logo-img

२०६ केन्द्रीय सदस्य थप्दै एकीकृत समाजवादी

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को प्रदेश कमिटीले केन्द्रीय कमिटी सदस्यको नाम सङ्कलन गरेका छन् । सम्बन्धित प्रदेशका इन्चार्जलाई नेताहरूको सक्षमता र योगदानका आधारमा नाम सिफारिस गरी केन्द्रमा पठाउन पार्टीले निर्देशन दिएको थियो ।

प्रदेशबाट सिफारिस गरिएका नेताहरूको कार्यप्रगति साथै सङ्गठित सदस्यताका आधारमा समावेशी, भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर केन्द्रले मूल्याङ्कन गरी  देशभरबाट २ सय ६ केन्द्रीय सदस्य थप गर्ने नेता सोमप्रसाद पाण्डेले जानकारी दिए । 

यही साउनभित्र केन्द्रीय कमिटी सदस्यलाई पूर्णता दिइने र सोही कमिटीले पदाधिकारी छनोट गर्नेछ । पार्टीमा २ सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएको छ ।

हालै सम्पन्न महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहित ९३ केन्द्रीय सदस्य सर्वसम्मत चयन गरेको थियो ।

हाल पार्टीमा २ सय ६ केन्द्रीय सदस्य पद रिक्त छन् । कर्णाली र लुम्बिनी प्रदेशमा नाम सङ्कलन जारी छ । गत असार मसान्तसम्म केन्द्रीय कमिटीलाई पूर्णता दिने तयारी गरेको भए पनि प्राविधिक कारणले ढिला हुन गएको जनाइएको छ ।

पार्टीको विधानमा प्रत्येक जिल्लाबाट कम्तीमा एकजना सदस्यको केन्द्रीय कमिटीमा प्रतिनिधित्वको सुनिश्चितता कायम गरिएको छ । सबै निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको निर्वाचन गर्दा २० प्रतिशत २५–४५ वर्ष उमेर समूहको आरक्षण गरिने विधानमा उल्लेख छ ।



केन्द्रीय कमिटीलाई पूर्णता दिएपछि कार्यविधि तथा मापदण्ड बनाएर केही नेताहरूलाई पदाधिकारीको जिम्मेवारी तोकिने नेता पाण्डेले जानकारी दिए ।  पार्टीको प्रतिनिधिसभामा १० तथा राष्ट्रिय सभामा आठजना सांसद रहेको छ । रासस 



  • प्रकाशित मिति : साउन १, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया