logo-img

भारतमा बस र दूध ट्याङ्कर ठोक्किँदा १८ जनाको मृत्यु

उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा बुधबार यात्रु बहाक डबल डेकर बस दूध ट्याङ्करमा ठोक्किएर दुर्घटना पछि कम्तीमा १८ जनाको मृत्यु हुनुका साथै  अन्य १९ जना घाइते भएको प्रहरीले जनाएको छ ।

उत्तर प्रदेशको राजधानी लखनऊबाट करिब ६८ किलोमिटर पश्चिममा उन्नाओ जिल्लाको गाढा गाउँ नजिकैको लखनऊ–आगरा एक्सप्रेस वेमा दुर्घटना भएको हो । प्रहरीका अनुसार बिहारको सीतामढीबाट दिल्ली जाँदै गरेको डबल डेकर बसले पछाडिबाट दूधको कन्टेनरमा ठोक्किएपछि दुर्घटना भएको हो ।  

बुधबार बिहान ५ बजे बिहारको मोतिहारीबाट आउँदै गरेको निजी यात्रु बस राष्ट्रिय राजमार्गमा दूध ट्याङ्करसँग ठोक्किएको हो ।  दुर्घटनामा १८ जनाको ज्यान गएको र १९ जना घाइते भएका उन्नाओ जिल्ला मजिस्ट्रेट गौराङ राठीले मिडियालाई बताएका छन् । प्रारम्भिक अनुसन्धानले बस अत्यधिक गतिमा रहेको औंल्याएको छ ।

घाइतेहरूको नजिकको स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र पछि जिल्ला अस्पतालमा रेफर गरिएको राठीले बताएका छन् । दुर्घटनालगत्तै स्थानीयले प्रहरीलाई सुचना गरे पछि घाइतेहरूलाई अस्पताल पुर्याउन उद्धार टोली र एम्बुलेन्सहरू घटनास्थलमा पुगेका थिए ।

घटनास्थलमा पुग्दासम्म केही स्थानीयले घाइतेलाई क्षतिग्रस्त बसबाट बाहिर निस्कन मद्दत गरिरहेको  एक प्रहरी अधिकारीले बताए । क्षतिग्रस्त बस र दुध ट्याङ्करलाई क्रेन प्रयोग गरेर सडकबाट निकालिएको छ ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको उचित उपचार सुनिश्चित गर्न अधिकारीलाई निर्देशन दिएका छन् । भारतमा हरेक वर्ष लगभग पाँच लाख सडक दुर्घटनामा एक लाख ५० हजार  मानिसहरूको मृत्यु हुने गरेको अधिकारीले बताएका छन् ।  





  • प्रकाशित मिति : असार २६, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया