logo-img

स्वास्थ्यमन्त्रीका रुपमा प्रदीपको पहिलो इनिङ [भिडियोसहित]
बिरामी स्वास्थ्य प्रणालीमा सुधार ल्याउनुपर्ने नयाँ स्वास्थ्य मन्त्रीको चुनौती

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेस नेता प्रदीप पौडेलले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् । शपथ लगत्तै उनले मन्त्रालयमा पुगेर पदभार ग्रहण गरिसकेका छन् । 

नवनियुक्त मन्त्री प्रदीप पौडेलले सोमबार पदभार ग्रहण गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेसँगै उनले दुई निर्णय गरे ।

उनले राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४–३० स्वीकृत गरेका छन् । क्यान्सर रोगीहरूको उपचार प्रणालीमा एकरूपता ल्याउने पहिलो निर्णय गरे । यस्तै, स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित गर्ने र सबैलाई समेट्ने योजना ल्याउने उनले निर्णय गरेका छन् । 

एक महिनाभित्र संघीय अस्पतालहरूमा लाइन बस्नु नपर्ने व्यवस्था गर्ने उनले बताएका छन् । मन्त्री पौडेलले एक साताभित्र तत्कालीन र एक महिनाभित्र दीर्घकालीन योजना तयार पार्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

यस्ता छन् चुनौतीका चाङ

स्वास्थ्यमन्त्री पौडेलले पहिलो पटक मन्त्रीको जिम्मेवारी पाएका हुन् । स्वास्थ्य क्षेत्रमा जनशक्ति अभाव, सरकारी अस्पतालमा औषधिको अभाव, स्वास्थ्य बीमा कार्यान्वयनमा समस्या, स्वास्थ्य क्षेत्रका कर्मचारीको पारिश्रमिकलगायतका समस्या समाधान गर्नुपर्ने चुनौती मन्त्री पौडेलका सामु छ ।



पूर्वस्वास्थ्य मन्त्री प्रदीप यादवले आफ्नो कार्यकालमा अधिकांश समय अस्पताल तथा विभिन्न स्वास्थ्य क्षेत्रको अनुगमनमा बिताए । उनले स्वास्थ्य क्षेत्रमा विभिन्न समस्या औँल्याए । उनले औँल्याएको समस्या समाधानमा नवनियुक्त स्वास्थ्यमन्त्री पौडेलले कति महत्त्व दिन्छन् भन्नेबारे चौतर्फी चासो बढिरहेको छ ।

स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय बनाउनका लागि देशभर तत्काल ९२ हजार स्वास्थ्य जनशक्ति आवश्यक देखिएको छ । पूर्वमन्त्री यादवको पहिलो प्रतिबद्धता नै स्वास्थ्य क्षेत्रमा जनशक्ति थप गर्नु थियो । तर, उनले यो काम गर्न सकेनन् । नवनियुक्त स्वास्थ्य मन्त्रीका लागि देशभर आवश्यक देखिएको ९२ हजार स्वास्थ्य जनशक्तिको दरबन्दी पूर्ति गर्नु नै पहिलो काम हो ।



यस्तै, स्वास्थ्य उपचारका लागि आम नागरिकले सेवा लिँदै आएका स्वास्थ्य बीमा अन्तर्गत को–पेमेन्ट लागु भइसकेपछि अन्योल देखिएको छ । स्वास्थ्य बीमामार्फत पाइने सुविधाबारे नै आम नागरिकले राम्रोसँग बुझ्न नसकेको अवस्थामा को–पेमेन्ट लागु गरेदेखि झनै समस्या देखिएको छ । यस्तो अवस्थामा आम नागरिकसम्म स्वास्थ्य बीमामा सहज पहुँच र कार्यान्वयन गर्नु पनि नवनियुक्त मन्त्रीको प्राथमिकतामा पर्नुपर्ने देखिन्छ । 

निजी अस्पतालले १० प्रतिशत शय्या निःशुल्क दिनुपर्ने सरकारी नियम छ । तर, अधिकांश अस्पतालले यो नियम अनुसार आम नागरिकलाई सेवा उपलब्ध गराउन सकेका छैनन् । यसको नियमन र कार्यान्वयन गराउनु पनि नवनियुक्त स्वास्थ्य मन्त्रीका सामु देखिएको मुख्य काम हो ।

निजी अस्पतालले स्वास्थ्य कर्मचारी, खास गरी नर्सहरूलाई न्यून पारिश्रमिकमा काम गराइरहेको पाइन्छ । यसले नर्सहरू वैदेशिक रोजगारमा जान उद्यत देखिन्छन् । यस्तो अवस्थामा निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई सरकारले तोके अनुसार पारिश्रमिक उपलब्ध गराउनु पनि चुनौतीका रूपमा देखिएको छ ।

देशभरका निजी तथा सरकारी अस्पतालमा सामान्यदेखि आइसीयुसम्मका शय्या अभाव रहेको जनगुनासो धेरै नै सुनिने गरेको छ । अस्पतालमा शैय्याको अभावमा बिरामी फर्किनुका साथै एउटै शय्यामा दुई बिरामी राखेर उपचार गर्ने गरेको समेत पाइन्छ । यो विषय स्वास्थ्य जनशक्ति र अस्पतालको भौतिक संरचनासँग जोडिएको छ । नवनियुक्त स्वास्थ्यमन्त्रीले बिरामीलाई पर्याप्त शय्या उपलब्ध गराउने तर्फ ध्यान केन्द्रित गर्न जरुरी देखिन्छ । 

यसैगरी, कतिपय सरकारी अस्पतालमा उपचार सामान्य औषधिसमेत पाउन नसकेको गुनासो सुनिन्छ । उपचारका क्रममा कतिपय स्वास्थ्य संस्थामा औषधिको चर्को मूल्य तिर्नुपरेको जनगुनासो छ । यस्तै, औषधिको मूल्य र गुणस्तरमा ध्यान दिएर सेवाग्राहीलाई भरपर्दो सुविधा दिलाउन पनि मन्त्री पौडेलका अगाडि चुनौती देखिन्छ ।

स्वास्थ्य क्षेत्रमा आम नागरिकले झेलिरहेको अर्को समस्या हो, अप्रेसनदेखि लिएर औषधिको लामो लाइन र धेरै समयसम्म कुर्नुपर्ने । अप्रेसनका लागि सरकारी अस्पतालमा लामो लाइन कुर्नुपर्ने बाध्यता छ । यस्तै, अस्पताल पुगे पनि त्यहाँको औषधि पसलहरूमा लामो लाइन देखिन्छ । यसको व्यवस्थापन एक महिनाभित्र गर्ने उनले बताएका छन् ।

को हुन् प्रदीप पौडेल ?

१ चैत २०३२ मा शुक्ला–८, तनहुँमा जन्मिएका प्रदीप पौडेलको बसोबास हाल काठमाडौंको बानियाटारमा छ । सिद्धार्थ वनस्थली इन्स्टिच्यूटबाट एसएलसी, अमृत साइन्स क्याम्पस (अस्कल)बाट स्नातक र त्रिविबाट स्नातकोत्तर तह पूरा गरेका उनी नेपालका अन्य धेरै नेताजस्तै विद्यार्थी आन्दोलनबाट राजनीतिमा आएका हुन् ।

पौडेल २०५३ मा अस्कल क्याम्पसको स्ववियु सभापति र २०६४ मा नेविसंघको केन्द्रीय अध्यक्ष निर्वाचित भए । २०५९ देखि २०६३ सम्म संयुक्त विद्यार्थी आन्दोलनको संयोजक रहेका उनले राजद्रोहको मुद्दा पनि खेपे ।

स्वास्थ्यमन्त्री पौडेल पछिल्लो निर्वाचनमा काठमाडौं क्षेत्र नं ५ बाट विजयी भएका हुन् । उनले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै संसदको यात्रा तय गर्न सफल भएका थिए । पौडेल लोकतन्त्र, शान्ति, सुशासन र मानवअधिकारको क्षेत्रमा क्रियाशील विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय संस्थाहरूमा पनि आबद्ध छन् ।

  • प्रकाशित मिति : असार ३१, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया