logo-img

बधाई थाप्नमै दिन बिताउँदै मन्त्री, कार्यकक्षमा खादा मालासहित शुभेच्छुक खचाखच

यति बेला देशका दुई ठूला दलको नेतृत्वमा सरकार छ । बिहीबार चौथो दिन मन्त्रीहरूका कार्यकक्षमा भिडभाड देखिन्छ । काम लिएर आउनेभन्दा पनि खादा, माला र पुष्प गुच्छा लिएर आउने शुभेच्छुकहरूको भीड मन्त्रीहरूको कार्यकक्षमा खचाखच देखिन्छ ।

यही भीडमाझ समय मिलाएर मन्त्रीहरू आफ्ना मातहतका कर्मचारीहरूसँग छलफलमा छन् तर काम गर्न सुरु गरेका छैनन् । उनीहरूलाई अझै केही दिन मन्त्रालयका दैनिक कामकारबाही र योजनाहरूबारे बुझ्नै लाग्नेछ ।

विशेष गरी कांग्रेस–एमालेका कार्यकर्ता एवम् नेताहरू आफ्नो पार्टीबाट नियुक्त भएका मन्त्रीहरूलाई बधाई दिनका लागि सिंहदरबार पुगिरहेका छन् । सहजै पुग्न सकिने सिंहदरबार बाहिर रहेको स्वास्थ्य मन्त्रालयमा सबैभन्दा बढी भीड देखिन्छ । 

कार्यकक्षमा शुभेच्छुकहरूको चाप बढेपछि मन्त्रीले भेट्ने समय निर्धारण गर्न थालेका छन् । हुन त पद बहाली गरेको भोलिपल्टदेखि नै प्रधानमन्त्रीदेखि मन्त्रीहरूसम्मको कार्य दिन सुरु भएको मानिन्छ । तर अवस्था त्यस्तो छैन ।

‘तुलनात्मक रूपमा कांग्रेस–एमालेका कार्यकर्ताको संख्या धेरै रहेकाले पनि भीड बढेको हुनसक्छ । तर मन्त्रीहरूले भेटघाटको समय निर्धारण गर्न थाल्नुभएको रहेछ । तर अब मन्त्रीहरूले आफ्नो काम सुरु गर्नुपर्छ । बधाई मात्र होइन, उत्कृष्ट काम गरेर पछि धन्यावादको माला लगाए राम्रो हुन्छ,’ सहरी विकास मन्त्रालयमा भेटिएका टंक पुरीले भने । 

मन्त्रालयमा भीड एकातिर रहे पनि मन्त्रीहरूले आफ्नो काम पनि सुरु गरेको पाइयो । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बुधवार मन्त्रालयका सचिवसहित विभिन्न महाशाखाका प्रमुखहरूसँगको ब्रीफिङ्सहितको भेटघाटको आयोजना गरेका थिए ।



पौडेलले समस्या देखाउने भन्दा पनि समाधानको काम गर्ने आफ्नो योजना भएकाले जुनसुकै समस्याको समाधानका लागि पाँच दिनभित्र स्पष्ट योजना सहितको खाका तयार गर्न निर्देशन दिएका छन् । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले भने आम नागरिकको हक हितका लागि काम गर्ने प्रतिविद्धतासहित कर्मचारीहरूसँग छलफलमै रहेको भेटिए । संचारमन्त्री पृथ्वी सुब्बा गुरुङले पनि बुधबार विज्ञापन बोर्ड साथै मातहतका कर्मचारीहरूसँग छलफलको आयोजना गरेका थिए ।



बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुको ज्ञापन पत्र बुझे र निजी क्षेत्रको मनोबल बढ्ने र लगानी प्रोत्साहन हुने गरी सरकारले नीतिहरू अवलम्बन गर्ने बचन दिए ।

चाँडो चाँडो परिवर्तन भइरहने मन्त्रीहरूका कारण कर्मचारीहरूको मनोबल बढेको देखिँदैन भने मन्त्रीहरूलाई आफ्ना स्वार्थ पुरा गर्ने व्यक्तिहरूको भीडका कारण कामहरू प्रभावकारी हुन नसकेको गुनासो सुन्ने गरिन्छ । तर सिंहदरबारमा पहुँच नभएका सर्वसाधारणहरूका पक्षमा काम गर्न मन्त्रीहरूलाई दबाब बढेको छ ।  

  • प्रकाशित मिति : साउन ३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया