logo-img

सिमतालमा शोक, सिंहदरबारमा सत्ता संघर्ष

धेरैको बानी छ, बिहान उठ्नेबित्तिकै देशमा के–के घटना भए सामाजिक सञ्जाल चिहाउने । दिनहुँजसो देशमा भइरहने गतिविधिबारे प्रायः सामाजिक सञ्जालमार्फत थाहा पाउने गर्छौँ । तर, मलाई भने बिहान उठ्नेबित्तिकै सामाजिक सञ्जाल चहार्न मन लाग्दैन । कारण- कुनै अप्रिय घटना देख्न वा सुन्न नपरोस् भन्ने हुन्छ । तर, समय सधैँ आफूले चाहेअनुरूप कहाँ हुन्छ र !

आज (२८ असार) बिहानको सबै नित्यकर्म गरेर खाना बनाउने सुर कस्दै थिएँ, त्यहीँबेला अर्को कोठामा बस्ने भाउजू मकहाँ आएर भन्नुभयो, ‘नानी, हेर्नु न, आज बिहानै सिमताल भन्ने स्थानमा लेदो माटोसहितको पहिरोले दुईवटा बसलाई पुरेछ ।’ 

नारायणगढ मुग्लिन सडक खण्डको सिमलतालमा शुक्रबार बिहान गएको पहिरो। उक्त सडकको पहिरो पन्छाउने कार्य भइरहेको छ। तस्बिरः रासस

भाउजूको मुखबाट बस पुरिएको घटना सुनेर म एकछिन स्तब्ध भएँ । एकछिन केही सोच्नै सकिँन । म कोहीकसैले केही अप्रिय वा दुःखद खबर सुनाउँदा एकछिन शून्य भावमा जान्छु । के गर्ने, के भन्ने भनेरै भेउ पाउन सक्दिनँ । मलाई शून्य भावमा देखेर भाउजूले फेरि भन्नुभयो, ‘कस्तो दुःखद् खबर है नानी ? म पनि घर जाने सोच्दै थिएँ, बर्खायाममा आउजाउ गर्न डर लागेर नै नगएको हो । त्यस्तो गइहाल्नुपर्ने काम थिएन । अब एकैपटक दसैँमा घर जान्छु ।’

उहाँको कुरा सुनिसकेपछि बल्ल मेरो बोली फुट्यो, ‘होनि भाउजू, अत्यन्त जरुरी काम छैन भने त यो बर्खायाममा यात्रा नगरेकै बेस । डरलाग्दो बाटो, त्यसमाथि बर्खायाममा वर्षैपिच्छे घट्ने घटनाले झन् यस्तो बेला यात्रा गर्नै डर लाग्छ ।’ यति भनेर भाउजूलाई फेरि भनेँ, ‘भाउजू, मलाई अब यसबारे केही नभन्नु ल ! मलाई नराम्रो समाचारले धेरै पीडा हुन्छ । दिनै कस्तो कस्तो हुन्छ ।’ मैले यति भनिसकेपछि उहाँले पनि ‘हवस्’ को भाव व्यक्त गरेर आफ्नो कोठामा जानुभयो । 

कहिलेकाहीँ कस्तो हुँदोरहेछ भने केही नराम्रो घटना सुन्दिनँ, हेर्दिँनभन्दा पनि सुन्नुपर्ने, हेर्नुपर्ने हुँदोरहेछ । त्यहीँमाथि आफू पनि समाचार बनाउने क्षेत्रमै भएपछि नसुनी/नहेरी धर नै हुँदैन । 



बिहीबार साँझ ८ बजे प्रदेश ०३००६ ख १५१६ नं. को एन्जल डिलक्स बस वीरगञ्चबाट चालकसहित २४ जना यात्रु लिएर काठमाडौंका लागि गुड्यो । त्यसमा केही यात्रु भारतीय पनि थिए । यता, काठमाडौंको नयाँ बसपार्कबाट गौर प्रस्थान गरेको ०००१ ख २४९५ नम्बरको बसमा चालकसहित गरी जम्मा ३१ जना सवार थिए । उक्त बसमा दुईजना बीच बाटोबाट चढेका थिए । बस किशोर कुमार चौधरीले हाँकिरहेका थिए ।  

काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको गणपति डिलक्समा सवार धेरैजसो यात्रु निदाइरहेका थिए । केही बसमा लगाएको फिल्म हेरिरहेका थिए । विभिन्न ठाउँमा पहिरो गएर सडक साँघुरिएकाले निकै लामो जाम भइसकेको थियो । बसको गति पनि सुस्त थियो । र, सोहीबीच उक्त बसमाथि पहिरो खस्यो । लेदोसहित खसेको पहिरोले बसलाई पुरेन मात्रै, हुत्याउँदै त्रिशूली नदीमा खसाल्यो । 



नारायणगढ मुग्लिन सडक खण्डको सिमलतालमा शुक्रबार बिहान गएको पहिरोले बस त्रिशूलीमा बगाएपछि खोजीको तयारीमा सुरक्षा निकायका अधिकारी। तस्बिर : रासस

अर्कोतर्फ काठमाडौंका लागि गुँडेको एन्जल डिलक्स पनि जाम छिचोल्दै अगाडि बढिरहँदा सोही लेदोसहित खसेको पहिरोमा पर्‍यो । काठमाडौंबाट गौर जाँदै गरेको बसका तीनजना यात्रु भने हामफालेर ज्यान जोगाउन सफल भए । अन्य यात्रुको अवस्था अज्ञात छ । घटनास्थलमा खोजी र उद्धार कार्य जारी छ ।

यो घटनाले पूरै देशलाई स्तब्ध बनाएको छ । घटनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत दुःख व्यक्त गर्दै खोज तथा उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् । यस्तै, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नारायणगढ–मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले दुईवटा बस त्रिशूली नदीमा खसेर करिब पाँच दर्जन यात्रु बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

सभापति देउवाले देशका विभिन्न ठाउँमा बाढी–पहिरो र डुबानमा परी भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धारका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । उनले बाढी–पहिरोको जोखिम थप बढ्न सक्ने अवस्था दृष्टिगत गरेर तीनै तहका सरकारलाई समन्वय र व्यवस्थित योजनाकासाथ काम गर्न आग्रह गरेका छन् । स्थानीय पार्टी पंक्तिलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन निर्देशन दिँदै उनले सबै एक भएर विपत्तिको सामना गर्न अपिल गरेका छन् ।

यता, गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखामा बसेको बैठकले रात्रिकालीन बस सञ्चालनमा ‘रेड एड्भाइजरी’ (उच्च जोखिमको सूचना) जारी भएका दिन तोकिएका जिल्लाहरूमा रात्रिकालीन सवारी चलाउन नपाइने जनाएको छ । 

शुक्रबार बिहान यातायात व्यवसायीका प्रतिनिधिसँग गृह मन्त्रालयमा छलफल गरेर उक्त निर्णय गरिएको हो । नारायणगढ–मुग्लिन सडकमा आएको पहिरोले दुईवटा बस त्रिशूलीमा खसालेर यात्रु बेपत्ता भएपछि मन्त्रालयले बर्खामा रात्रिकालीन बस सञ्चालनमा रोक लगाउने प्रस्ताव अघि सारेको थियो ।

सिमलतालमा वीरगन्जबाट काठमाडौंतर्फ आइरहेको र काठमाडौंबाट गौरतर्फ गईरहेको यात्रुवाहक बस पहिरोमा पर्दा यात्रु खोजीमा परिचालन एवं उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी तथा स्थानीय। तस्बिर सौजन्य : नेपाली सेना

दुःखद घटना घटिसकेपछि दुःख मनाउ गर्ने नेपालका उच्च पदमा बसेका व्यक्तिको पुरानै ढर्रा होभन्दा अनुचित नहोला । हामीकहाँ घटना घट्न नदिन पूर्वतयारी तथा प्रयासहरू प्राथमिकतामा पर्दैनन्, जब घटना घटिसक्छ, सर्वसाधारणले नभोग्नुपर्ने क्षति भोगिसक्छन्, तब बल्ल सरकार केन्द्रदेखि स्थानीय तहसम्म एकाएक जागेको, चनाखो भएको ढोंग गर्न तँछाडमछाड गर्छ । 

नेतादेखि कार्यकतालाई घटना भइसकेपछि थाहा हुन्छ, नेपालको भौगोलिक अवस्था कस्तो छ र के–कस्ता कामहरू गर्नुपर्छ । यी र यस्ता गतिविधि तबसम्म चल्छन् जबसम्म देशको माहोल शान्त हुन्न वा भनुँ घटनाको विषयवस्तु किनारा लाग्दैन । जब घटना साम्य हुन्छ, उच्च पदस्थमा रहेका व्यक्ति, पार्टी, कार्यकर्ता फेरि उही पुरानै कार्यशैलीमा फर्किन्छन् । 

नारायणगढ–मुग्लिन सडक ३६ किलोमिटर लामो छ । यो सडकमा दैनिक १० हजारभन्दा बढी सवारीसाधन गुड्ने गर्छन् । हरेक वर्ष पहिरो झर्दा यात्रुले त सास्ती पाएका छन् नै लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा त्रिशूली नदीमा करिब ६५ जना यात्री बेपत्ता भएका छन् । 

अझैसम्म उनीहरूबारे जानकारी प्राप्त भएको छैन । सारा देशवासीको ध्यान त्रिशूली नदीतिर भइरहँदा राज्य सत्तामा बसेका नेताहरूको ध्यान भने सिंहदरबारमा सत्ता केन्द्रित मात्र छ । त्रिशूलीमा भयानक बस दुर्घटना भएको दिन नै प्रचण्ड नेतृत्वको सरकार ढलेको छ । 

संसद्मा विश्वासमा मत प्राप्त गर्न नसकेपछि उनी १८ महिनापछि सरकारबाट बाहिरिएका हुन् । दिउँसोभरि सुरक्षाकर्मी त्रिशूलीमा दुर्घटनामा परेका बेपत्ताको खोजीमा रहँदा नेताहरू भने संसद् भवनमा सत्ताका लागि आरोपप्रत्यारोपमा थिए ।

बस दुर्घटनाले देश नै शोकमा रहेको बेला संसदमा बोल्ने अधिकांश सांसदको चिन्ता दुर्घटना न्यूनीकरण गर्न र बेपत्ताको उद्धारमा जोड दिनुको सट्टा सरकार नेतृत्वका लागि थियो ।   

  • प्रकाशित मिति : असार २८, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया