logo-img

जीर्ण कारागारमा क्षमताभन्दा तेब्बर बन्दी, सुरक्षा र व्यवस्थापनमा चुनौती

जिल्ला कारागार बैतडीमा क्षमताभन्दा तेब्बर बन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । २५ जनाका निम्ति बनाइएको कारागारमा ७६ जनालाई राखिएको छ ।  

चार दशकअघि बनेको कारागार भवन मर्मतसम्भार नहुँदा जीर्ण बन्दै गएको छ भने क्षमताभन्दा बढी बन्दी राख्नुपर्नाले सुरक्षा र व्यवस्थापन चुनौती थपिएको कारागार प्रमुख धारा भण्डारीले बताए ।

टिनको छाना भएको भवनमा वर्षाको पानी चुहिन थालेपछि समस्या भएको छ । क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा सुरक्षा र व्यवस्थापनमा पनि चुनौती थपिएको उनले बताए ।

जेलर आवासगृह, सुरक्षा ब्यारेक पनि नभएको भण्डारीले बताए । ‘जेलरले २४सैँ घण्टा बस्नुपर्ने भए पनि आवासगृह छैन, छुट्टै भेटघाट कक्ष छैन, सुरक्षा ब्यारेक बनेको छैन । यसले सुरक्षा चुनौती थपिएको छ,’ उनले भने ।

कारागारमा स्वास्थ्यकर्मी नभएकाले कैदीबन्दी सामान्य बिरामी हुँदा अस्पताल लैजानुपर्ने बाध्यता रहेको जेलर भण्डारीले बताए । ‘स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दी सामान्य बिरामी हुँदा जिल्ला अस्पताल लैजानुपर्ने बाध्यता छ । जिल्लामा उपचार सम्भव नभएर धनगढी, काठमाडौं रेफर गर्छौँ । स्वास्थ्यकर्मी नभएकोबारे गृह मन्त्रालयलाई जानकारी गराएर माग गरेका छौँ,’ उनले भने ।

केन्द्रबाट अनुगमनमा निकाय आउने पदाधिकारीलाई समस्याबारे ज्ञात भए पनि समाधान भने भएको छैन । २०४० सालमा निर्माण गरिएको कारागार भवन मर्मत नहुँदा जीर्ण छ ।



नयाँ भवन निर्माणका लागि कारागार व्यवस्थापन विभागलाई लागत अनुमानसहितको विवरण पठाइएको जेलर भण्डारीले बताए । रासस



  • प्रकाशित मिति : असार ३०, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया