logo-img

बाढीले पाइप बगाएपछि खानेपानीको समस्यामा बागलुङ बजारबासी

बर्खा लाग्नासाथ बागलुङ बजारवासीलाई खानेपानीको सधैं पिरलो हुन्छ । आवश्यकताभन्दा थोरै पानी आउने तथा आएको पानी धमिलो आउने कारण बागलुङ नगरवासी आजित छन् ।  

खानेपानी वितरणको जिम्मा पाएको बागलुङ नगरखानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले ४ हजार ६ सय धारामा खानेपानी वितरण गर्दै आए पनि पर्याप्त खानेपानी वितरण गर्न सकिरहेको छैन । 

खानेपानीको मुहानमा बर्खामा भेल पस्ने, पहिरोले खानेपानीको पाइप बगाउने र खानेपानीको आपूर्तिमा आउने प्राविधिक समस्याका कारण हिउँदमा भन्दा बर्खामा खानेपानीको समस्या बढी आउने गरेको छ । उपभोक्ता कमल खड्काले जनतालाई शुद्ध पानी चाहिएको बताउँदै जनता खानेपानीको समस्याबाट आजित भएको गुनासो गरे ।

बागलुङ नगरपालिकाले काठेखोला गाउँपालिकाको भुदीखोला मुहान, रेश खोला मुहान र रिठेखोला मुहानबाट खानेपानी आपूर्ति गर्दै आएको भए पनि असार २६ गते खहरेखोलामा आएको बाढीले भुदीखोलाबाट आउने खानेपानीको पाइप बगाएपछि खानेपानीको झनै समस्या भएको छ । 

बागलुङ बजारवासीलाई चौबिसै घण्टा खानेपानी उपलब्ध गराउने गरी काठेखोलाको कैलामपोखरीमा निर्माण गरिएको लिफ्ट योजना पाँच वर्षमा सम्पन्न भएको छैन । 

बर्खाको समयमा पानी शुद्धीकरण गरेर पठाउने व्यवस्था गरिए पनि भुदीखोलाको मुहानको पाइप बगाउँदा खानेपानीको अभाव भइरहेको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका कार्यवाहक अध्यक्ष हरिबहादुर जिसीले जानकारी दिए । 



‘खानेपानीको समस्या छ, हामी स्वीकार्छौँ, सबै मिलेर काम गर्न आवश्यक छ, खानेपानी शुद्धीकरणका लागि आवश्यक काम भइरहेको छ भने कैलमपोखरी लिफ्ट आयोजना हामीले जतिसक्दो चाँडो सक्न आवश्यक छ’, जिसीले भने, ‘नगर विकास कोषको सहयोगमा निर्माणको अन्तिम चरणमा आएको लिफ्ट खानेपानी आयोजनाको पाइपलाई पुनः विस्तार गर्न आवश्यक देखिएपछि ढिलाइ भएको छ ।’ 

अस्थायीरूपमा चार इन्च र छ इन्चको जिआई पाइपमा अहिले लिफ्टमार्फत खानेपानी लिएर बजारमा वितरण गर्दा राहत मात्रै मिलेको उनको भनाइ छ । 



प्रतिसेकेन्ड १७ लिटर पानी आपूर्ति हुँदै आएको भुलिखोलाको खानेपानीको पाइप बागलुङ नगरपालिका र काठेखोलन गाउँपालिकाको सिमानामा बग्ने खहरेखोलाले बगाएपछि खानेपानीको समस्या झनै बढेको हो ।

यही २६ असारको राति परेको अविरल वर्षापछिको खहरेले उक्त खानेपानीको पाइप बगाएको हो । पानी नरोकिएसम्म मर्मत गर्न कठिनाइ हुने बागलुङ नगरखानेपानी तथा उपभोक्ता संस्थाका प्रबन्धक हिमाल शर्माले बताए । 

अहिले बागलुङ बजारमा रेश खोलाबाट प्रतिसेकेन्ड १७ लिटर र रिठेखोलाबाट प्रतिसेकेन्ड तीन लिटर खानेपानी आपूर्ति भइरहेको छ । साथै कैलमपोखरीबाट आवश्यकताअनुसार अस्थायी लिफ्टमार्फत खानेपानी ल्याइएको छ । रासस 

  • प्रकाशित मिति : असार २९, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया