logo-img

मुकुल ढकाल भन्छन्- रवि लामिछानेको पासपोर्ट छानबिन समिति पनि बनाउनुपर्छ

राष्ट्रिय स्वतन्त्र पार्टीका निष्कासित महामन्त्री मुकुल ढकालले आफूले चिनेको जस्तो रवि लामिछाने अब नरहेको बताएका छन् । पार्टीबाट निलम्बित भएपछि बुधबार पत्रकार सम्मेलन गर्दै उनले रवि लामिछाने एक्सन म्यान भएतापनि अब पहिलाको जस्तो नरहेको बताएका हुन् । 

उनले भने, ‘हामीले चिनेको रवि लामिछाने त्यस्तो होइन । तर, हामीले चिनेको रवि लामिछाने अब रहनुभएन ।’ 

उनले देश बाढीपहिरोको संकटमा भएका बेला गृहमन्त्री रवि लामिछानेले उचित संवेदनशीलता देखाउन नसकेको समेत बताए । लामिछाने पीडितको उद्धारमा खट्नको सट्टा महामन्त्रीलाई कारबाही गर्ने कि नगर्ने भनेर दिनभर बैठकमा व्यस्त रहेको उनले बताए । 

उनले भने,‘देशमा बाढी पहिरोको संकट छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री हुनुहुन्छ । उहाँ नागरिकलाई कसरी उद्धार गर्ने, कसरी राहत दिने भनेर खट्नुभएको छैन । उहाँ महामन्त्रीलाई कारबाही गर्ने कि नगर्ने भनेर दिनभर बैठक राखेर बसिरहनुभएको छ ।’ 

त्यस्तै उनले सहकारी ठगीको विषयमा पनि अब पार्टीभित्र पनि उच्चस्तरीय छानबिन समिति बनाउन आवश्यक परेको बताएका छन् । उनले पार्टीको जीवनसँग जोडिएकाले अब रविको पासपोर्ट लगायतका विषय पनि टुंगोमा पुग्नुपर्ने बताए ।

उनले भने, ‘पहिले उहाँले विधि प्रक्रिया नबु्झ्दा दुईटा पासपोर्टको समस्यमा पर्नुभयो भनेर मैले साथ दिएँ तर अहिले पार्टीकै भविष्यको चिन्ता भएकाले अब पासपोर्टको विषयमा पनि स्वतन्त्र छानबिन हुनुपर्छ ।’ पछिल्लो पटक सर्वोच्च अदालतले नै लामिछानेमाथि अनुसन्धान गर्नुपर्छ भनिसकेको बताउँदै रास्वपाभित्र पनि छानबिन हुनुपर्ने बताए ।  





  • प्रकाशित मिति : असार २६, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया