logo-img

मुख्यमन्त्री सोडारीलाई तीन दलको अनुरोध : तत्काल राजीनामा दिनुहोस्
फाइल तस्बिर

नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई पदबाट राजीनामा दिन आग्रह गरेका छन् ।

ती  दलद्वारा आज  धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रदेशसभामा मुख्यमन्त्री अल्पमतमा परिसकेकाले तत्काल पदबाट राजीनामा दिन ती पार्टीका संसदीय दलका नेताले संयुक्त माग गरेका हुन् ।

पत्रकार सम्मेलनमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्रीले तत्काल राजीनामा दिँदा नयाँ सरकार गठन र बजेट ल्याउन सहज हुने बताए ।

‘अल्पमतमा परिसकेपछि मुख्यमन्त्रीले पद ओगटेर बस्नु उचित हुँदैन,’ शाहले भने । पत्रकार सम्मेलनमा एमाले संसदीय दलका उपनेता सन्तोष थापा शर्मा, नागरिक उन्मुक्ति पार्टीका नेता घनश्याम चौधरीले मुख्यमन्त्रीलाई राजीनामा  गर्न आग्रह गरे ।

संघमा नयाँ सत्तासमीकरण परिवर्तन भएसँगै एमाले प्रदेशका मुख्यमन्त्री सोडारीलाई दिएको समर्थन यही २३ असारमा फिर्ता लिएको थियो । एमालेले समर्थन फिर्ता लिँदै पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परेका हुन् ।

एमालेले सरकारबाट बाहिरिएसँगै सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको बजेट पारित हुने वा नहुने भन्नेमा अन्योल देखिएको छ । बजेट माथिको छलफल प्रदेशसभामा अझै सुरु हुन सकेको छैन ।



नयाँ गठन हुने सरकारले सोडारी नेतृत्वको सरकारले ल्याएको बजेट पारित नगरेर अध्यादेशमार्फत अर्को बजेट ल्याउने तयारी गरेको  कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामीले बताए । प्रदेश सरकार गठनका लागि २७ सदस्यको बहुमत आवश्यक हुन्छ ।

५३ सदस्यीय प्रदेशसभामा  कांग्रेसका १८, नेकपा (माओवादी केन्द्र)का सभामुखबाहेक १०, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा (एकीकृत समाजवादी) पार्टीका चार, राप्रपाको एक र एक स्वतन्त्र सदस्य छन् ।  



  • प्रकाशित मिति : असार २९, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया