logo-img

मेलम्ची बन्द छ, बागमतीमा लेदो छ, काठमाडौंमा पानी पुर्याउन गाह्रो छ : सचिव आचार्य

खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले सरकारले खानेपानीलाई पर्याप्त बजेट नदिएको गुनासो गरेका छन् । राष्ट्रिय सभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उनले दिगो लक्ष्य हासिल गर्ने भनेर मात्र नहुने भन्दै त्यो हिसाबको बजेट पनि आवश्यक रहेको बताए ।
  
उनले भने, ‘सरकारले खानेपानीलाई प्रर्याप्त बजेट दिँदैन । दिगो लक्ष्य प्राप्त गर्ने खालको बजेट हामीलाई प्राप्त हुँदैन । त्यसले गर्दा खानेपानीको सवालमा सरकार र राज्यको पनि ध्यान कम देखिएको छ ।’ यसको साथै, उनले खानेपानीजस्तो आधारभूत कुरालाई नियमावलीको पहिलो नम्बरमा राख्नुपर्ने भन्दै नियमावली संशोधनको काम छिटोभन्दा छिटो गर्न आग्रह पनि गरेका छन् । 

उनले भने, ‘खानेपानीसम्बन्धी नियमावली छिटोभन्दा छिटो संशोधनको प्रक्रियामा अगाडि बढ्नुपर्छ । खानेपानीजस्तो आधारभूत कुरालाई उहाँहरुको नियमावलीको प्राथमिकतामा पनि ४ नम्बरमा रहेछ, त्यसलाई पनि एक नम्बरमा राख्नुपर्छ । सिँचाइभन्दा खानेपानी जहिले पनि अगाडि हुनुपर्छ । उहाँहरुले नियमावली संशोधन गर्ने प्रक्रिया अगाडि बढाउँछु भन्नुभएको छ । जति छिटो यो काम हुन्छ त्यति हामीलाई सहज हुन्छ । यो पाइपलाइन विस्तारको काम उहाँहरुको स्वीकृतिविना गर्न सकेका छैनौँ । त्यही भएर खानेपानीको क्षमता बढ्न सकेको छैन ।’ 

उनले अहिले मेलम्चीको पानी बन्द भएको र बागमतीको पानीमा पनि धेरै फोहोर र लेदो भएको कारणले प्रशोधन गर्न नसकेको भन्दै करिब ७ करोड लिटर मात्र पानी काठमाडौंमा आपूर्ति भइरहेको पनि जानकारी दिएका छन् । 

उनले भने, ‘काठमाडौंमा लोकल स्रोतहरुबाट झण्डै १०, १२ करोड लिटर पानी उत्पादन गरिरहेका थियौँ । यो साल वर्षा लगातार भएको हुनाले अहिले ६, ७ करोड लिटर पानी मात्र काठमाडौंमा आपूर्ति गरिरहेका छौँ । पानीको संकट बढ्दो छ । अहिले मेलम्ची बन्द छ, बागमतीको पानीमा पनि धेरै फोहोर र लेदो भएको कारणले प्रशोधन गर्न नसकेको अवस्था छ यो सबै कारणले गर्दा ६, ७ करोड लिटर मात्र पानी काठमाडौंमा आपूर्ति भइरहेको छ ।’ 

बैठकमा दिगो विकास लक्ष्य नं ६ अन्तर्गतको दिगो स्वच्छ खानेपानी व्यवस्थापन गर्ने सम्बन्धमा काठमाडौं उपत्यकाभित्र खानेपानीको सहज आपूर्तिमा देखिएका समस्याबारे छलफल भएको हो । 





  • प्रकाशित मिति : असार २६, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया