logo-img

गगन थापाको दाबी- हामी ढाँट्ने झुक्याउने गर्दैनौँ, एमालेसँगको गठबन्धन तलमाथि हुँदैन

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमाले–कांग्रेस गठबन्धनको सरकार अर्को निर्वाचनसम्म कायमै रहने दाबी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित ४२औँ बिपी स्मृति दिवसको अवसरमा आयोजित ‘बिपी कोइराला र वर्तमान राष्ट्रिय राजनीति’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै महामन्त्री थापाले एमालेसँगको सहमति कार्यान्वयनका सवालमा कांग्रेस अनुशासित रहेको बताए । 

एक राजनीतिक दलले कुनै अर्को राजनीतिक दललाई ढाँट्ने, झुक्याउने र धोका दिने परिपाटीकाबीच दुई ठूला दल एक ठाउँमा आएको उल्लेख गर्दै अहिलेको सरकार शंका र संशयबाट मुक्त हुनुपर्ने बताए । 

उनले भने, ‘एमाले–कांग्रेसले गरेको सम्झौताको एक बुँदामा स्थिर सरकार दिने भनेका छौँ । देश निकै अस्थिर सरकारमा गिजोलिरहेको अवस्थामा देशका दुई ठूला दल मिल्यो भने २०८४ सालसम्म तलमाथि गर्दैनौँ भनेर भन्यौँ । एकले अर्कालाई ढाँट्ने, झुक्याउने र धोका दिने परिपाटीकाबीच दुई दल एक ठाउँमा मिलेका छौँ । अहिलेको सरकार शंका र संशयबाट मुक्त हुनुपर्दछ । म नेपाली कांग्रेसको जिम्मा लिएर भन्छु सरकार निर्माणका क्रममा नेकपा एमालेसँग भएका सहमतिमा नेपाली कांग्रेसको तर्फबाट केही पनि तलमाथि हुँदैन । अहिलेको दुई वर्ष एमाले अध्यक्ष केपी ओलीज्यूको नेतृत्वमा सरकार बनाउने भनिएको छ । हामीले लोप गरेर, चकचक गरेर अथवा हाम्रो कारणले तलमाथि हुँदैन ।’

त्यस्तै महामन्त्री थापाले वि.स. २०४८ सालदेखि २०५१ सम्मको ती वर्षको अवधिमा कांग्रेस नेतृत्वको सरकारले देशमा औद्योगीकरणको सुरुवात भए पनि माओवादी जनयुद्धले उद्योग निर्माणमा पूर्णविराम लगाएको बताए । भारतभन्दा पहिले नै नेपालले उदारिकरणको बाटो समातेको भए पनि बीचमा बनेका सरकारको मति ठिक नभएका कारण औद्योगीकरण हुन नसकेको बताए । 

उनले भने, ‘२०४६ सालको परिवर्तनपछि २०४८ सालदेखि २०५१ सालसम्म तीन वर्षको अवधिमा कांग्रेस नेतृत्वको सरकारको पालामा औद्योगीकरणको सुरुवात भएको हो । भारत त्यति बेला क्लोज थियो । नेपालले भारतभन्दा पहिले उदारिकरणको बाटो समात्यो । त्यो बेलाको सरकारको मति ठिक थियो, गति ठिक भइदिएको भए आज नेपाल अर्कै अवस्थामा हुन्थ्यो । त्यसपछि आएको नेकपा एमालेको सरकारले उदारिकरणसँगै सुरु भएको उद्योगहरूलाई सञ्चालन गर्न सकेन । किनभने उसलाई कांग्रेसले उद्योगहरू बेच्यो पनि भन्नुपर्ने थियो नि । १० वर्षे माओवादी जनयुद्ध कालमा नेपालका ६० प्रतिशत उद्योगहरू बन्द भए । त्यो जनयुद्धले नेपालले एक अवसर गुमाएको छ । तर आज फेरि हामीसामु गज्जबको अवसर आएको छ । नेपालसँग अहिले पर्याप्त सक्रिय जनसङ्ख्या छ । नेपाली युवाहरूको मध्यम उमेर  २४ वर्ष पनि छैन ।’ 





  • प्रकाशित मिति : साउन ५, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया