logo-img

बर्खास्तीविरुद्ध मुकुलले ३५ दिनभित्र पुनरावेदन गर्न पाउने, फेरि फर्केलान् महामन्त्रीमा ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सम्पूर्ण जिम्मेवारीबाट हटाइएका मुकुल ढकालले ३५ दिनभित्र कारबाहीविरुद्ध पुनरावेदन दिन पाउने भएका छन् । रास्वपा केन्द्रीय समिति बैठकले उनलाई पुनरावेदन गर्न सक्ने भन्दै ३५ दिनको समय  दिएको छ ।   

३५ दिनभित्र रास्वपाले नयाँ महामन्त्री चयन गर्ने छैन । हाल सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले नै कार्यवाहक महामन्त्रीको जिम्मेवारी सम्हालिरहेका छन् । कार्यवाहक प्रवक्ताको जिम्मेवारी सांसदसमेत रहेका सहमहामन्त्री मनीष झाले पाएका छन् । 

वनस्थलीस्थित पार्टी मुख्यालयमा केन्द्रीय समिति बैठकपछि प्रवक्ता झाले केन्द्रीय समितिले गरेको कारबाही चित्त नबुझेको भए पार्टी विधानको धारा ५६ बमोजिम ढकाललाई ३५ दिनभित्र पार्टीको पुनरावेदन समितिमा पुनरावेदनका लागि निवेदन दिन सक्ने गरी निर्णय भएको जानकारी दिए ।

यसअघि मुकुलले आफू पार्टीबाट नभइ सभापति रवि लामिछाने क्लबबाट 
मात्रै निष्कासित भएको प्रतिक्रिया दिएका थिए । ढकालले आफू कारबाहीमा परे पनि राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने संकल्पमा अडिग रहेको पनि उल्लेख गरेका छन् ।

‘रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन, रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने संकल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन,’ ढकालले फेसबुकमा लेखेका छन् । 

आज बिहान बसेको केन्द्रीय समिति बैठकले उनलाई सबै पदबाट हटाउने निर्णय गरेको थियो । रास्वपाले ढकालको पार्टी सदस्यता भने कायम राख्ने निर्णय गरेको छ । 



अनुशासन आयोगले साधारण सदस्य पनि नरहने गरी निष्काशन गर्न सुझाव दिएकोमा केन्द्रीय समितिले त्यसलाई संशोधन गर्दै कार्यान्वयन गरेको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए । 

यदि मनीषले ३५ दिनभित्र पुनरावेदन दिए भने उनकाे निवेदनमा केन्द्रीय समितिले पुनः छलफल गर्नुपर्ने हुन्छ । यसबीचमा उनले पार्टी सभापति लामिछानेसँग सम्बन्ध सुधार गरे भने कारबाही फिर्ता भएर पुरानै पदमा बहाल हुन पनि सक्छन् ।



तर, परिस्थिति यति जटिल बनिसकेकाे छ कि साे मुद्दा सिंगाे पार्टीकाे मुद्दा नभएर सभापति लामिछाने र ढकालबीचकाे व्यक्तिगत झगडाजस्ताे भइसकेकाे छ । गृहमन्त्रीसमेत रहेका लामिछाने बाहिर त्यति एक्सपाेज नभए पनि उनी पुनः मुकुललाइ महामन्त्रीका रूपमा फर्काउन तयार नरहेकाे बुझिन्छ ।
 

  • प्रकाशित मिति : असार २५, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया