logo-img

विदेशको सीप स्वदेशमा लगानी, कृषिबाटै लोभलाग्दो आम्दानी

भोजपुरका केही युवाले व्यावसायिक रूपमा पशुपालन गरेर लोभलाग्दो आम्दानी गर्दै आएका छन् । पौवादुङमा गाउँपालिका–६ ठुलोदुम्मा छिदुवाका २७ वर्षीय युवा सुगम राई ती युवामध्येका एक हुन् । उनी व्यावसायिक बङ्गुर पालन र फलफूलखेतीमा जुटेका छन् । 

उद्यमी राईले सेन्मायुङ कृषि तथा पशुपालन फार्म दर्ता गरेर व्यावसायिक बङ्गुर पालन, कागती, एभोकाडो, आँप, अनार, लिचीलगायत खेती गर्दै आएका छन् ।

बङ्गुर फार्मबाट उत्पादन हुने मलको सदुपयोग गर्ने लक्ष्यले बङ्गुर पालनसँगै फलफूल खेती गरिरहेको उनले बताए । व्यवसायी राईको फार्ममा अहिले ४१ वटा बङ्गुर छन् । 

भविष्यमा बङ्गुर पालन तथा फलफूल खेतीबाट वार्षिक ५० देखि ६० लाख रुपैयाँसम्म कारोबार गर्ने लक्ष्यका साथ थप विस्तारमा जुटेको उनले बताए  । विदेशमा सात वर्ष बिताएका राईले त्यहाँ सिकेको सीपलाई सदुपयोग गर्दै व्यावसायिक कृषिमा जुटेको बताए । उनले भने, ‘वार्षिक १२ देखि १५ लाखसम्म कारोबार हुन्छ । त्यसबाट खर्च कटाउँदा वार्षिक आठदेखि १० लाखसम्म आम्दानी हुन्छ ।’

स्वदेशमा व्यावसायिक रूपमा काम गर्न सके अर्काको देशमा गएर पसिना बगाउनु नपर्ने उनी बताउँछन् ।  आफ्नो फार्ममा उत्पादन भएका बङ्गुर खरिद गर्न ठेकेदार घरमा  आउने उनले बताए  । फार्ममा स्थानीय जातसँगै उन्नत जातका हेमसार, धराने कालो बङ्गुरलगायत पालन गरिरहेको उनले बताए । फार्ममा एक सय २० केजीदेखि एक सय ५० केजीसम्मको बङ्गुर छन् ।  
‘बङ्गुर बिक्रीको कुनै समस्या छैन’, उनी भन्छन्, ‘धरान, विराटनगरबाट ठेकेदार नै आउँछन् ।  मागलाई धान्न धौ धौ छ । यो व्यवसायलाई अझ विस्तार गर्ने लक्ष्यका साथ काम गरिरहेको छु ।’

कृषि कर्ममा मेहनत गरेर लाग्न सके जीवन गुजारा गर्न समस्या नरहेको व्यवसायी राईले बताए । उनलाई व्यवसायमा घरपरिवारले सहयोग गर्दै आएका छन् । व्यावसायिक कृषि कर्ममा लाग्ने किसानलाई राज्यले पनि आवश्यक सहयोग गर्नुपर्ने उनको धारणा छ । बङ्गुर पालन, फलफूल तथा तरकारी खेतीमा आफूले जानेको सीप अन्य किसानलाई सिकाउँदै आएको व्यवसायी राई बताउँछन् ।  





  • प्रकाशित मिति : साउन ३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया