logo-img

पुस्तक अंश : ‘विवेकको फिल्टर’

डुब्दो जहाजको भाष्य

 

पहिलो त ‘नेपाल कसैले निल्दै छ’ भन्नु नै भ्रम हो । दोस्रो, नेपाल केही गरी निलिन्छ भने त्यसका लागि सर्वप्रथम वीर नेपालीको आत्मविश्वास निलिनुपर्छ । हामीलाई आफ्नो आत्मविश्वास पहिल्यै निलाउन पाए हुन्थ्यो भन्ने लाग्छ भने मात्र उक्त विषय उठान गर्न मिल्छ । अन्यथा यस्तो विषय उठान गर्नै हुन्न ।

पहिले काल्पनिक कुरा गरौं ।

केही दशक अगाडि समुद्रपारबाट एउटा पानीजहाज बङ्गालको खाडीतर्फ आउँदै रहेछ । भन्न त नेपालतर्फ भन्नुहुन्थ्यो तर के गर्ने, यता पानीजहाज आउँदैनन् । साधारण यात्रुहरू त हुने भइहाले, विदेशमा पढाइ तथा काम सकेर आएका धेरै यात्रुमध्ये कोही मेकानिकल इन्जिनियर, कोही पानीजहाज इन्जिनियर  र कोही जलश्रोतका ज्ञाता थिए । सामुद्रिक छाल, तुफान, सुनामी आदिका विज्ञ पनि थिए र पाइलट र क्याप्टेनको तालिम सकेकाहरू पनि थिए । कोही मान्छेका डाक्टर, कोही पशुपक्षीका डाक्टर र कोही आर्थिक विश्लेषक । अनि विदेशमा टन्न कमाइ गरी धनदौलत बोकेर फर्किएकाहरू पनि रहेछन् । मेकानिक्स, वेल्डर, प्लम्बर, इलेक्ट्रिसियन, नर्ससँगै अरूलाई पढाउने र तालिम दिन सक्ने प्राध्यापक र प्रशिक्षकहरू पनि रहेछन्- सबै स्वदेश फर्कँदै गरेका ।

सुरुमा जहाज राम्रोसँग चलेको थियो । वरपर कतै जमिन नदेखिने दूरीमा पुगिसकेपछि पानीजहाज ढलपल गर्न थाल्यो । हावा, हुरी पनि आउँथ्यो । समुद्रमा छाल उठ्थे । त्यसैले केही समय सबैले ढलपललाई स्वाभाविकरूपमा लिए ।



ढलपल बिस्तारै बढ्दै गयो । कोही कोही निकै डराएका देखिन्थे तर पानीजहाजसम्बन्धी विषय पढेकाहरूले ‘यसलाई सामान्यरूपमा लिनुपर्छ’ भन्थे । धेरैले धैर्य महसुस गरे पनि केही बेचैन भइरहे । अनि सुनामीका विज्ञहरू ‘समुद्रमा योभन्दा ठूलो तरङ्ग उत्पन्न गर्ने सुनामीसमेत आउने हु“दा यस्ता सामान्य ढलपलले केही नगर्ने’ भन्दै विज्ञता प्रदर्शन पनि गर्दै थिए ।

नभन्दै ढलपल धेरै नै महसुस हुन थाल्यो । केही यात्रु भन्दै थिए, ‘यसपहिला पनि धेरैचोटि पानीजहाजमा यात्रा गरियो । तर, यो तहको हलचल कहिल्यै महसुस भएको थिएन ।’ अनुभवीहरूले त्यस्तो सुनाउँदा पानीजहाजको यात्राको अनुभव कम भएका वा नभएकाहरूले भने हो न हो खतराको घण्टी बजेकै महसुस गरे । फेरि पानीजहाजमा उद्‍घोष भयो- मौसम बिग्रिएकाले जहाज स्वाभाविक चालभन्दा बढी नै हलचल भइरहेछ ।



त्यो सुनेपछि पहिला सहज महसुस गरेका यात्रुहरूमा पनि डर भरियो- खतरा सन्निकट पो छ कि ! सबैको अनुहार मलिन देखियो । स्थिति निकै भयावह हुँदै गयो, आत्मैदेखि संयमित रहन सक्ने केही मात्र भए, बा“की सबैको हंस डगमगायो । कतिले बोलेरै डर व्यक्त गरे, कतिले हाउभाउले । कतिले भने भित्र डराएर पनि नडराएजस्तो देखिने प्रयत्न गरिरहे ।

बिस्तारै अस्वाभाविक आवाज पनि आउन थाल्यो- जहाजमा केही न केही गडबडी पक्कै छ । एकसेएक होनहारहरू सवार छन् तर सबै भयभीत । सबै विगत र आगत सम्झेर कल्पनामा बरालिन लागे । विदेशको पढाइमा अब्बल भएका पनि थिए केही । उनीहरुलाई उहीँ राम्रो कामको प्रस्ताव आएको थियो तर आफ्नै देशमा सकेसम्म योगदान गर्ने उच्च अभिलाषाले फर्कँदै गरेका । जहाज ढलपलाएसँगै उनीहरूका सपना पनि ढलपलाउन थाले- ‘स्वदेशमा यसो गराैँला, उसो गराैँला’ भन्ने योजना बुनेर बस्नुको सट्टा ‘बेकारमा फर्किएछ, के–के न गराैँला भन्ने सोचेको, जिन्दगी यत्ति नै रहेछ’ भन्ने भाव मात्र उब्जिएन, आत्मनिर्णय नै गलत भएकोमा पश्चताप लाग्न थाल्यो । बिस्तारै ‘जहाज डुबेको र सबै सिद्धिएको’ कल्पना गर्न थाले । हुँदा हुँदा आफू कुन विषयको विज्ञ थिएँ भन्ने चेतसमेत हरायो ।

विदेश छँदा प्राध्यापकले गरेका प्रशंसा र साथीहरूले गरेका तारिफका प्रसङ्गहरू स्मृतिमा नाचिरहे- ‘ती सबै मिथ्या रहेछन्, वास्तवमा म निरीह प्राणी रहेछु’ भन्ने भावमा । स्वयं मेकानिकल र पानीजहाज इन्जिनियरहरूमा सङ्कोच पैदा भयो- तिनीहरूले चालक दलसमक्ष पुगेर आफ्नो योग्यता र क्षमताको परिचय दि“दै सम्भावित निकास दिन सकेनन् । पढेका कुरा कल्पन्थे, परीक्षामा उत्कृष्टता प्रदर्शन गरेका विगत सम्झन्थे तर जीवनको वास्तविक परीक्षा हु“दै गर्दा भने ती किंकर्तव्यविमूढ थिए । हुन त ‘मैले मात्र के चिन्ता गर्नु, मरे सबै मर्ने नै हो’ भन्ने भाव पनि झल्कन्थ्यो ।

सुनामी विज्ञहरूमा त्यस्ता विषय विश्लेषण गर्ने मात्र होइन, आँकलन गर्नेसमेत विज्ञता थियो । तर, उनीहरूमा आत्मविश्वासभन्दा डर प्रगाढ भयो । वर्षौँ लगाएर हासिल गरेको विज्ञतामाथि भरोसा टुट्न थाल्यो । जहाज समुद्रको बीचमा हेलिइसकेकाले सुनामी आए सुरक्षित अवतरण गर्न सक्ने समय थिएन । त्यसैले ‘विज्ञताले विश्लेषण गर्न सक्ने भए पनि अब के काम !’ भन्ने भाव उत्पन्न भयो । बिस्तारै विज्ञहरूमा पनि ‘प्राकृतिक प्रक्रियाभन्दा माथि भगवान छन्, सुनामीजस्ता भीमकाय गतिविधि उनकै हातमा छन्, हामी त सङ्केत हेरेर थाहा पाउने सामान्य मनुवा न पर्‍यौँ’ भन्ने भाव विकास भएपछि ‘भगवानकै चाहना रहेछ भने कसले टार्ने !’ भनेर विज्ञता बन्द भयो— आफ्नो कर्म बिर्सिएर ‘पशुपतिनाथले रक्षा गरून्’ भनेजस्तै । कतै सुनामी नआउने निश्चिन्तता देखाउन पो सकिने थियो कि ? त्यसतर्फ सोचै गएन । आम यात्रुभन्दा सम्बन्धित विषयका विज्ञ भएपछि अरूसँगै ‘होमा हो’ मिलाउनुपर्ने थियो वा ‘विज्ञताका आधारमा आममानसिकताको खारेजी, खण्डन, संशोधन वा पुष्टि गर्नुपर्थ्यो’ भन्नेमा विवेक पुगेन । त्यस्तो अवस्थामा ‘जति नै दिमाग खियाए पनि यात्रुहरूमा प्रबल धारणा बसिसकेको छ, अब अप्ठ्यारो बाटो तय गर्नुभन्दा होमा हो मिलाए सबैसँग निको भइन्छ’ भन्ने विचार उत्पन्न हुँदो रहेछ सायद ।

फेरि कुरो सुनामी वा छालको मात्र होइन, जहाजकै हालत खराब हो भने त शान्त समुद्रमा पनि डुब्न के बेर ? डुब्ने नै हो भने सुनामी विज्ञ भनेर मलाई नडुबाउने होइन क्यारे । सँगै बाँच्ने सँगै मर्ने सिङ्गो समाज छ भने त्यस विरुद्ध किन बोल्ने ? समाजलाई चुनौती दिएर के फाइदा ? विज्ञता त सुनियोजित समारोहमा मात्र प्रकट हुन्छ— यथोचित सुविधा र सत्कार मिलेको बेला, कसैले ‘विज्ञ’ भनी भाउ दिएको बेला । कतै औपचारिक परीक्षण हुनुपर्ने ठाउँमा पो प्रदर्शन गर्ने कुरा हो त विज्ञता । वास्तविक जीवनमा, वास्तविक क्षणमा त त्यसको प्रयोग स्वात्तै बिर्सँदो रहेछ सायद ।

फेरि नयाँ उद्घोष भयो- फलामको कुनै जडान टुटेको हुन सक्छ ।

मिस्त्रीहरूको मनमा चिसो पस्यो । पाटपुर्जामा के–कस्ता समस्या आउ“छन् भन्ने तस्बिर झलझली आउन थाले । जडान टुटेर भएका दुर्घटनाका स्मृति ताजा भए । कहिलेकाहीँ जडान गर्नुपर्ने ठाउँमा वेल्डिङ तथा बोल्टहरू जोड्न बिर्सेका इतिहास ताजा भए । हिजोका त्यस्ता दृष्टान्त सम्झिएर ‘कतै यो जहाजमा पनि कुनै जडान जोड्न पो छुटेको थियो कि’ जस्ता शङ्का उत्पन्न भए तर के गर्ने ?

दुई जना सहयात्री मिस्त्रीले सानो स्वरमा आपसी संवाद गरे । पहिलोले एक पटक कुनाकाप्चा सबै हेर्ने प्रस्ताव राख्यो । अनि झ्वाट्ट सम्झेजस्तो गरेर अर्कोले भन्यो- “ला ! हाम्रा औजारजति पिँधको तलामा लोड गरियो । केही हातेऔजार त साथमै बोकेको भए हुने रहेछ । औजार भएको भए कस्सिनुहुन्थ्यो । अब औजार नै नभएपछि के गर्नु ? फेरि पिँधको तलामा गएर ती औजार झिक्न दिने हुन् कि होइनन् ?”

पहिलोले औजार झिक्ने अनुमतिका लागि सोध्ने प्रस्ताव गर्‍यो । दोस्रोले भने आस मारेजस्तो गर्दै भन्यो- “जडान फुस्केको रहेछ भने पहिला त पिँधमा पानी पस्न सुरुमा होला । हामी तल गएको बेला पानी छिर्न थाल्यो भने  !

पहिलोले आग्रह गर्‍यो- “मरे सबै मर्ने हो, बचाउन सके त सबैलाई बँचाउन सकिन्छ नि !” तर, दोस्रोले मर्नेमध्ये पनि पहिलो हुने जोखिम मल्नु नहुने आशय व्यक्त ग¥यो ।

यसैबीच ‘जहाजमा छिद्रबाट पानी छिर्न सुरु भएको हुन सक्ने’ नयाँ उद्घोष भयो । अनि त औजार झिकेर जडान हेर्ने मनसाय राखेको पहिलो मिस्त्रीसमेत डरले निलोकालो भयो । तोस्रोले “ती देखिस्, अब किन तल जानु” भनेपछि पहिलोले पनि घोसेमुन्टो लायो ।

अलि धेरै धनदौलत बोकेका यात्रुलाई अचाक्ली पीडा भयो । धेरै चल सम्पत्ति बोकी हिँडेकोमा पछुताउँदै ‘बरु सरसापट माग्नेलाई दिएको भए हुने रहेछ’ भन्ने लाग्न थाल्यो । उसलाई ‘त्यत्रो सम्पत्ति कसरी बँचाउने होला’ भन्ने चिन्ता प्रमुख भयो । पैसाको उपयोगले उपलब्ध विज्ञहरू परिचालन गरी सिङ्गो जहाजलाई नै खतरामुक्त बनाउन सकिन्थ्यो कि भन्नेतिर दिमाग चलेन । बरु ‘उत्रने पोसाक झ्याप पार्न सके त दौलतसँगै समुद्रमा हामफाल्न हुन्थ्यो कि’ भन्ने चिन्तन आयो ।

उसलाई ‘पैसाले कमाल गरिहाल्छ नि’ भन्ने दह्रो विश्वास थियो । उत्रने पोसाक प्राप्तिका लागि पैसा खुवाउने जमर्को गर्‍यो । ‘सबैले देखे भने विरोध गर्लान्’ भनेर गुपचुप गर्नुपर्थ्यो त्यो काम । फेरि जहाज नडुब्दै हामफाल्दा यदि जहाज डुबेन भने आफूलाई घाटा हुने चिन्ताले पिरल्यो । पहिल्यै हामफाल्दा लाछी भइने डर पनि थियो । फेरि ‘जहाज डुबे पूरै सम्पत्ति डुबिहाल्छ, केही पैसा खर्च गरे डुबेमा पनि कम क्षति हुन्छ’ भन्ने भाव आयो । त्यसमाथि ‘त्यसरी खर्च गर्दा उत्रने पोसाक सुरक्षित गर्न सकिन्छ भने दोहोरो फाइदा हुने’ निष्कर्ष निस्कियो । अनि जहाजका कर्मचारीलाई अनधिकृत पैसा दिएरै भए पनि उत्रने ज्याकेट सुरक्षित गर्‍यो । ‘जहाज नडुबेसम्म स“गै यात्रा गर्ने, डुब्ने नै भएछ भने हामफाल्ने’ बाठो योजना बनेको थियो उसमा ।

प्राध्यापक र प्रशिक्षकहरुले पनि आ–आफ्ना सिद्धान्तका कुरा सम्झेर चित्त बुझाए । ‘हामी पहिला मानव, अनि मात्र पेसाकर्मी’ भन्ने सिद्धान्तको आत्मव्याख्यामा टोलाए । आमयात्रुले जस्तै धड्कन बढाउने, मन अमिलो पार्ने, निलोकालो हुने, कोकोहोलो गर्ने आदि क्रियाकलापमा अभ्यस्त हुनुलाई तत्क्षणको उपयुक्त भूमिका सम्झिए । पढाउन त वातावरण हुनुपर्‍यो, विदेशमा जस्तो उपयुक्त कक्षाकोठा हुनुपर्‍यो, प्रयोगशाला हुनुपर्‍यो । जहाजको हल्लिरहने सतहमा पनि कहीँ शिक्षण हुन्थ्यो ? फेरि पढाउन मेहनत गरिएला, फ्याट्ट पढाइ सकिने बेलातिरै जहाज डुब्यो भने । पढे पनि डुब्ने, नपढे पनि डुब्ने नै हो, किन पढाउन मेहनत गर्ने ? बाँडेको ज्ञान उपयोग हुन सक्ने भविष्य नै नदेखिएपछि पढाउने जोस, जाँगर पनि सकियो ।

यसरी हातमा सीप हुनेहरूले लत्तो छोडे, औजार हुनेहरू थन्क्याएर बसे, ज्ञान हुनेहरू दिमाग बन्द गरेर बसे भने विज्ञ र जानकारहरूले साधारण यात्रुहरूकै देखासिकी गरे । आफ्नो ज्ञान, योग्यता र क्षमताभन्दा पनि हल्लाको पछि लागे । उद्घोष आउनासाथ आ–आफ्नो हंसलाई ठाउँ छोडाउन केन्द्रित भए । तर, अन्त्यमा थाहा भयो, सो यात्रा अनुभव त मनोवैज्ञानिक परीक्षणका लागि पो भएको रहेछ ।

यस्तै डुब्दो जहाजको भाष्य देखा पर्छ नेपाली समाजमा । आफूमा भएको अपरिमित क्षमता सङ्कुचित गरेर हामी हल्ला, भ्रमको पछि लाग्छौँ । नेपाल डुब्दै छ भन्ने भाष्य खूब जोडतोडसँग ग्रहण गर्छौँ । ग्रहण मात्र किन, जोडतोडले प्रचार गर्छौँ । देश कसैले निल्दै छ भन्ने कथ्य पनि निर्माण गर्छौँ । ‘देशमा भइरहेका गतिविधि अर्कैले गोटी चालेको’ ठोकुवा गर्छौँ । नेपाल बनेन मात्र होइन, ‘बन्नै सक्तैन’ भन्ने निष्कर्ष पाल्न हामीलाई रुचि हुन्छ । अझ कतै, केही नराम्रो भइहाले ‘ती, मैले भनेको होइन ? बल्ल देख्यौ’ भन्ने दाबी गर्दै आफूलाई असफलताको सफल भविष्यवेत्ता बनाउन हामीलाई रुचि छ ।

पहिलो त ‘नेपाल कसैले निल्दै छ’ भन्नु नै भ्रम हो । दोस्रो, नेपाल केही गरी निलिन्छ भने त्यसका लागि सर्वप्रथम वीर नेपालीको आत्मविश्वास निलिनुपर्छ । हामीलाई आफ्नो आत्मविश्वास पहिल्यै निलाउन पाए हुन्थ्यो भन्ने लाग्छ भने मात्र उक्त विषय उठान गर्न मिल्छ । अन्यथा यस्तो विषय उठान गर्नै हुन्न ।

काम सुरु गर्दा सफल वा असफल हुने दुवै सम्भावना रहन्छ । जाँच दिँदा पास वा फेल भइन्छ नै । पास हुने प्रयास सबैको हुन्छ तर ४० जना मागेको प्रवेश परीक्षामा २,००० जना सहभागी भए १,९६० जना फेल नै हुने हो- उत्तीर्ण हुने २ प्रतिशत, ९८ प्रतिशत असफल । के ती ९८ प्रतिशत फेलै हुन परीक्षा दिन्छन् ? तर, कोही कोहीलाई यस्तो सर्वज्ञ हुनुपर्छ कि नतिजा प्रकाशन भएपछि फ्याट्ट भन्छ- “मैले त पास हुन्नस् भनेकै थिएँ, ती देखिस् !”

अरूले काम गर्दा पनि पहिले हतोत्साही बनाउने र पछि पनि उल्टो अपराधबोध गराउन खोज्ने आमप्रवृत्ति छ । डुब्दो जहाजको भाष्य निर्माण गरिसकेपछि यस्तो प्रवृत्ति फैलाउन धेरैले साथ दिँदा रहेछन् । भाष्यको सत्यताबारे विश्लेषण गर्ने आवश्यकतै देख्ता रहेनछन् । देश बनाउन खोज्नेलाई ‘देश डुब्दै छ’ भन्ने, जा“च दिन खोज्नेलाई ‘तँ त फेल हुन्छस्’ भन्ने, नयाँ व्यवसाय गर्न खोज्नेलाई ‘असफल हुन्छस्’ भनेर हतोत्साहित गर्ने हाम्रो सामाजिक चरित्र बनेको छ । जहाज डुब्दै छ भन्ने भाष्य निर्माण भएपछि सबैको हंसले ठाउँ छोड्छ, कर्तव्य गर्न सक्नेहरू किंकर्तव्यविमूढ हुन्छन् । हाम्रो समाज ऊर्जावान् युवाहरूलाई यो भाष्यमा चुर्लुम डुबाउन लागिपरेको महसुस हुन्छ । त्यसैले अबको पुस्ताले यो भाष्य चिर्नुपरेको छ ।

डा. विष्णुप्रसाद गौतमद्वारा लिखित तथा सिमल बुक पब्लिकेशनबाट प्रकाशित गैरआख्यान पुस्तक ‘विवेकको फिल्टर’ असार ३ गते बिहीबार लोकार्पण हुँदै छ ।

  • प्रकाशित मिति : साउन १, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया