logo-img

सेन्ट जेभियर्सको फरक-फरक सूचनाले प्रवेश परीक्षाबाट वञ्चित भए विद्यार्थी

माइतीघरस्थित सेन्ट जेभियर्स कलेजले दुईवटा सूचना प्रकाशित गरेपछि कक्षा ११ को प्रवेश परीक्षाबाट केही विद्यार्थी वञ्चित भएका छन् । 

कलेजको सुरुमा प्रकाशित गरेको सूचनाका आधारमा विद्यार्थी आज बिहान ७ः१५ बजे कलेज परिसर पुगेका थिए । तर, कलेजले उक्त परीक्षा शुक्रबार नै सम्पन्न भइसकेको जानकारी गराएको थियो । 

कञ्चनपुरबाट प्रवेश परीक्षा दिन आएका आर्थिक रानाका पिता कृपाराम रानाले भने, ‘प्रवेश परीक्षा लिन भनेर हामीसँग १ सय ५० रुपैयाँका दरले रकम उठाइएको थियो । तर, अहिले आएर परीक्षा दिनबाट वञ्चित गराइयो ।’ विद्यार्थी प्रियङ्का ओझाका पिता विपिन ओझाले पनि उक्त कलेजको लापरबाहीका कारण आफूहरूले दुःख पाएको गुनासो गरे ।

कलेजले कक्षा ११ मा भर्नाका लागि विभिन्न १० स्थानका लागि आवेदन मागेकामा करिब साढे २ लाख विद्यार्थीले फाराम भरेका थिए । कलेजले सुरुको सूचनामा पाँच स्थानमा शुक्रबार र पाँच स्थानमा शनिबार परीक्षा सञ्चालन हुने उल्लेख गरेको थियो । तर पछि तालिका परिवर्तन गरेकाले शनिबारका लागि तयारी गरेका विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका हुन् । 

दार्चुलाका विद्यार्थी रश्मी साउदले काठमाडौं आएर पनि परीक्षा दिन नपाउँदा दुःख लागेको बताए । कलेजका प्रिन्सिपल फादर डा. अगुस्टिन थोमस एसजेसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन । 

नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले कलेजको फरक–फरक सूचनाका कारण विद्यार्थी प्रवेश परीक्षाबाट वञ्चित भएका हुन् भने दुःखद् भएको र यसबारे कलेज जवाफदेही हुनुपर्ने तर्क गरे । 





  • प्रकाशित मिति : असार २९, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया