logo-img

डा. सन्दुक रुइतलाई २,२२,२२२ राशिको श्रीपति समाजसेवा पुरस्कार

स्वास्थ्य तथा मानवीय सेवाका क्षेत्रमा ख्यातिप्राप्त नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई यस वर्षको ‘श्रीपति समाजसेवा राष्ट्रिय पुरस्कार’ प्रदान गरिने भएको छ । 
    
पोखरा महानगरपालिका–९ महेन्द्रपुलस्थित श्रीपति कोइराला गुठीले स्थापना गरेको सो पुरस्कार दुई सय १७औँ श्रीपति जयन्तीका अवसरमा रुइतलाई प्रदान गर्ने घोषणा गरिएको हो । विसं २०७७ देखि सुरु गरिएको यस पुरस्कारको राशि दुई लाख २२ हजार दुई सय २२, श्रीपति समाजसेवा पदक र ताम्रपत्र रहेको छ । 

देश र जनताका लागि विपद्मा उद्धार तथा राहत सहयोग, शिक्षा, संस्कृति, स्वास्थ्य सेवा, विज्ञान प्रविधि, सामाजिक जागरण, मानवीय सेवा र सामुदायिक विकासको क्षेत्रमा क्रियाशील व्यक्तित्व तथा संस्थालाई पुरस्कार प्रदान गरिँदै आएको श्रीपति कोइराला गुठीका सचिव नवराज कोइरालाले जानकारी दिए । 

‘मानवीय सेवाका क्षेत्रमा र विशेषगरी आँखा उपचारमा डा. रुइतले गर्नुभएको योगदानको कदर गर्दै यस वर्षको पुरस्कार उहाँलाई प्रदान गर्ने निर्णय गुठीले गरेको हो,’ कोइरालाले भने । गुठीले आगामी साधारणसभामा डा. सन्दुकलाई पुरस्कार प्रदान गरिने जनाएको छ ।

पुरस्कृत व्यक्तित्व छनोटका लागि गुठीका अध्यक्ष फणिन्द्रराज कोइरालाको संयोजकत्वमा समाजसेवी, बुद्धिजीवीसहितका छ सदस्यीय समिति गठन गरेको थियो । छनोट समितिको सिफारिसलाई गुठीको बैठकले अनुमोदनगरी सार्वजनिक गरिएको हो । यसअघि यस पुरस्कारबाट माइती नेपाल, राष्ट्रिय आविष्कार केन्द्र, सर्लाहीको पद्मम भवानी नमुना विद्याश्रम र पोखराको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति पुरस्कृत भइसकेका छन् । 

पोखराका श्रीपति कोइराला एक सरकारी उच्चपदस्थ कर्मचारी तथा समाजसेवी थिए । सरकारी जागिरकै सिलसिलामा विसं १९२६ मा उनको निधन भएको थियो । 

कोइरालाको निधनपछि उनका सन्तानले सामाजिक कार्यसहित राष्ट्रिय स्तरको समाजसेवा पुरस्कार स्थापना गरेर सञ्चालन गर्दै आएको गुठीका अध्यक्ष फणिन्द्रराज कोइरालाले जानकारी दिए । 





  • प्रकाशित मिति : असार २७, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया