logo-img

काठमाडौंको ढलमा देखियो पोलियो जीवाणु

काठमाडौंको ढलमा पोलियो जीवाणु (भाइरस) देखिएको छ । स्वास्थ्य सेवा विभागले आज यहाँ आयोजना गरेको ‘पोलियो रोग र निगरानी’ विषयक अन्तरक्रिया कार्यक्रममा विभागका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले काठमाडौंको टुकुचा खोला र बागमती नदीको सङ्गमस्थल टेकुको ढलमा पोलियो जीवाणु भेटिएको बताए । 

दुई नदीको सङ्गमस्थलबाट सङ्कलन गरिएको ढलको नमूनामा पोलियो जीवाणु भेटिएको प्रमुख डा. गौतमले बताए । ढलमा पोलियो जीवाणु देखिएको पहिलोपटक हो । 

नेपालमा सन् २०१० मा अन्तिम पटक मानिसमा पोलियो जीवाणु देखिएको थियो । नेपाल सन् २०१४ पोलियोमुक्त मुलुक भएको थियो । सरकारले सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ । 

‘अहिले पोलियो जीवाणु ढलमा देखिएको हो । पोलियोको जीवाणु जहाँ देखिए पनि संवेदनशील विषय हो,’ डा. गौतमले भने, ‘ढलमा देखिनुले कतै व्यक्तिमा पनि छ कि भन्ने आशङ्का छ ।’

खोप शाखा प्रमुख डा. गौतमले ढलमा जीवाणु देखिनु संवेदनशील भएको उल्लेख गर्दै व्यक्तिमा जीवाणु छ कि भनेर खोजबिन गरिने बताए । उनका अनुसार थाइल्याण्डको बैङ्ककमा ढलमा सङ्कलन गरिएको नमूना परीक्षण गर्दा गत असार २९ गते पोलियो जीवाणु देखिएको पुष्टि भएको हो । ढलको नमूना सङ्कलन भने गत जेठ १३ गते दुई नदीको सङ्गमस्थलबाट गरिएको हो । 

नेपाल पोलियो उन्मूलन भएपछि १० वर्षपछि पोलियोको जीवाणु भेटिएको हो । डा. गौतमका अनुसार उक्त पोलियोको जीवाणु प्राकृतिक रुपमा पाइने ‘वाइल्ड पोलियो’ नभएर ‘भ्याक्सिन डिराभ्ड पोलियो टाइप–३’ जीवाणु हो । ‘टुकुचा र बागमतीको सङ्गमस्थल टेकुमा देखिएको हुनाले पोलियो भाइरस काठमाडौँ उपत्यकाबाट नै आएको हुनसक्छ,’ उनले भने ।



उपत्यकामा पोलियोको जीवाणु भेटिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौं, ललितपुर र भक्तपुरमा पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्दैछ । 

परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकालाई घरघर गएर पोलियो रोगविरुद्धको ‘आइपिभी’ खोप अभियान सञ्चालन गर्न थालिएको बताए । उनका अनुसार खोप यही साउन ९ देखि १२ गतेसम्म दुई लाख ८० हजार बालबालिकालाई उक्त खोप लगाइने छ ।  



  • प्रकाशित मिति : साउन ४, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया