाशित मिति : असार २४, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया