logo-img

जोखबहादुरलाई धार्नी पुर्याउनै सकस, प्रचण्डकै हालतमा लुम्बिनीका मुख्यमन्त्री

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार विश्वासको मत लिने तयारी गरेका छन् । एमालेलगायत सत्ता सहयात्री दलले समर्थन् फिर्ता लिएपछि उनले विश्वासको मत लिनैपर्ने भएको हो ।  

महरा गत चैत २३ गते ४८ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए । एमालेका २९ माओवादी १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपा ३, नेकपा एसका १ र स्वतन्त्र सांसद खड्ग बस्नेतको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् । 

केन्द्रमा कांग्रेस–एमालेको सत्ता समीकरण बनेसँगै एमालेका पाँच मन्त्रीले असार २० गते राजीनामा दिएका थिए । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका महराको पक्षमा अब जम्मा १३ सांसद बाँकी छन् । महरासँग अहिले माओवादीका १०, नेकपा एस र राष्ट्रिय जनमोर्चाका गरी कूूल १३ सांसद छन् । 

लुम्बिनी प्रदेशसभामा ८७ सांसद छन् । सरकार गठनको धार्नी पुर्याउन ४४ सांसद आवश्यक पर्छ । सो प्रदेशमा एमालेका २९ र कांग्रेसका २७ सांसद छन् । दुई पार्टीको मात्रै संख्या जोड्दा ५६ पुग्छ । त्यसकारण कांग्रेस–एमालेलाई सरकार बनाउन सहज छ । 

आइतबार लुम्बिनी प्रदेशसभाको २४औँ बैठकमा मुख्यमन्त्री महराले विश्वासको मतको प्रस्ताव पेस गर्ने तयारी छ । दिउँसो १ बजेबाट सुरु हुने बैठकमा सो प्रस्तावमाथि छलफल भई उठेका प्रश्नहरुको जवाफ दिने सम्भावित कार्यसूची रहेको प्रदेश सचिव दुर्लभकुमार पुनले जानकारी दिएका छन् । 

कांग्रेस र एमालेले मुख्यमन्त्री जोखबहादुर महराको विपक्षमा मतदान गर्न ह्विप जारी गरेका छन् । दुवै दलका संसदीय दलको संयुक्त बैठक बसेर महराको विपक्षमा मतदान गर्न ह्विप जारी गरेका हुन् ।



आइतबार बिहान कांग्रेस–एमालेले संयुक्त बैठक बसेर थप रणनीति बनाउने तयारी गरेका छन् । कांग्रेस–एमालेले आ–आफ्ना सांसदलाई अनिवार्य उपस्थित हुन र महराको विपक्षमा मतदान गर्न ह्विप जारी गरेका छन् । 

केन्द्रमा चारपटकसम्म विश्वासको मत पाएका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कहिले एमालेको पक्षमा कहिले कांग्रेसको पक्षमा ओहोर–दोहोर गरेपछि आजित भएका दुई दलले मिलेर नयाँ समीकरण बनाएका छन् । केन्द्रमा प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै लुम्बिनीमा पनि महरा नेतृत्वको सरकार ढल्ने निश्चित भएको हो । 



  • प्रकाशित मिति : साउन ५, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया