logo-img

फोहोरमैला व्यवस्थापन र नदी प्रदूषण नियन्त्रणमा सहयोग गर्न भारत तयार

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् । आज सिंहदरबारस्थित मन्त्री सिंहको कार्यकक्षमा उक्त भेट भएको हो । 

भेटमा उनीहरुबीच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको थियो । राजदूत श्रीवास्तवले मन्त्री सिंहलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सहयोग अभिवृद्धिका निम्ति भारत सरकार तयार रहेको मन्त्रालयका सचिव मणिराम गेलालले जानकारी दिएका छन् । 

उनले भने, ‘आजको भेट सहरी विकासमन्त्रीको सफल कार्यकालको लागि शुभकामनाको लागि थियो । भारत सरकारले नेपालको सहरी विकासमा के कस्तो सहयोग गर्न सक्ने सम्भावना छ । हामी सहयोग गर्न तयार छौँ भन्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।’ 

उनले सिंह र राजदूत श्रीवास्तवबीच सहरी विकास, नदी प्रदूषण नियन्त्रण र फोहरमैला व्यवस्थापनमा भारतले गर्न सक्ने सहयोग बारेमा पनि छलफल भएको बताए । 

उनले भने, ‘भारतले नेपाललाई सहयोग गर्न सक्ने राम्रो क्षेत्र भनेको फोहोरमैला व्यवस्थापन, नदीनालाहरुको प्रदूषणको नियन्त्रणलगायतका काममा सहकार्य गर्न सक्छौँ भन्ने कुरा उहाँले राख्नुभएको छ ।’

यस्तै, छलफलमा भारतीय राजदूतावासबाट २० करोडसम्मको लागतको साना साना पूर्वाधारको निर्माण कार्य देशभर गर्नको लागि सहयोग गर्ने कुरा पनि भएको बताए ।
 
उनले भने, ‘भारतीय सहयोगमा पुनःनिर्माणका केही काम भइरहेका छन् । त्यो बारेमा सामान्य समीक्षा भएको छ । भारतीय राजदूतावासबाट २० करोडसम्मको लागतको साना साना पूर्वाधारका काम गर्नलाई सहयोग प्राप्त हुन्छ । देशभर नै यो कार्यक्रम लागू गर्न सकिन्छ । त्यसको लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट नयाँ कार्यविधि पनि पास भएको छ ।’ 
 





  • प्रकाशित मिति : साउन १, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया