logo-img

एक दशकपछि अभिनयमा फर्किंदै तीन अभिनेत्री

केही समय नेपाली चलचित्रबाट टाढा रहेका अभिनेत्रीहरू पुनः चलचित्र र टेली शृंखलाको माध्यमबाट पर्दामा फर्किंदै छन् । अरुणिमा लम्साल, विपना थापा, रेजिना उप्रेतीलगायत अभिनेत्री एक दशकपछि यस वर्ष पर्दामा देखिँदै छन् । कुनै समय यी अभिनेत्रीको नेपाली चलचित्रमा एकछत्र राज थियो । 

पछिल्लो समय एक दशकअगाडि ‘वरदान’ नामक चलचित्रमा देखिएकी अभिनेत्री उप्रेतीले हालै ‘मोदिबेनी’ नामक चलचित्रमा अभिनय गरेकी छिन् । यसपटक उनले मुख्य भूमिकामा अभिनय गरेकी हुन् । विशेषतः डिजिटल प्रविधिमा चलचित्र बन्ने क्रम बढ्नाका साथै कथ्य शैलीमा परिवर्तन आएपछि उनी चलचित्रबाट टाढा रहेकी थिइन् । 

अभिनेत्री उप्रेतीजस्तै एक दशकपछि पर्दामा देखिँदै छिन्, अभिनेत्री लम्साल । पछिल्लो समय अमेरिकामा बसोवास गर्दै आएकी अभिनेत्री लम्साल ‘घरः बट इन अमेरिका’ नामक वेब शृंखलामार्फत अभिनयमा ‘कमब्याक’ गर्दै छिन् । उनले छायांकन गर्न तयार गरिएको ‘सेट’ मा फर्किंदा महसुस भएको अनुभवलाई शब्दमा व्यक्त गर्न नसकिने बताइन् । 

‘अभिनयमा फर्किंदा नर्भस र उत्साहित छु । पहिलोपटक काम गरेजस्तो लागिरहेको छ । अहिलेको प्रस्तुतीकरण र कथ्य शैली फेरिएको कारण म त्यहीअनुरूप काम गरिरहेकी छु,’ अभिनेत्री लम्सालले भनिन्, ‘मैले अभिनय छाडेकी होइन, तर अमेरिकामा बसोवास गर्ने भएकाले निरन्तरता दिन नसकेकी हुँ ।’ अब भने अभिनयलाई निरन्तरता दिने उनले बताइन् । यो शृंखला यसै वर्ष डिजिटल प्लेटफर्ममार्फत प्रदर्शन गरिनेछ । 

यसै वर्ष प्रदर्शन हुने चलचित्र ‘ह्रस्व दीर्घ’मार्फत अभिनेत्री थापा झन्डै १४ वर्षपछि अभिनयमा फर्किएकी छिन् । ‘पारिवारिक कारणले गर्दा लामो समय यस क्षेत्रबाट टाढा भएँ । छोरा हुर्किएपछि काममा फर्किएकी हुँ । यसपटक काम गर्दा पहिलो चलचित्र झैँ अनुभव गरेँ । छायांकनको अनुभवलाई शब्दमा व्यक्त गर्न सक्दिनँ,’ अभिनेत्री थापाले भनिन् । 

अभिनेत्री निरुता सिंहले पनि चलचित्र ‘दाल भात तरकारी’ मार्फत अभिनयमा पुनरागमन गरेकी थिइन् । यद्यपि उहाँ पनि अभिनेत्री थापाझैँ भारतमा बसोबास गर्ने भएकाले त्यसपछि अभिनयलाई निरन्तरता दिन सकेकी छैनन् । 



यी अभिनेत्रीहरू अभिनयमा ‘कमब्याक’ त गर्नुभयो तर निरन्तरता दिनुहुन्छ वा हुँदैन ? भन्ने प्रश्नको जवाफ उहाँहरूसँग पनि छैन । यसैगरी कुनैबेला धेरै नेपाली दर्शकले रुचाएझैँ फेरि त्यही अवस्था रहन्छ वा रहन्न भन्ने प्रश्न पनि अनुत्तरित नै छ । 



  • प्रकाशित मिति : असार २४, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया