logo-img

एसिया कपको तयारीमा नेपाल, आज श्रीलंकन क्लबसँग खेल्दै
फाइल तस्बिर

नवौँ संस्करणको महिला एसिया कप टी–२० प्रतियोगिताअघि नेपाली टिमले पहिलो अभ्यास खेल आज खेल्दैछ । नेपाल र श्रीलंका डेप्लमेन्ट स्क्वाडबीचको पहिलो टी–२० खेल बिहान १०ः१५ देखि सुरु हुनेछ ।  

नेपाली टिम एसिया कप खेल्नुअघि श्रीलंकन क्लबसँग तीन अभ्यास म्याच खेल्न लागेको हो । यी दुई टिमबीचको दोस्रो खेल १० जुलाई र अन्तिम म्याच १६ जुलाईमा हुनेछ । एसिया कपमा नेपाल समूह ‘ए’ मा छ । नेपालले समूह चरणको पहिलो खेलमा १९ जुलाईमा यूएईको सामना गर्नेछ ।  

यस्तै, एसिया कपमा नेपालले दोस्रो खेल २१ जुलाईमा पाकिस्तानसँग खेल्नेछ । पाकिस्तानको सिनियर महिला टिमसँग नेपालको यो पहिलो भेट हुनेछ । यस्तै, नेपालले एसिया कपमा ग्रुप स्टेजको अन्तिम खेलमा उपाधि दाबेदार भारतसँग खेल्ने तालिका छ । नेपाल र भारतबीचको खेल २३ जुलाईमा हुनेछ । नेपालले भारतसँग पनि पहिलोपटक खेल्नेछ ।  

गत फेब्रुअरीमा भएको वुमन्स प्रिमियर कपको सेमिफाइनलमा मलेसियासँग पराजित भए पनि एसिसीले टिमको संख्या बढाएपछि नेपालले एसिया कप खेल्ने अवसर पाएको हो । महिला एसिया कपमा नेपाल तेस्रोपटक प्रतिस्पर्धा गर्न लागेको हो । नेपालले यसअघि सन् २०१२ र २०१६ को टी–२० एसिया कप खेलेको थियो । 

दुई संस्करणको एसिया कप खेलेको नेपालले अहिलेसम्म जित भने दर्ता गर्न सकेको छैन । यसपटक भने नेपाली टिम उक्त प्रदर्शनमा सुधार गर्ने योजनामा छ । यसपालि नेपालले इन्दु वर्माको कप्तानीमा एसिया कप खेल्नेछ । 

टिममा इन्दुसहित रुबिना क्षेत्री, सीता राना मगर, काजोल श्रेष्ठ, विन्दु रावल, रोमा थापाजस्ता अनुभवी खेलाडी छन् । यस्तै, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, पूजा महतो, डली भट्ट, कृतिका मरासिनी, सबनम राई र राजमति ऐरीले पनि टिममा मौका पाएका छन् ।  





  • प्रकाशित मिति : असार २५, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया