logo-img

आइएसएमटी कलेज : विद्यार्थीको भविष्यमाथि जहिल्यै खेलबाड
आफ्नै विद्यार्थीलाई बारम्बार सताएर ‘कमाउ धन्दा’मा मग्न

इन्टरनेसनल स्कुल अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी (आइएसएमटी) कलेजले आफ्ना विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र नदिएर अनावश्यक दुःख दिने गरेको पाइएको छ । काठमाडौं, पोखरा, चितवन, विराटनगर र बुटवलमा गरी पाँचवटा शाखा कलेज सञ्चालन गरेको आइएसएमटी कलेजले पहिले विद्यार्थी भर्ना गराउँदा विभिन्न प्रलोभनमा पार्ने र पछि विद्यार्थीले अध्ययन पूरा गरिसकेपछि शैक्षिक प्रमाणपत्र नदिएर विद्यार्थीलाई उल्झनमा राख्ने गरेको पाइएको हो ।

कानुनी मापदण्डअनुसार कलेजका शाखा कार्यालय सञ्चालन गर्न पाइँदैन । तर, यस कलेजका सञ्चालकले कानुनी छिद्रलाई दुरुपयोग गरेर देशका पाँचवटा मुख्य सहरहरूमा शाखा विस्तार गरेका छन् । आइएसएमटी कलेजकाे एक शाखाले एक वर्षसम्म पनि विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र उपलब्ध गराएको छैन । अध्ययन सकिएको १० महिना बितिसक्दा पनि विद्यार्थीले प्रमाणपत्र माग्दा विभिन्न बहाना बनाएर उल्झनमा पार्ने तथा डरधम्की देखाउने गरेको विद्यार्थीहरू बताउँछन् ।

नाम उल्लेख नगर्ने सर्तमा आइएसएमटी कलेजका ती विद्यार्थीहरूले कलेजले शैक्षिक प्रमाणपत्र नदिएको गुनासो गरे । उनीहरू उक्त कलेजमा ‘बिएससी आइटी’ कार्यक्रम अध्ययन गर्न सन् २०२१ मा आइएसएमटीमा भर्ना भएका थिए । तीनवर्षे उक्त कोर्सको अध्ययन २०२३ मा पूरा भए पनि कलेजले शैक्षिक प्रमाणपत्र उपलब्ध गराएको छैन ।

परीक्षा सम्पन्न भएको करिब १० महिना बित्दा पनि कलेजले प्रमाणपत्र दिनुको सट्टा आफूहरूलाई डरधम्की दिने गरेको विद्यार्थीहरूको गुनासो छ । कलेजले शैक्षिक प्रमाणपत्र नदिँदा अध्ययनलाई अघि बढाउन समस्या पर्नुका साथै विभिन्न अवसरसमेत गुमाउनुपरेको गुनासो विद्यार्थीले गरेका छन् ।

पीडितमध्येका एक विद्यार्थीले फरकधारसँग भने, ‘परीक्षा सकिएको १० महिना भयो । प्रमाणपत्र माग्दा कलेजले दिँदैन । तनाव भइरहेको छ । अति भएपछि, तपाईंसँग कुरा गरेका हौँ ।’ प्रमाणपत्र नपाएपछि विद्यार्थीहरू कलेजविरुद्ध जिल्ला प्रशासन कार्यालय जाने तयारीसमेत गरेका थिए । तर त्यसबेला कलेजले विभिन्न आश्वासन दिएर कलेजविरुद्ध उजुरी गर्न नदिएको विद्यार्थीहरू बताउँछन् ।

पीडितमध्येका एक विद्यार्थीले फरकधारसँग भने, ‘हामीलाई कलेजले नराम्रोसँग झुक्यायो, तीनवर्षे ब्याचलर भनेर दुई वर्षे डिप्लोमा पढाउने रहेछ । हामीले पढेको कार्यक्रम ब्याचलर नभई डिप्लाेमा लिडिङ्स टु ब्याचलर रहेछ । त्यही पनि अध्ययन पूरा गरेको एक वर्ष पुग्न लाग्दा पनि प्रमाणपत्र दिएको छैन । कलेजमा यस्ता खालका धेरै समस्या भएपछि पीडित विद्यार्थीहरू मिलेर एउटा समिति नै बनाएका थियौँ ।’



आइएसएमटीले अध्ययन पूरा गरेका विद्यार्थीलाई प्रमाणपत्र दिनुको सट्टा मानसिक तनाव दिइरहेको उनको गुनासो छ । ‘यसरी विद्यार्थीको भविष्यसँग खेल्ने छुट कुनै पनि शैक्षिक संस्थालाई हुन्छ ? उनले प्रश्न गरे, ‘सरोकारवाला निकायले चासो राख्नुपर्ने विषय होइन ?’

आइएसएमटी कलेज काठमाडौंले पनि केही समयअघि विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र नदिएर हैरानी दिएको थियो । विजय श्रेष्ठ (नाम परिवर्तन)ले सन् २०१८ मा आइएसएमटी कलेज काठमाडौंबाट ‘कम्प्युटिङ एण्ड सिस्टम डेभ्लोमेन्ट’ (क्युसिएफ) कोर्सको अध्ययन पूरा गरेका थिए ।



आइएसएमटी काठमाडौंबाट स्नातक तहको अध्ययन पूरा गरेका उनले त्यसपछिको उच्च शिक्षा विदेशबाट पूरा गर्ने योजना बनाएका थिए । तर, उनलाई कलेजबाट अध्ययन पूरा गरेको प्रमाणपत्र लिन ‘बाघको मुखबाट मासु छिन्नु’जस्तै भयो । धेरै प्रयासपछि प्रमाणपत्रको फोटोकपी पाएका उनले त्यसैका आधारमा काठमाडौंको एक कन्सल्टेन्सीबाट अष्ट्रेलिया जानका लागि तयारी गरेका थिए । उनलाई त्यसबेला कलेजबाट शैक्षिक प्रमाणपत्रको फोटोकपी लिन पनि कन्सल्टेन्सीको सहारा लिनुपरेको थियो ।

उनलाई कलेजले प्रमाणपत्र दिन नमान्नुको एउटै कारण थियो– कलेजका सञ्चालकले आफैँले चलाएको कन्सल्टेन्सीमार्फत विदेश जानुपर्ने सर्त ।

आइएसएमटी कलेज र अमेरिकन एजुकेसन कन्सल्टेन्सीका सञ्चालक एकै व्यक्ति हुन् । त्यसकारण पनि विद्यार्थी सकेसम्म आफ्नै कन्सल्टेन्सीबाट विदेश पठाउने उद्देश्य कलेज सञ्चालकको हुन्छ । विजयसँग भएको पनि त्यही थियो । उनले अर्कै कन्सल्टेन्सीबाट विदेश जाने तयारी गरेपछि कलेजले उनको प्रमाणपत्र रोकिदिएको थियो ।

अष्ट्रेलियाको भिसा आउँदासमेत कलेजले प्रमाणपत्र दिन नमानेपछि प्रहरी प्रशासनको सहयोग लिने बताएपछि मात्र कलेजले प्रमाणपत्र उपलब्ध गराएको उनले बताए ।

विवादको अर्काे नाम आइएसएमटी

विदेशी सम्बन्धन लिएर चलेको कुनै विवादित कलेज छ भने त्यो हो आइएसएमटी कलेज । स्थापनाकालदेखि नै बेथितियुक्त काम गर्दै आएको यस कलेजले कहिले हर्टफोर्डसायर विश्वविद्यालयबाट सम्बन्धन लिएको भन्दै विद्यार्थीलाई झुक्यानमा पार्ने गरेको छ त कहिले स्नातक तहको कार्यक्रम भन्दै डिप्लोमा कार्यक्रम पठाएर विद्यार्थीको भविष्यसँग खेलबाड गर्ने काम गरेको छ ।

अहिले बेलायतको सन्डरल्यान्ड विश्वविद्यालयबाट सम्बन्धन लिएको यो कलेजले यसअघि युनिभर्भिटी अफ हर्टफोर्डसायरबाट सम्बन्धन लिएको भन्दै विद्यार्थीलाई भ्रममा राखेर अध्यापन सुरु गराएको तथ्य फरकधारले नै सार्वजनिक गरेको थियो ।

अहिले पनि कलेज सञ्चालकले युनिभर्भिटी अफ हर्टफोर्डसायर, आइएसएमटी कलेज उल्लेख गरिएको आफ्नो तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राखेका छन् । यसले पनि के पुष्टि गर्छ भने यसअघि कलेजले हर्टफोर्डसायरको नाम राखेर कलेजले विद्यार्थीलाई झुक्याउने गरेको थियो ।

फरकधारले उक्त तथ्य बाहिर ल्याएपछि विद्यार्थीले कलेजसँग हर्टफोर्डसायरको सम्बन्धनपत्र मागेका थिए । उक्त समयमा कलेज प्रशासनले विद्यार्थीलाई सम्बन्धनपत्र दिन नसकेको समाचार पनि फरकधारमा प्रकाशित भएको छ । यस्तै, अनुमति नै नलिएको एमबिए कार्यक्रममा विद्यार्थी भर्ना गर्न थालेकोलगायत विभिन्न विवादित काम गरेको छवि यो कलेजले बनाउँदै आएको छ ।

  • प्रकाशित मिति : साउन ३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया