logo-img

प्रचण्ड रणनीति : सरकारबाट बाहिरिएपछि समाजवादी मोर्चा सक्रिय बनाउँदै

सरकारबाट हठात् बाहिरिनुपरेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल समाजवादी मोर्चालाई सक्रिय बनाउने रणनीतिमा जुटेका छन् । संसदका दुई ठूला दल कांग्रेस र एमालेले गत असार १७ मा नयाँ सत्तासमीकरणको सहमति गरेसँगै  प्रचण्डको ध्यान समाजवादी मोर्चातर्फ मोडिएको थियो । 

असार २८ मा संसदबाट विश्वासको मत लिनुअघि नै उनले २६ असारमा बालुवाटारमा समाजवादी मोर्चाको पुनर्गठनका लागि बैठक बोलाएका थिए । उक्त बैठकमा समाजवादी मोर्चाको पुनर्गठनका विषयमा छलफल भएको थियाे ।  

असार २६ को बैठकमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव सहभागी थिए। 

उक्त मोर्चाबाट उपेन्द्र यादव बाहिरिइसकेको छ । सत्ता परिवर्तनसँगै उक्त मोर्चामा महिन्द्र राय यादव नेतृत्वको नेसपा मिसिएको छ । सो पार्टी बाबुराम भट्टराई नेतृत्वको नेसपाबाट केही महिनाअघि विभाजित भएको थियो ।  

समाजवादी मोर्चामा पहिले माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी नेपाल र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी आबद्ध थिए । प्रचण्डकै षड्यन्त्रका कारण आफ्नो पार्टी विभाजन भएको भन्दै जसपा नेपाल उक्त मोर्चाबाट बाहिरिएको थियो । 

विप्लवसँगको भेटका क्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले 'अब मोर्चाको औचित्य समाप्त भइसकेको' बताएका थिए । उक्त दलबाट विभाजन भएको जसपा पनि प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएर नयाँ गठबन्धनलाई समर्थन गरिसकेको छ । 



मंगलबार फेरि उक्त मोर्चाको बैठक सुरु भएको छ । दाहाल प्रधानमन्त्रीबाट हटेपछि यो नै मोर्चाको पहिलो बैठक हो । । बैठक नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा सुरु भएको हो ।

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफलको साथै मोर्चाको आगामी रणनीति तय गरिने बताइएको छ । 



  • प्रकाशित मिति : साउन १, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया