logo-img

युरो कप सेमिफाइनल : स्पेनको अपराजित यात्रा फ्रान्सले रोक्न सक्ला ?
‘हेड टु हेड’ मा फ्रान्समाथि स्पेन हाबी

मिनी विश्वकपका नामले परिचित युरोपेली च्याम्पियनसिप अर्थात् युरो कपको जारी संस्करणको पहिलो सेमिफाइनलमा उपाधि दाबेदार स्पेन र फ्रान्स भिड्दै छन् । यी दुई टिमबीचको सेमिफाइनल भिडन्त मंगलबार राति १२ः४५ देखि जर्मनीको एलियान्ज एरेनाको मैदानमा सुरु हुनेछ । 

युरो कप २०२४ को क्वाटरफाइनलमा स्पेनले आयोजक जर्मनी तथा फ्रान्सले पोर्चुगललाई हराएपछि यी दुई टिमले सेमिफाइनल भेट पक्का गरेका हुन् । जारी प्रतियोगितामा स्पेन र फ्रान्स अपराजित छन् । यसपटक फ्रान्सभन्दा स्पेनले दमदार प्रदर्शन गरेको छ । 

उसले पाँच खेल जित्दै सेमिफाइनलको यात्रा गर्दा ११ गोल गरेको छ, स्पेनले यसक्रममा दुई गोल मात्र बेहोरेको छ । फ्रान्सले भने सेमिफाइनल पुग्दासम्म सोचेअनुरूप प्रदर्शन गर्न सकेको छैन । भाग्यले साथ दिँदा पनि फ्रान्सले अन्तिम चारमा खेलिरहेको हो । उसले अहिलेसम्म दुई गोल आत्मघातीरूपमा प्राप्त गर्दा एक गोल केलियन एमबाप्पेले पेनाल्टीमार्फत गरे ।

यस्तै, फ्रान्सले क्वाटरफाइनलमा पोर्चुगलविरुद्ध ट्राइबेकरमार्फत जित निकाल्यो । गोलको संख्या बढाउन नसके पनि फ्रान्सले आफ्नो पोस्टमा विपक्षीलाई सहजै गोल गर्न दिएको छैन ।

ऊ सर्वाधिक कम गोलको सामना गरेर सेमिफाइनल खेल्न हो । जारी प्रतियोगितामा फ्रान्सले एक मात्र गोल बेहोरेको छ । उक्त गोल पोल्याण्डका रोबर्ट लेवानडोस्कीले पेनाल्टीमार्फत गरेका थिए । 



यता स्पेन शतप्रतिशत जितका साथ सेमिफाइनल खेल्दैछ । हालसम्म स्पेनले तीनपटक युरो कपको उपाधि जितेको छ । ऊ सन् १९६४, २००८ र २०१२ को युरो च्याम्पियन हो । यस्तै, फ्रान्सले सन् सन् १९८४ र सन् २००० मा युरो कपको उपाधि जितेको थियो । ऊ छैटौँपटक सेमिफाइनल खेल्न लागेको हो, जसमध्ये फ्रान्सले तीनपटक फाइनलको यात्रा गरेको छ । 



त्यस्तै, छैटौँपटक नै युरो कप सेमिफाइनलमा भिड्न लागेको स्पेनले चारपटक फाइनलमा स्थान बनाएको छ । हालसम्म स्पेन र फ्रान्सले ३६ पटक एकअर्काको सामना गरेका छन्, जसमध्ये स्पेनले १६ र फ्रान्सले १३ खेलमा जित निकालेको इतिहास छ ।

यस्तै, यी दुई टिमबीचको सात खेल भने ड्र भएको विगत छ । पछिल्लो आठ खेलको कुरा गर्दा फ्रान्सले पाँच म्याचमा स्पेनलाई स्तब्ध पारेको छ । 

स्पेन र फ्रान्सबीचको विजेता टिमले उपाधि भिडन्तमा दोस्रो सेमिफाइनल जित्ने टोलीको सामना गर्नेछ । युरो कपको दोस्रो सेमिफाइनलमा इंग्ल्याण्ड र नेदरल्याण्ड्स खेल्ने तालिका छ । यी दुई टिमबीचको खेल ११ जुलाईको राति हुनेछ । 

  • प्रकाशित मिति : असार २५, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया