logo-img

रमेश लेखक भन्छन्- ‘सुशासन कायम गर्न एमालेसँग सहमति गर्‍यौँ’

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न संसदका दुई ठूला दल कांग्रेस र नेकपा (एमाले) बीच सहमति भएको स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रतिनिधिसभाको बैठकमा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन् ।

‘देशमा सुशासन कायम गर्न दुई दलबीच सहमति भएको हो । विकासको लक्ष्य हासिल गर्न, अर्थतन्त्र चलायमान बनाउन तथा विकासको गति अघि बढाउन यो समीकरण भएको हो,’ प्रमुख सचेतक लेखकले भने ।

उनले दुई दलबीच यही असार १७ गते भएको सहमतिको कांग्रेस पदाधिकारी बैठकबाट समर्थन भएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले राखेको प्रस्तावको विपक्षमा मतदान गर्ने स्पष्ट परे ।

उक्त सहमतिका केही ठोस आधार रहेको जानकारी गराउँदै प्रमुख सचेतक लेखकले भने, ‘मुलुकलाई ठीक ढङ्गले अघि बढाउन राजनीतिक स्थिरता पहिलो आधार हो ।’ उनले प्रधानमन्त्री दाहालले १८ महिनामा पाँचौँपटक विश्वासको मत लिनु नै अस्थिरता भएको बताए । 

नेता लेखकले संविधान भनेको निरन्तर चलायमान हुने दस्तावेज भएको उल्लेख गर्दै संविधान कार्यान्वयन गर्नेक्रममा देखिएका कमजोरी पक्षको आवश्यकताअनुसार संशोधन गर्नुपर्नेमा जोड दिए ।  



प्रमुख सचेतक लेखकले सशस्त्र आन्दोलनमा रहेको तत्कालीन माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने काम र सङ्घीय लोकतन्त्रको शासन व्यवस्था स्थापना गर्ने काम कांग्रेसको नेतृत्वमा भएको बताए । ‘यो कुरा हेक्का रहोस् । राजनीतिक अस्थिरतालाई स्थिरतामा रूपान्तरण गर्न चाहन्छौं,’ उनले भने, ‘यसले सङ्घीयता, लोकतन्त्र, गणतन्त्र र समावेशी व्यवस्थालाई अझ सबल बनाइने छ । संविधान छुनै नमिल्ने दस्तावेज होइन ।’

संविधानमा भएका कतिपय व्यवस्था १० वर्षमा पुनरावलोकन गर्न सकिने संविधानमै उल्लेख रहेको जानकारी गराउँदै उनले त्यो प्रावधान मूल्याङ्कन गरेर संविधानलाई थप बलियो बनाउन समयअनुसार संशोधन आवश्यक रहेकामा जोड दिए ।



संविधानको दिगो पनका लागि बहुसङ्ख्यक जनताको अपनत्व र आत्मसात गर्न आवश्यक भएको उल्लेख गर्दै उनले यो छलफलका लागि सबैसँग छलफल गरेर अघि बढ्ने प्रणका साथ नेतृत्व लिन दुवै दलबीच सहमति भएको स्पष्ट पारे ।

प्रमुख सचेतक लेखकले कांग्रेसको जन्म नै लोकतन्त्रको स्थापना र सबल बनाउनका भएको बताउँदै यसमा कसैले भ्रम फलाउन नहुनेमा जोड दिए । मुलुकका भएका हरेक आन्दोलनमा सबै दल मिलेर सफल भएको प्रसङ्ग उल्लेख गर्दै उनले विशेष अवस्थामा ठूला दल र शक्ति मिल्दा नै राम्रो परिणाम आउँछ भन्ने विगतको इतिहासले पनि देखाएको बताउनुभयो । यही असार १७ गते दुवै दलबीच भएको सहमतिलाई कार्यान्वयन आफूहरू प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।

बैठकमा प्रमुख सचेतक लेखकले अविरल वर्षाका कारण देशभर बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित जनताको उद्धार, राहत र पुनःस्थापनाको लागि सरकारसँग माग गरे ।

त्यसअघि बैठकमा प्रधानमन्त्री प्रचण्डले आफ्नो सरकारप्रति विश्वासको मत माग्दै प्रस्ताव प्रस्तुत गरेका थिए । उनले नेपालको संविधान २०७२ को धारा १०० को उपधारा (२) बमोजिम सो प्रस्ताव प्रस्तुत गरेका हुन् ।

यसअघि सरकारलाई समर्थन दिएका नेकपा एमालेसहितका दलहरूले विश्वासको मत फिर्ता लिएपछि उनले आजको संसदको बैठकमा सम्बोधन गर्दै सो प्रस्ताव प्रस्तुत गरेका हुन् ।  

  • प्रकाशित मिति : असार २८, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया