logo-img

कांग्रेसबाट मन्त्रीमा तीनजनाको नाम पक्का, प्रकाशमानको नेतृत्वमा पठाउने तयारी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार संसदबाट विश्वासको मत लिन लागेका छन् । दुई ठूला दल र अन्य साना दलले समर्थन नगर्ने भएपछि प्रचण्ड सरकारबाट बिदाइ हुनेछन् । सम्भवतः भोलि नै कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नेछन् । 

एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारमा क–कसलाई पठाउने भन्ने विषयमा अहिले नेपाली कांग्रेसमा रस्साकस्सी सुरु भएको छ । यसअघि कांग्रेस र एमालेले सिट बाँडफाँट गर्दा दुवै दललाई १०–१० सिट भाग लगाएका थिए । एमालेको भागमा प्रधानमन्त्री र नौजना मन्त्री गरी १० जना, कांग्रेसबाट १० जना मन्त्री बनाउने दुई दलबीच सहमति भएको थियो । 

तर, संसदमा रहेका अन्य साना दलले पनि सरकारलाई समर्थन गर्ने भएपछि कांग्रेस र एमाले दुवै दल मन्त्री संख्यामा केही खुम्चिनुपर्ने देखिएको छ । मन्त्रिपरिषद् २५ सदस्यीयभन्दा बढी बनाउन नपाइने संवैधानिक व्यवस्थाका कारण अन्य दललाई समेट्न पाँच मन्त्रालय अपुग हुने भएकाले सम्भवतः कांग्रेस र एमाले दुवैको भागबाट एकदेखि दुईवटासम्म मन्त्रालय घटाउनुपर्ने हुन सक्छ । 

नेपाली कांग्रेसबाट प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा पठाउने तयारीमा सभापति शेरबहादुर देउवा रहेको स्रोतको दाबी छ । सिंह यसअघि उपप्रधानमन्त्री भइसकेकाले उनी उपप्रधान तथा गृहमन्त्री बन्ने सम्भावना छ । 

कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गरेका सिंहले दोस्रो चरणमा देउवालाई समर्थन गरेर सभापतिमा जिताएका थिए । त्यसअघि संस्थापनइतर समूहमा रहेका सिंह महाधिवेशनपछि देउवाकै समूहमा छन् । 

देउवाले सिंहलाई यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा नै पठाउन खोजेका थिए । तर, प्रचण्डले  पूर्णबहादुर खड्कालाई पठाइदिए आफूलाई सहज हुने बताएपछि सिंह सरकारमा जानबाट रोकिएका थिए । त्यसबेला कांग्रेस–माओवादी गठबन्धन ब्युँताउन खड्काको भूमिका महत्वपूर्ण थियो । 



०७९ को आम चुनावपछि पनि सिंहले ओलीनिवास बालकोट पुगेर कांग्रेस एमाले गठबन्धन बनाउन प्रयास गरेका थिए । कांग्रेस–एमालेबीच त्यतिबेला सत्ता सहकार्य हुन सकेन । एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए । 

पछि राष्ट्रपति निर्वाचनअघि प्रचण्डले समीकरण बदलेपछि देउवाले सिंहकै नेतृत्वमा कांग्रेसका मन्त्री पठाउन खोजेका थिए । अन्तिममा उपसभापति खड्काको नेतृत्वमा कांग्रेस सरकारमा गएको थियो । त्यतिबेला नै देउवाले अर्कोपटक सरकारमा पार्टीको नेतृत्व गर्ने गरी उपप्रधानमन्त्रीसहित पठाउने वचन सिंहलाई दिएको बताइन्छ । 



सोहीबमोजिम देउवाले बुधबार सिंहलाई आफ्नो निवास बुढानीलकण्ठमा बोलाएर पार्टीको नेतृत्व गर्ने गरी सरकारमा पठाउने आश्वासन दिएको बताइएको छ । सिंहप्रति एमाले अध्यक्ष ओली पनि सकारात्मक रहेको बताइन्छ । 

कांग्रेसबाट हालसम्म तीनजना मन्त्रीको नाम पक्कापक्कीजस्तै छ । सिंहका अलवा रमेश लेखक र डा. आरजु राणा कांग्रेसबाट मन्त्री बन्ने पक्का रहेको स्रोतले बताएको छ । बाँकी मन्त्री भने टुंगिसकेको छैन ।

यसअघि कांग्रेसबाट दुई उपसभापति सरकारमा गएका थिए । अहिले दुई महामन्त्रीमध्ये एकको नेतृत्वमा सरकारमा पठाउनसक्ने आकलन गरिएको थियो । तर, महामन्त्रीहरूले सरकारमा भन्दा संगठनमै काम गर्ने बताएका छन् । 

यसअघि बिहीबारै महामन्त्री थापाले पार्टीकै कामले भ्याइनभ्याइ रहेकाले अब बन्ने सरकारमा आफू मन्त्री नबन्ने बताएका थिए । बिहीबार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सरकारले शक्तिको दुरुपयोग गरेमा सचेत गराउन पनि आफू मन्त्री नबन्ने दाबी गरेका हुन् । 

सरकारलाई सचेत गराउने काम प्रतिपक्षको मात्रै नभएको बताउँदै उनले भने, ‘सांसदको रुपमा मैले क्रियाशील भएर यो सरकारलाई समर्थन गर्ने पनि, हाम्रो शेखर कोइरालाले अघि भन्नुभएजस्तो कांग्रेस र एमाले मिलेर धेरै शक्ति आर्जन गर्दैगर्दा सरकारले शक्तिको दुरुयोग गर्लान् कि भनेर सचेत गराउनुपर्ने काम प्रतिपक्षले मात्रै होइन, सत्ता पक्षले पनि गराउनुपर्छ ।’

त्यसैले सत्ता पक्षको सांसदहरुको बेन्चको पहिलो हरफमा बसेर सरकारको राम्रो कामको समर्थन र परेको बेला सरकारलाई प्रश्न पनि गर्ने र आफूले जवाफदेही बनाउने उनको भनाइ थियो । अबको दुई–तीन वर्षको समय आफू सरकारमा नगई सांसदको रुपमा प्रभावकारी भूमिका खेल्ने उनको मनसाय छ । 

  • प्रकाशित मिति : असार २७, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया