logo-img

उपसभामुख रानाको स्पष्टीकरण : पदको गरिमामा आँच आउने काम गरेको छैन

पाँचजना व्यक्तिलाई अमेरिका लैजाने प्रयास गरेपछि विवादमा तानिएकी प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले पदीय गरिमामा आँच आउने काम नगरेको स्पष्टीकरण दिएकी छन् ।

सञ्चारमाध्यममा तथ्यहीन समाचार प्रकाशन भएको दाबी गर्दै उपसभामुख रानाले शुक्रबार विज्ञप्ति जारी गर्दै आफूले पदीय गरिमामा आँच आउने कुनै काम नगरेको दाबी गरेकी हुन् ।

उनले गत वर्ष अमेरिकामा आयोजित ‘कमिसन अन द स्टाटस अफ वुमन’को ६७ औँ सत्रमा भाग लिन जानेक्रममा एक महिलासहित पाँच जनालाई अमेरिका लैजाने प्रयास गरेकी थिइन् । उनले ती पाँच जनाको अन्तर्वार्ताको समय अघि सारिदिन भन्दै अमेरिकी दूतावासलाई पत्र लेखेको तथ्य बाहिरिएपछि उनले प्रेस विज्ञप्ति जारी गर्दै त्यसबारेमा स्पष्ट पारेकी हुन् । 

उपसभामुख रानाले विज्ञप्तिमा आफूसहित अन्य सहभागीलाई आएको निमन्त्रणा स्वीकार गरी अमेरिका जानेक्रममा यात्रा गर्नुपर्ने समयावधि अन्य ठाउँ छोटो रहेको तर दूतावासमा अन्तर्वार्ताको मिति लिन लामो समय कुर्नुपर्ने अवस्था रहेकाले आफूसँगै उक्त कार्यक्रममा सहभागी हुन जान निमन्त्रणा आएका व्यक्ति आफ्ना लागि समेत सहयोगी भइदिने हुनाले दूतावासलाई आग्रह गरेको उल्लेख गरेकी छन् ।  

उनले विज्ञप्तिमा सार्वजनिक भएका तथ्यलाई खण्डन गर्नुको सट्टा भावनात्मक कुरा गर्न खोजेकी छन् । उपसभामुख रानाले आफूले गरेका काम र प्राप्त गरेका सम्मानलाई समेत जोडेर सद्भावना बटुल्ने गरेकी छन् । उनले विज्ञप्तिमा आफूले पाँच जनालाई अन्तर्वार्ताका लागि सिफारिस गरेको पनि स्वीकार गरेकी छन् ।



उपसभामुख रानाले अमेरिकी दूतावासलाई पत्र लेखेको पत्रसहित फरकधारले गत ३० असारमा पहिलोपटक समाचार प्रकाशन गरेको थियो । त्यसको प्रभाव बढेपछि अन्य सञ्चारमाध्यमले पनि २ साउनबाट उक्त विषयमा समाचार प्रकाशन गर्न थालेका छन् । 

यो पनि :



के उपसभामुखले पैसा लिएर पाँच जनालाई अमेरिका लैजान खोजेकी थिइन् ?

उपसभामुखको विवादित पत्रबारे रास्वपाले राख्यो सभामुखसँग जिज्ञासा (भिडियाेसहित)

  • प्रकाशित मिति : साउन ४, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया