logo-img

सवारी दुर्घटनामा परी झापामा एक वर्षमा ८७ जनाको मृत्यु

जिल्लामा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी ८७ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्षको साउनदेखि गत असरासम्म पाँच सय ९३ सवारी दुर्घटना परी उक्त संख्यामा मानवीय क्षति भएको हो । 

सवारी दुर्घटनामा मुत्यु हुनेमा ७० पुरुष, १० महिला र सात बालबालिका रहेका जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद गौतमले जानकारी दिए । सडक दुर्घटनामा परी एक सय ६४ गम्भीर र आठ सय तीनजना सामान्य घाइते भएका छन् । सबैभन्दा धेरै पाँच सय ५१ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् । 

प्रहरी नायब निरीक्षक गौतमका अनुसार ३७ ट्रक, ३५ बस, ८८ जिप/कार, ३१ ट्र्याक्टर र ६० टेम्पो दुर्घटनामा परेका छन् । वर्ष आव २०७९/८० को भन्दा गत आवमा २६ दशमलव २७ प्रतिशतले सडक दुर्घटनामा कमी आएको जिल्लास्थित ट्राफिक कार्यालयले जनाएको छ । 
    
आव २०७९/८० मा आठ सय चार सडक दुर्घटनामा परी एक सय १४ जनाले ज्यान गुमाएका थिए । ट्राफिकसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम र ट्राफिक प्रहरीको सक्रियताले सडक दुर्घटना कम भएको प्रहरी नायब निरीक्षक गौतमले बताए । 

सवारी कारबाही 

जिल्लामा गत आव २०८०/८१ मा ५७ हजार चार सय ५६ सवारीसाधन कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायब निरीक्षक गौतमका अनुसार गत वर्ष सवारीसाधन कारबाहीबाट तीन करोड ८६ लाख ८२ हजार छ सय ४१ राजस्व संकलन भएको छ । 

संघीय सरकारले निर्धारण गरेअनुसार पहिलोपटक कारबाहीमा पर्नेलाई पाँच सय, दोस्रोपटक एक हजार र तेस्रोपटक एक हजार पाँच सय जरिवाना लिने गरिएको प्रहरी नायब निरीक्षक गौतमले बताए । उनले भने, 'अहिले सवारीसाधन र चालक अनुमतिपत्रका आधारमा कसुरको प्रकृति हेरी कारबाही गर्छौं । एउटै चालक अनुमतिपत्र र सवारीसाधनले अर्कोपटक गल्ती गरे जरिवाना बढ्दै जान्छ ।' 



गतवर्ष सबैभन्दा धेरै १६ हजार छ सय ७६ मोटरसाइकल कारबाहीबाट एक करोड सात लाख ३१ हजार एक सय ४१ राजस्व संकलन गरिएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । त्यस्तै, १८ हजार छ सय ५७ कार तथा जिपलाई कारबाही गर्दा एक करोड सात लाख २७ हजार राजस्व संकलन भएको थियो । 

जिल्लामा दुर्घटना हुनुको प्रमुख कारण मादकपदार्थ सेवन (मापसे) गरेर सवारीसाधन चलाउन रहेको नायब प्रहरी निरीक्षक गौतमले बताए । गतवर्ष मापसे गरेर सवारीसाधन चलाउने दुई हजार ६४ सवारीसाधनलाई करबाही गरिएको थियो । 



सवारी दुर्घटनामा परी मृत्यु हुनेमा अधिकांशले मापसे गरेका व्यक्ति पाइएको प्रहरी नायब निरीक्षक गौतमले जानकारी दिए । यसैगरी तीव्र गति, चालकको लापरबाहीलगायत कारण रहेका उनले बताए । 

  • प्रकाशित मिति : साउन २, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया