logo-img

पूर्वाधार र दक्ष जनशक्ति भएर पनि हामी गुणस्तरीय स्वास्थ्यसेवामा चुकिरहेका छौँ : प्रा.डा. अग्रवाल

प्रा.डा. जगदीशप्रसाद अग्रवाल न्युरोलोजी र नेपालको स्वास्थ्य पेसा शिक्षाको क्षेत्रमा परिचित नाम हो । प्रा.डा. अग्रवाल चिकित्सा संस्थान (आइओएम)को डिनका रूपमा सेवा गरिसकेका छन् । प्रा.डा. अग्रवालले यो चुनौतीपूर्ण पद सम्हाल्नुअघि आन्तरिक चिकित्सा र स्वास्थ्य पेसा शिक्षाका लागि राष्ट्रिय केन्द्रजस्ता विभिन्न विभागहरूमा प्रमुख पदमा काम गरेका थिए । प्रोफेसर अग्रवाल सञ्चार कौशल र चिकित्सा नैतिकतामा विशेष चासोसहित स्वास्थ्य पेसा शिक्षामा लामो समयदेखि रुचि छ । र, चिकित्सामा पाठ्यक्रम सुधारका एक बलियो समर्थक पनि हुन् । उनै प्रा.डा. अग्रवालसँग नेपालको समग्र स्वास्थ्य अवस्थाबारे फरकधारका लागि रेश्मा सिंहले गरेको कुराकानीको सम्पादित अंश :
 
तपाईंले चिकित्सा क्षेत्रमा प्रवेश गर्दै गर्दा सुरुवाती दिनमा नेपालको स्वास्थ्य क्षेत्रको अवस्था कस्तो थियो ? 

चिकित्सा शिक्षा मैले पढेर नेपालमा आइसकेपछि त्रिवि शिक्षण अस्पतालमा काम गर्न सुरु गरेको हुँ । त्यतिबेलै पनि सो अस्पतालमा स्वास्थ्य तथा सेवालाई प्राथमिकता राखेर उपचार दिइन्थ्यो । 



हामीकहाँ आउने बिरामीलाई सेवा, सुविधा जति सम्भव थियो त्यति दिइन्थ्यो । चिकित्सा क्षेत्रमा मैले पाइला टेक्दाको बेला र अहिलेको अवस्थामा धेरै अन्तर आइसकेको छ । न्यायिक स्तर (टर्चियरी लेभल)को अस्पताल भए पनि हामीले सबै विधाका उपचारहरू दिन्थ्यौँ । तर, पनि केही विशेष सेवा दिने अवस्था भने त्योबेला थिएन । जस्तै, मिर्गौला प्रत्यारोपण, कलेजो प्रत्यारोपण, क्यान्सर रोगको उपचार त्योबेला सम्भव थिएन । त्यसैले हामी टर्चियरी केयरको प्रारम्भिक उपचार हामी दिन्थ्यौँ । यही क्षेत्रमा करिब ३०–३५ वर्ष समय व्यतीत गरिसकेपछिको अनुभवका आधारमा भन्नुपर्दा यहाँको उपचार पद्धति, उपचारको गुणात्मक र स्तरीयतामा धेरै परिवर्तन आइसकेको छ ।

चिकित्सा क्षेत्रमा निरन्तर रूपमा करिब ३० वर्ष बिताइसक्दा के–कस्तो परिवर्तन पाउनुभयो ? 

सन् १९९० सालतिर चिकित्सा शिक्षा पढाउने एक मात्र शिक्षण संस्था थियो । त्यसबेला धेरै कार्यक्रमहरू पनि थिएनन् । बिस्तारै हामीकहाँ अरू प्रोग्राम थपिँदै गए । त्यसपछि समय बित्दै गएपछि चिकित्सा शिक्षा संस्थानभित्र धेरै सम्बन्धनप्राप्त संस्थाहरू आए । त्यस्तै, काठमाडौं युनिर्भसिटीअन्तर्गत धेरै एफिलेटेड कलेजहरू आए । तिनीहरूको आगमनले गर्दा देशभर विभिन्न ठाउँमा मेडिकल कलेज खुले । मेडिकल कलेज खुल्नुको अर्थ, त्यो ठाउँमा सात सयदेखि हजार बेड क्षमता भएको अस्पताल पनि खुल्नु हो । 

जब-जब यी कलेजहरू आए, चिकित्सा शिक्षाको विस्तार भयो । त्यसपछि जनताले हरेक ठाउँमा स्वास्थ्य सेवा पाउन अलि सहज र सुलभ हुँदै गयो । शिक्षाको ठाउँमा पहिले पढ्नका लागि विदेश जानुपर्ने बाध्यता थियो, त्यो बाध्यताको अन्त्य भयो । यससँगै अब आएर स्नातक तहमात्र नभएर स्नातकोत्तर, पोस्ट स्नातकोत्तरसम्मको शिक्षा नेपालमै हासिल गर्ने अवस्था छ । सरसर्ती हेर्दा समयाक्रमसँगै स्वास्थ्यमा धेरै सुधार हुँदै गइरहेको छ । 



त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को डिन हुँदा के–कस्ता चुनौतीको सामना गर्नुपर्यो ?

चिकित्सा क्षेत्रमा भइरहँदा म आइओएमको डिन हुने मौका पनि पाएँ । मभन्दा पहिले आइओएम डिनहरूको नियुक्ति भागबन्डा तथा अन्य प्रक्रियाबाट हुने कुरा जगजाहेर नै छ । तर, मेरो नियुक्तिचाहिँ वरिष्ठताका आधारमा भएको थियो । त्यो नियुक्ति भइसकेपछि धेरै चुनौती सामना गर्नुपर्यो । 



चुनौती आउनु पनि स्वाभाविक थियो । दुईवटा चुनौतीमध्ये सबैभन्दा ठूलो चुनौती आइओएमको डिन भएको नाताले चिकित्सा शिक्षालाई सुधार गर्नु थियो । शिक्षामा पनि हामीकहाँ धेरै मेडिकल कलेजको गुणस्तरीय शिक्षा, नियमित र योग्यताका आधारमा विद्यार्थी भर्ना गर्ने प्रवृत्ति बसाउन हामीले धेरै मिहिनेत गर्यौँ । खासगरी यो काम मभन्दा पहिलाका डिनज्यूहरूबाट सुरु भएको थियो भने त्यसलाई निरन्तरता दिने काम मैले गरेँ ।

हाम्रो सबभन्दा ठूलो सफलता के भयो भने विद्यार्थी भर्ना योग्यताक्रमका आधारमा परीक्षा उत्तीर्ण गरेर पढ्न पाउने परम्परा बसायौँ । त्यसपछि ऐन र नियमले के भन्छ भने ‘कुनै मेडिकल शिक्षण संस्थाले अन्य कलेजलाई सम्बन्धन दिन्छ भने उसको आफ्नो मेडिकल कलेज’ हुनुपर्छ । त्रिवि शिक्षण अस्पतालबाट धेरैलाई सम्बन्धन दियौँ । त्रिवि शिक्षणसँग बिडिएस कार्यक्रम थिएन । तर, मेरो कार्यकालमा धेरै कोसिस गरेर अन्ततः जनशक्ति ल्याएर, पूर्वाधार तयार गरेर बिडिएसको कार्यक्रम पनि सुरु गर्यौं । यसमा त्रिभुवन विश्वविद्यालयको पनि सहयोग रह्यो । 

हामीले दन्तविभागमा दुई–चारवटा ‘पोस्ट ग्र्याजुयट’ कार्यक्रम पहिल्यैदेखि चलाइरहेका थियौँ । तर, बिडिएस कार्यक्रम नहुँदाखेरि अलि नियमसंगत देखिएन । त्यसैले बिडिएसको कार्यक्रम चलाउनु हाम्रो बाध्यता थियो । र, हामीले बिडिएसको कार्यक्रम चलायौ । यो एउटा हाम्रो सकारात्मक पक्ष पनि थियो । अर्को हाम्रो सबभन्दा ठूलो दायित्व थियो, चिकित्सा शिक्षाको गुणस्तर कस्तो छ, त्यसको निगरानी गर्ने । विद्यार्थी भर्नालाई योग्यताका आधारमा ल्याउनेजस्ता कार्यका लागि अदालत धाउँदा धेरै समय बर्बाद भइसकेको थियो । जसकारण शिक्षाको गुणस्तरमा धेरै ध्यान दिन सकिएन । तर, योग्यताक्रमका आधारमा विद्यार्थी भर्ना हुनु पनि गुणस्तरीय शिक्षाकै एक पाटो हो । जसकारण हामीले योग्य विद्यार्थीलाई भर्ना गर्न सक्यौँ । 

गुणस्तरका अरू पनि प्यारामिटर छन्, त्यसमा हामीले जति ध्यान दिनुपर्ने थियो, त्यो दिन सकेनौँ । त्यसपछि गुणस्तर र निगरानीका लागि हामीले निरन्तरता दिनुपर्छ र चिकित्सा शिक्षा आयोग आइसकेपछि उसले पनि त्यो गुणस्तरलाई सबल बनाउन र समयसापेक्ष सुधार गर्नका लागि प्रयत्न गर्नुपर्छ । 

सेवा तथा गुणस्तरका आधारमा नेपालको स्वास्थ्य क्षेत्रलाई कसरी मूल्यांकन गर्नुभएकाे छ ? 

नेपालको स्वास्थ्य क्षेत्रलाई सैद्धान्तिक र व्यावहारिक गरी दुई पक्षबाट हेनुपर्ने हुन्छ । सैद्धान्तिक हेर्ने हो भने हामीकहाँ सबैथोक छ । चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, विज्ञहरू, सरकारद्वारा निर्मित पूर्वाधारहरू पनि छन् । यस्तै, जिल्ला अस्पताल, क्षेत्रीय अस्पताल, रेफरल सेन्टर, देशभर २२ वटा मेडिकल कलेज छन् । हामीसँग सबै हुँदाहुँदै पनि देखिने र भोगिने कुरा फरक छन् । समान रूपमा सबैले सहज रूपमा सबैले स्वास्थ्य सेवा पाइरहेका छैनन् ।

हामीसँग पूर्वाधार हुँदाहुँदै पनि एउटा वर्ग स्वास्थ्य सेवाबाट वञ्चित छ । यसका विभिन्न कारण छन् । तर, मुख्य कारणचाहिँ व्यवस्थापनको कमजोरी देख्छु । यससँगै दूरदृष्टि नराखी छोटो समयका लागि बनाएका योजनाका कारण पनि समान स्वास्थ्य सेवाबाट वञ्चित हुने अवस्था आएको हो । नत्र हामीकहाँ निति नियम ठिक छन्, पूर्वाधार छ, बजेटको कमी छैन । स्वास्थ्यमा जति बजेट विनियोजन हुन्छ, त्यो पनि खर्च भएको देखिँदैन । ठाउँ–ठाउँमा पूर्वाधार छन्, त्यहाँ प्राविधिक समस्या होला ।

आधारभूत स्वास्थ्य सेवा निःशुल्क छ । ९८ प्रकारका औषधि पनि निःशुल्क पाइन्छ भनिएको भए पनि कहिलेकाहीँ सिटामोल पनि पाइँदैन भनेको सुनिन्छ । यी सबै कमजोर पक्षका पछाडि व्यवस्थापकीय पक्ष कमजोर हुनु हो । सीमित वर्गले आजको मितिमा पनि जति स्वास्थ्य सेवा पाउनुपर्ने हो, त्योबाट वञ्चित भएको अवस्था छ । 

स्वास्थ्य क्षेत्रलाई बजेटमा प्राथमिकता दिइएन भनेर बारम्बार गुनासो आउँछ, तपाईंको विचारमा स्वास्थ्यमा बजेट कम भएकै हो त ?

स्वास्थ्य र शिक्षामा बजेट ठूलै आवश्यकता पर्छ । तर, हामीकहाँ जति रकम विनियोजन हुन्छ, त्यो पनि खर्च गरिएको हुँदैन । छुट्याइएको बजेटमा सेवा दिन सकिएन भने एउटा कुरा हुन्थ्यो । तर, यहाँ जति बजेट छुट्याइएको हुन्छ, त्यो बजेट वार्षिक समीक्षा गर्दा खर्च गरेको पाइँदैन । 

त्यसैले बजेट नै सबैथोक हो भन्ने मलाई लाग्दैन । हामीले हामीसँग भएको बजेटमा पनि धेरै सेवा दिन सक्छौँ । जुन हाम्रो जनताले पाइरहेका छैनन् । यसको पछाडिको कारण नै व्यवस्थापकीय पक्ष र काम गर्ने इच्छाशक्तिको कमी हुनु हो । 

स्वास्थ्यमा सबै नागरिकको समान पहुँच हुन नसक्नुका कारण के हुन् ?

भिजनको कमी, डेडिकेसन जुन हुनुपर्छ, त्यो छैन । स्वास्थ्य सेवा सुधारका लागि राजनीति, शिक्षण संस्थाको लेभलबाट जुन इच्छाशक्ति हुनुपर्ने हो, त्यो पाइँदैन । होइन भने हामीकहाँ सबैलाई समान स्वास्थ्य सेवा नपुग्नु कुनै कारण नै देख्दिनँ । 

पिछडिएका वर्गलाई विशेष रूपले अगाडि ल्याउनुपर्छ । यहीँ हामी चुकिरहेका छौँ । अल्पविकसित ठाउँको मान्छेलाई थाहा नै छैन, ‘आफूले स्वास्थ्य सेवाअन्तर्गत कुन सेवा निःशुल्क पाइरहेको छु’ भनेर । यस्तो समूहलाई घरदैलोमा गएर स्वास्थ्य सेवा दिनुपर्छ । नभए उसलाई स्वास्थ्य संस्थामा ल्याएर पनि उपचार गर्नुपर्छ । जो कमजोर छन्, पिछडिएका छन्, उनीकहाँ स्वास्थ्य सेवा घरसम्मै पुगेर दिने व्यवस्था हुनुपर्छ । सीमान्तकृत वर्गलाई जुन हाम्रो नीति, नियममा लेखेअनुसार स्वास्थ्य सेवा हुनुपर्ने हो, त्यो भएकोजस्तो लागेन ।

नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा दिन चिकित्सक, नर्स, स्वास्थ्यकर्मीको भूमिका कस्तो रहन्छ ?  

हाम्रो धेरै ठूलो भूमिका हुन्छ । सरकारको नीति, नियम बनाउने, स्रोत, साधन जुटाइने काम हो । व्यवहारमा लागू गर्ने काम भनेको चिकित्सकदेखि सबै स्वास्थ्यकर्मीको हो । यसमा हामी सबैको ठूलो भूमिका हुन्छ । र, यसमा पनि हाम्रो दायित्व सबैले इमानदारीपूर्वक बुझ्नुपर्छ । यो पेसा अरू पेसाजस्तो होइन । यो पेसामा सबैथोक पैसा नै होइन । त्यसैले हामी जब यो पेसामा आउँछौँ, जोसुकै स्वास्थ्यकर्मी होस्, यो पेसाको मानमर्यादा राख्नका लागि डेडिकेसनका साथ सेवा दिनुपर्छ ।

हामीसँग दक्ष जनशक्ति हुँदाहुँदै पनि सेवा प्रभावकारी नहुनुका कारण के हुन् ? चिकित्सक र बिरामीबीच पनि दूरी देखिन्छ, यस्तो किन भइरहेको छ ? 

यसका धेरै कारणहरू छन् । एउटा कारण, हामीसँग दक्ष जनशक्ति छ, पूर्वाधारहरू छन्, तर पनि गुणस्तरीय स्वास्थ्य सेवामा चुकिरहेका छौँ, कारण व्यवस्थापकीय कमजोरी । हामीले त्यो दक्ष जनशक्तिबाट काम लिन सकेनौँ । हामीकहाँ जसले जे चाह्यो, त्यो गर्नसक्छ भन्ने भाष्य निमार्ण हुनु पनि एक कारण हो । 

उदाहरणका लागि एक स्वास्थ्य संस्थामा १० जना चिकित्सकको दरबन्दी हुन्छ, तर संस्थामा पुग्दा एकजना चिकित्सक भेटिन्छन् । अरू नौजना कहाँ छन् कसैलाई थाहा हुँदैन । यहाँ नियमन र अनुगमन गर्ने पक्ष कमजोर देखियो । दोस्रो कुरा, चिकित्सक र बिरामीबीच सुमधुर सम्बन्ध कायम हुन नसक्नुको कारण सञ्चार सीपको कमी देखिन्छ । हामी जुन जनशक्ति उत्पादन गरिरहेका छौँ, त्यो गुणस्तरीय छ छैन भन्ने विषयमा अबचाहिँ हामीले छलफल गर्ने बेला आएको छ । 

सबै ठाउँमा पूर्वाधार उपलब्ध नभएका कारण पनि चिकित्सक र बिरामीबीच दूरी बढेको पाइन्छ । सीप सञ्चार, पूर्वाधार, अराजकता, समयमै रोग पहिचान गर्न नसक्दा पनि गुणस्तरीय स्वास्थ्य सेवामा कमी र चिकित्सक बिरामीबीच दूरी आएको हुनसक्छ ।

नागरिकले उपचारका लागि केन्द्रमा धाउनुपर्ने बाध्यता किन छ ?  

उपचारका लागि बिरामी रहरले काठमाडौं आउँदैनन् । उनीहरू बाध्यतावश केन्द्रमा आइरहेका हुन्छन् । जसको कारण हो, हामीले हाम्रो प्रारम्भिक उपचार, प्राथमिक उपचार क्षेत्रमा नै विश्वासिलो तरिकाले दिन सकेनौँ । त्यो विश्वास दिलाउन नसक्नुको कारण हामीकहाँ सेवा, सुविधाको कमी हुनु हो ।

भनसुनका आधार चिकित्सक सुगममै बस्ने चलनले गर्दा पनि बिरामी केन्द्रमै थुप्रिरहेका छन् । यसलाई रोक्न सकिन्छ । सरकार संवेदनशील हुुन एकदमै जरुरी छ । मन्त्री परिवर्तन भएसँगै अन्य नीति, नियम फेर्ने काम पनि गर्न भएन । नियमन निकाय पनि चनाखो भएर काम गर्न जरुरी छ । हामीकहाँ अन्य समस्या छैन, मात्र व्यवस्थापकीय पक्ष बलियो भएर काम गर्यो भने स्वास्थ्य क्षेत्रमा रहेका धेरै बेथिति आफैँ कम भएर जान्छन् । 

व्यवस्थापकीय पक्ष कमजोर भयो भनिरहँदा यसलाई बलियो बनाउने काम कसको हो ?

व्यवस्थापकीय पक्षलाई बलियो बनाउन सबैभन्दा पहिलो भूमिका सरकारकै हुन्छ । त्यसपछि स्वास्थ्य मन्त्रालय, मन्त्रालयमातहतका विभाग, विभागअन्तर्गत रहेका प्रशासन, तहगत चिकित्सक, स्वास्थ्यकर्मी सबैको दायित्व हुन्छ । जनताले पनि आफूले उपभोग गर्न पाउने स्वास्थ्य सेवा बारेमा जानकार हुनुपर्यो । र, सोहीअनुरूप माग पनि गर्न सक्नुपर्दछ । 

तपाईंको विचारमा आगामी दिनमा स्वास्थ्य क्षेत्रमा के–के कुरामा सुधार गर्दै जाँदा यहाँको स्वास्थ्य सेवा अझ गुणस्तरीय र सहज हुन्छ ?

हाम्रो पूर्वाधारको सिस्टम एकदम राम्रो छ । स्वास्थ्य क्षेत्रमा निजी स्वास्थ्य संस्थाको पनि ठूलो हात छ । निजी क्षेत्रको ठूलो हात छ भनिरहँदा सबै जनताको पहुँचमा छैन । त्यसैले जनताको आसा सरकारी अस्पतालको सेवामा हुन्छ । तर, सरकारी स्वास्थ्य सेवाप्रति जनताको प्रश्नचिह्न पनि छन् । त्यो प्रश्नचिह्न हटाउनका लागि हाम्रो सेवाका लागि चाहिने आवश्यक पूर्वाधार, चाहिने सेवा, क्षमतावान् स्वास्थ्यकर्मीहरूको दरबन्दी होस् वा अन्य प्रक्रियाबाट हरेक तहमा उपलब्ध हुनुपर्छ । जसले गर्दा स्वास्थ्य सेवा अझ गुणस्तर र सहज हुनसक्छ । 

  • प्रकाशित मिति : असार २५, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया