logo-img

बैतडीको त्रिपुरासुन्दरी मन्दिरमा ‘अषाढी जात’ को रौनक

बैतडीको प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिरमा जात्रा सुरु भएको छ । दशरथचन्द नगरपालिका–८ मा रहेको त्रिपुरासुन्दरी भगवती मन्दिरमा लागेको यो जात्रालाई स्थानीय भाषामा ‘अषाढी जात’ पनि भनिन्छ ।

हरेक वर्ष असार शुक्ल पक्षको अष्टमी र नवमी तिथिमा मन्दिरमा ‘अषाढी जात’लाग्ने स्थानीय राजेन्द्रसिंह थापाले जानकारी दिए । असार शुक्ल पक्षको प्रतिपदाका दिनदेखि आठौँ दिनमा जात्रा सुरु हुने र नवमीको दिनमा जात्रा सम्पन्न हुने गर्दछ ।

असार शुक्ल अष्टमीका दिन त्रिपुरासुन्दरीको भण्डार घरबाट भण्डार ल्याएर मन्दिरमा राख्ने चलन रहिआएको छ । नवमीका दिन त्रिपुरासुन्दरीको सवारी कापडीगाउँमा हुने र त्यहाँबाट फर्केपछि सिंहासनमा विराजमान गराइने चलन रहिआएको छ । असार शुक्ल नवमीको साँझ भण्डार घरमा पुर्याएपछि जात्रा समापन हुने गरेको थापाले बताए ।

‘अषाढी जात’मा पनि दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ । त्रिपुरासुन्दरीको जात्रामा दर्शनका लागि नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीसमेत पुग्छन् । भारतको झुलाघाट, पिथौरागढलगायत क्षेत्रबाट त्रिपुरासुन्दरीको दर्शनका लागि दर्शनार्थीहरु नेपाल पुग्ने गरेका छन् ।

त्रिपुरासुन्दरी भगवती मन्दिरमा हरेक वर्षको कार्तिक शुक्ल अष्टमी र नवमी तथा असार शुक्ल अष्टमी र नवमीका दिन बलिसहितको जात्रा हुने हुन्छ । यस्तै, असोजको नवरात्र र चैतै दसैँमा पनि मन्दिरमा पूजाआजासहितको जात्रा हुने गरेको छ । 

त्रिपुरासुन्दरी भगवतीलाई स्थानीयवासीले रणशैनी भगवतीका रूपमा पुर्काने  गरिएको छ । त्रिपुरासुन्दरीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रहिआएको छ । रासस 





  • प्रकाशित मिति : असार २९, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया