logo-img

चितवनमा भित्रिए हालसम्मकै धेरै पर्यटक
फाइल तस्बिर

चितवन राष्ट्रिय निकुञ्जमा हालसम्मकै धेरै पर्यटक भित्रिएका छन् । गत आर्थिक वर्षमा हालसम्मकै धेरै पर्यटक निकुञ्ज प्रवेश गरेका हुन् । भरतपुर महानगरपालिकाले घोषणा गरेको भरतपुर भ्रमण वर्षको प्रभावका कारण पनि थप पर्यटक आएका हुन् ।
 
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आर्थिक वर्षमा तीन लाख छ हजार आठ सय ३७ पर्यटक निकुञ्ज प्रवेश गरेका छन् । अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या दुई लाख ९९ हजार चार सय १२ रहेको थियो । निकुञ्जले यो सङ्ख्या नै हालसम्मको उच्च रहेको जनाएको थियो । त्यो तथ्याङ्कलाई पार गर्दै गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षकोभन्दा सात हजार चार सय २५ बढी पर्यटक निकुञ्ज भित्रिएका हुन् ।
 
तिवारीका अनुसार गत आर्थिक वर्षमा नेपाली एक लाख ७६ हजार तीन सय १६ भित्रिएका थिए । अघिल्लो आर्थिक वर्षमा नेपालीको सङ्ख्या दुई लाख पाँच हजार छ सय पाँच थियो । यसैगरी गत आर्थिक वर्षमा सार्क मुलुकका ३६ हजार चार सय ७१ र अघिल्लो आर्थिक वर्षमा ३७ हजार नौ सय ३५ पर्यटक भित्रिएका थिए । यस्तै अन्य मुलुकका विदेशी पर्यटक गत आर्थिक वर्षमा ९४ हजार ५० र अघिल्लो आर्थिक वर्षमा ५५ हजार आठ सय ७२ भित्रिएका थिए ।  
 
यो तथ्याङ्कलाई हेर्दा गत आवमा अघिल्लो वर्षको तुलनामा तेस्रो मुलुकका पर्यटक निकै बढेका छन् । सार्क मुलुकका पर्यटकको सङ्ख्या हाराहारी नै छ भने नेपालीको सङ्ख्या घटेको छ ।
 
निकुञ्जमा कूल पर्यटक र त्यसमा पनि विदेशी पर्यटक बढेसँगै राजस्व निकै बढेको छ । तिवारीका गत आवमा पर्या–पर्यटनबाट ३० करोड ५७ लाख १८ हजार चार सय रुपैयाँ राजस्व सङ्कलन भएको छ । अघिल्लो आवमा यो रकम २२ करोड ९३ लाख ९५ हजार नौ सय ५० रुपेयाँ  थियो । आव २०७८/७९ मा एक लाख ९० हजार चार सय ५८ पर्यटक निकुञ्ज भित्रिएका थिए । यो आवमा  ११ करोड ४९ लाख ९७ हजार चार सय १३ राजस्व रुपैयाँ सङ्कलन भएको थियो ।
 
यसैगरी आव २०७७/७८ मा ९८ हजार नौ सय २८ पर्यटक भित्रिँदा तीन करोड ५० लाख ८३ हजार तीन सय ७६ राजस्व सङ्कलन भएको थियो । आव २०७६/७७ मा एक लाख ८२ हजार चार सय ३५ पर्यटक निकुञ्ज प्रवेश गरेका थिए । सो आवमा १९ करोड ९२ लाख ५५ हजार छ सय ८१ राजस्व सङ्कलन भएको थियो ।
 
तिवारीका अनुसार निकुञ्ज स्थापनासँगै आव २०३१/३२ देखि निकुञ्जमा पर्यटकको तथ्याङ्क राख्न थालिएको हो । त्यसवर्ष आठ सय ३६ पर्यटक निकुञ्ज घुमेको तथ्याङ्क छ । यसबाट एक लाख ४० हजार दुई सय ९८ राजस्व सङ्कलन भएको थियो । दोस्रो वर्ष अर्थात् आव २०३२/३३ मा दुई हजार दुई सय छ पर्यटक निकुञ्ज भित्रिँदा दुई लाख एक हजार चार सय २१ राजस्व प्राप्त भएको थियो ।
 
सन् २०२४ लाई भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्षका रुपमा मनाइरहेको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा भ्रमण वर्षको प्रचार भइरहेकाले यहाँ आउने पर्यटकको सङ्ख्या बढेको बताइन् । भ्रमण वर्षमा आउने पर्यटक मुख्य गन्तव्य निकुञ्ज रहेको भन्दै उहाँले जहाँ बसे पनि पर्यटक निकुञ्ज घुम्न जाने गरेको बताइन् । 
 
चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तु, चराचुरुङ्गी, वनस्पति, जलचरको अध्ययन, अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् । 





  • प्रकाशित मिति : साउन ५, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया