logo-img

संसदीय समितिको निर्देशन- केशर पुस्तकालय छिटो सञ्चालन गर्नू

राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले केशर पुस्तकालय छिटो सञ्चालन गर्न निर्देशन दिएको छ । समितिले आज निर्माणाधीन  पुस्तकालय भवनको निरीक्षण गरी यथासक्दो छिटो निर्माणकार्य पूरा गरी पुस्तकालय सञ्चालनका लागि पहल गर्न निर्देशन दिएको हो । 

समितिका सभापति मायाप्रसाद शर्मासहितको टोलीले पुस्तकालयलाई सुरक्षित र व्यवस्थित गर्न पुस्तकालय प्रमुख सुरेशकुमार यादवलाई निर्देशन दिनुभयो । समितिले दोस्रोपटक पुस्तकालय भवनको निरीक्षण गरेको हो । 

त्यस अवसरमा समितिलाई हालसम्म ८० प्रतिशत प्रगति भएको जानकारी गराइएको थियो । २०७२ को गोरखा भूकम्पमा क्षतिग्रस्त केशर पुस्तकालयको भवन वि.सं २०७६ बाट प्रवलीकरण (रेट्रोफिटिङ) सुरु गरिएको थियो । दुई वर्षभित्र कार्यसम्पन्न गर्ने भनिए पनि छ वर्षसम्म पनि पूरा नभएकामा सांसदहरूले आपत्ति जनाएका थिए । 

समितिका सभापति शर्माले निर्माणमा भएको ढिलाइ र बाँकी काम कहिले सकिन्छ भनेर प्रश्न गरेकामा पुस्तकालय प्रमुख यादवले भवनको सेलिङ राख्न केही ढिलाइ भएको जवाफ दिए । त्यसका लागि बोलपत्रको समय ९ महिना थप गरिएको उनले जानकारी दिए । 

‘चैतसम्ममा पुस्तकालय पूरै तयार हुन्छ भन्नेमा आशावादी छौँ’, उनले भने, ‘लगभग ८० प्रतिशत कार्यसम्पन्न भएको छ ।’ यादवका अनुसार पुस्तकालयमा पुरातात्त्विक र नयाँ गरी ६५ हजार पुस्तक संरक्षित छन् । यहाँ १ हजार १ सय ५० वर्ष पुरानो हस्तलिखित ग्रन्थहरू छन् । यिनको ‘डिजिटलाईज’ गर्ने कार्य भइरहेको उनले जानकारी दिए । 

पुस्तकालयका विषयमा सभापति शर्मा, सांसद गोपाल भट्टराई, गोमादेवी तिमिल्सिना, गोपालकुमार बस्नेत, पदमबहादुर परियार, मदनकुमारी साह (गरिमा), युवराज शर्मा, रुक्मिणी कोइराला, रेणु चन्द, श्रीकृष्णप्रसाद अधिकारी र सुमित्रा विसी गरी १२ जनाले विभिन्न जिज्ञासा राखेका थिए । 





  • प्रकाशित मिति : असार २५, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया