logo-img

औरहीमा जनप्रतिनिधि र कर्मचारीको मनपरी : कमिसनको कुरा मिलेपछि धमाधम चेक बाँडिए

सिरहाको औरही गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीको मनपरी चलेको छ । आफू अनुकूल काम नगरेपछि पालिका अध्यक्ष शिवजी यादवले प्रशासकीय अधिकृतलाई अनावश्यक दबाब दिइरहे ।   

अध्यक्ष यादवको अनावश्यक दबाबका कारण प्रशासकीय अधिकृत सर्वजीत झा बिदा बस्न बाध्य भए । 

‘मलाई त चेक बनाउने कोठामा छिर्नै दिएनन् । पालिकाका अध्यक्ष र लेखापालले मेरो फोन पनि उठाएनन् । मसँग सम्पर्कविच्छेद गरेर अध्यक्ष र लेखापालले मात्र चेक काटे । कुन फाइल सदर गर्ने कुन नगर्ने मलाई सोधिएन । अनि कसरी चेकमा हस्ताक्षर गर्नु ? अध्यक्षले जे कमान्ड दिन्छ मैले त्यसैअनुसार काम गर्ने हो र ? मैले पदीय मर्यादाअनुसार विवेक प्रयोग गर्न नपाउने ? त्यसकारण म कार्यालय छोडेर घर आएँ,’ प्रशासकीय अधिकृत झाले भने, ‘लेखापालको मात्र हस्ताक्षरले चेक साटिन्छ भने साटून् । म चेकमा हस्ताक्षर गर्दै गर्दिन ।’

चेक काट्ने कोठामा अध्यक्ष र लेखापालले छिर्न नदिएको भन्दै उनी २४ असारको साँझ रिसाएर कार्यालयबाट महोत्तरी जिल्लास्थित आफ्नो घर गएका थिए । २५ असारमा झासँग सम्पर्क गर्दा उनले आफ्नो पीडा पोखेका थिए ।

यता चेकमा प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षर नभएको कारण उपभोक्ता समिति तथा बिक्रेतालाई चेक वितरण गर्न नपाउँदा अध्यक्ष यादव तनावमा परे । भुक्तानीवापतको चेक लिन आउनेको भीड र दबाब थेग्नै नसक्ने अवस्थाको थियो । 

औरही गाउँपालिका कार्यालय अगाडि दिनहुँ मानिसको भीड लाग्ने र भुक्तानीका लागि नाराबाजी  भइरहेको छ । चेकमा हस्ताक्षर नगरे प्रमुख प्रशासकीय अधिकृतमाथि ‘कानुनी कारबाही अघि बढाउँछु’ भनेर धम्की दिएका अध्यक्ष यादवले अन्ततः सम्झौताको बाटो रोजे । 



लेखापालको मात्र हस्ताक्षरयुक्त चेक नसाटिने, फाइलमा टिप्पणी र आदेश सदर गर्ने अधिकार प्रमुख प्रशासकीय अधिकृतको भएको र टिप्पणी सदर नगरी चेक काट्दा लेखापाल पनि कारबाहीमा पर्ने भएपछि उनीहरू बाध्य भएर कमिसन बाँडफाँडको सहमतिमा आउनु परेको हो ।

२५ असारदेखि नै अध्यक्ष यादव  र लेखापाल देवेन्द्र यादवले प्रमुख प्रशासकीय अधिकृत झालाई फकाउन थालेका थिए । अध्यक्ष यादव र लेखापाल यादवले जति नै अनुनयविनय गरे पनि प्रमुख प्रशासकीय अधिकृत झा चेकमा हस्ताक्षर गर्न तयार भएनन् ।



आर्थिक वर्षको खाता बन्द हुने अन्तिम दिन २४ असारको राति १२ बजेसम्म औरही गाउँपालिकाको कार्यालय सुनसान थियो । अध्यक्ष र लेखापालद्वय सम्पूर्ण फाइल लिएर सिरहा सदरमुकामस्थित एउटा गोप्य  कोठामा बसेर चेक काट्न थालेका थिए । प्रमुख प्रशासकीय अधिकृत झाले त्यहाँ जान चाहे पनि उनलाई जान दिइएन । उनको फोन पनि उठाइएन ।

स्थानीय पत्रकार सन्तोष यादव भन्छन्, ‘यो सबै कमिसनको झमेला हो । कमिसन बाँडफाँडमा कुरा नमिलेको कारण सिफारिस भएको हो । असार २८ गते साँझ अध्यक्ष यादव, प्रमुख प्रशासकीय अधिकृत झा र लेखापाल यादव तीन जनाबीच जनकपुरमा वार्ता भयो । कमिसनको बाँडफाँड प्रतिशतमा कुरा मिल्यो । असार २९ गते बिहानै झा कार्यालयमा आएर चेकमा हस्ताक्षर गरिदिए ।’

सिरहाकै अर्का पत्रकार शिवदयाल यादव पनि यो विषयलाई कमिसनको खेलसँग जोड्छन् । ‘अध्यक्ष शिवजी यादवले लेखापाललाई मिलाएर कमिसनमा आफ्नो वर्चस्व कायम गर्न खोजेका थिए । तर, उनको दाउ सप्रिएन । प्रमुख प्रशासकीय अधिकृत झाले आफ्नो भाग लिएरै छोडे,’ उनले भने । 

२९ असारबाट औरहीमा चेक वितरण सुरु भएको छ । यस सम्बन्धमा प्रमुख प्रशासकीय अधिकृत झा, अध्यक्ष यादव र लेखापाल यादवसँग फोन गर्न खोज्दा उनीहरू सम्पर्कमा आउन चाहेनन् ।  (नेपाल न्यूज बैंक) 

  • प्रकाशित मिति : असार २९, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया