logo-img

‘जागिरको प्रलोभनमा कुवेत पुर्‍याइयो, बन्धक बनाई यौन शोषण गरियो’
सांकेतिक तस्बिर

नेपाल प्रहरीले भिजिट भिसामा एक जना पीडितलाई कुवेत पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा मोरङको रङ्गेली नगरपालिका–३ का ५७ वर्षीय कृष्ण अधिकारी भन्ने झयन्द्रकुमार अधिकारी रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । 

उनले भने, ‘बेचबिखन गरेको भन्ने पीडितको उजुरीका आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले बुधबार ललितपुर महानगरपालिका–२४ बाट निजलाई पक्राउ गरेको हो ।’

अधिकारीले पीडितलाई दुबईको कम्पनीमा मासिक तलब ४० हजार रुपैयाँसम्म हुने काममा लगाइदिने प्रलोभन देखाई दुई लाख रुपैयाँ नगद लिई दुबईमा अर्का अभियुक्तले भेट गरी आफू बस्ने कोठामा लगी बन्धक बनाई घरेलु काममा लगाई यौन शोषण गरी जबरजस्ती गर्भपतनसमेत गराएको पीडितको आरोप छ ।

यसै गरी, युएईमा भन्दा कुवेतमा राम्रो तलब हुन्छ भनेर विसं २०८० वैशाख २८ गते दुबईबाट कुवेत पुर्‍याई सो एजेन्टले अर्कोलाई जिम्मा लगाएको र उनले पीडितलाई बन्धक बनाई श्रम र यौन शोषणसमेत गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रवक्ता कार्कीले बताए । 

पीडितले नेपाल फर्काइदिन अनुरोध गर्दा छ लाख ७५ हजार रुपैयाँ रकम बुझाउन भनेपछि आफन्तमार्फत उक्त रकम बुझाई विसं २०८० मंसिर ३ गते नेपाल फर्कन सफल भएका प्रहरीले जनाएको छ । 



पक्राउ परेका अधिकारीमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान सुरु गरिएको प्रवक्ता कार्कीले जानकारी दिए । 



  • प्रकाशित मिति : साउन ३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया