logo-img

सुमनाका एजेण्डा उल्ट्याउने शिक्षामन्त्रीको संकेत, आफ्नै योजना बनाएर अगाडि बढ्ने

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले निवर्तमान शिक्षामन्त्री सुमना श्रेष्ठका सबै एजेण्डा नबोक्ने बताएकी छिन् । बुधबार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । 

अघिल्ला मन्त्रीको सबै निर्णयले निरन्तरता नपाउने उल्लेख गर्दै शिक्षामन्त्रीले भनिन्, ‘म अविच्छिन्न उत्तराधिकार भएको कारणले निर्णयहरु जुन ऐन कानुनसम्मत छन् तिनलाई म पालना गरेर अगाडि बढ्नेछु ।’ एजेण्डाका रुपमा आएका कतिपय कुराहरु मन्त्रीअनुसार फरक हुन सक्ने भन्दै उनले यसबारे फेरि सरसल्लाह गरेर काम गर्ने बताइन् । 

निवर्तमान मन्त्री श्रेष्ठ पनि उक्त समितिकी सदस्य हुन् । बुधबारको बैठकमा उपस्थित भए पनि उनी केही नबोली निस्किइन् । यसअघिका बैठकमा वर्तमान शिक्षामन्त्रीले निवर्तमान मन्त्री श्रेष्ठलाई मन्त्रीले एउटा दलको एजेण्डा बोकेर हिँड्न नमिल्ने सुझाब दिने गरेकी थिइन् ।

बुधबारको बैठकमा मन्त्री भट्टराईले शिक्षकको दलीय आबद्धता, शिक्षक सरुवा मापदण्डलगायत सुमनाले ल्याएका एजेण्डा उल्ट्याउने संकेत गरेकी छिन् । ती एजेण्डा लागू नै नगर्ने वा गर्नैपरे पनि संशोधनसहित लागू गर्ने योजनामा नयाँ शिक्षामन्त्री रहेको बताइन्छ । 

कसैको एजेण्डामा भन्दा आफ्नै योजना बनाएर अगाडि बढ्न खोजेको मन्त्री भट्टराईले बताइन् । नतिजामुखी काम गर्ने प्रतिबद्धता जनाइन् । अनिवार्य र निःशुल्क शिक्षा ऐन कार्यान्वयनको खाका एक महिनाभित्र बनाउने योजना सुनाउँदै उनले शिक्षण प्रणाली र परीक्षाको मूल्यांकन प्रणालीमा पनि पुनरावलोकन गर्ने बताइन् । 
 





  • प्रकाशित मिति : साउन २, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया