logo-img

बंगलादेशबाट आठ सय विद्यार्थी फर्किए, परराष्ट्रले स्थापना गर्यो ‘हेल्प डेस्क’

परराष्ट्र मन्त्रालयले बंगलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा परेका नेपाली विद्यार्थीको सहयोगका लागि ‘हेल्प डेस्क’ स्थापना गरेको छ । बंगलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनका कारण तनाव उत्पन्न भएको छ ।

मन्त्रालयले आज एक सूचना जारी गरी त्यहाँ रहेका विद्यार्थीको सहजताका लागि आवश्यक सम्पर्क व्यक्तिसहित हेल्प डेस्कको व्यवस्था गरिएको जनाएको छ । समस्यामा परेका विद्यार्थी तथा अभिभावक एवं आफन्तका लागि आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि मन्त्रालयले निर्धारण गरेको इमेल वा फोन नम्बरमा सम्पर्क गर्न एवं अनलाइन फाराम भर्न मन्त्रालयले अनुरोध गरेको छ । 

सम्पर्कका लागि नेपाली राजदूतावास ढाकामा द्वितीय सचिव योजना बम्जन र रिया क्षेत्री तथा सिंहदरबारस्थित मन्त्रालयमा सम्पर्कका लागि शाखा अधिकृत महेश्वरमणि त्रिपाठीलाई सम्पर्क गर्न अनुरोध गरिएको छ । 

त्यसका अतिरिक्त भविष्यमा पुनः सहयोग आवश्यक पर्नसक्ने सन्दर्भमा आफू अध्ययनरत विश्वविद्यालय, कलेज वा शैक्षिक संस्थाको नाम र ठेगाना मन्त्रालयलाई जानकारी गराइदिनसमेत अनुरोध गरिएको सूचनामा उल्लेख छ ।

बंगलादेशमा जारी तनावपछि हालसम्म करिब ८०० जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । परराष्ट्र मन्त्रालयले शनिबार राति यसबारे जानकारी गराएको हो । उनीहरु हवाइमार्ग र स्थलमार्फत हुँदै नेपाल आएको मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत जानकारी गराएको हो । 

ढाकास्थित नेपाली दूतावासले अधिकांश विद्यार्थीहरूसँग बंगलादेशका विभिन्न स्थानहरूबाट ढाका विमानस्थल वा सम्बन्धित सीमा नाकाहरूमा सुरक्षित यात्राको लागि समन्वय गरेको र हालसम्म झण्डै ८०० नेपाली विद्यार्थीले हवाई वा स्थलमार्ग हुँदै बंगलादेश छाडेको मन्त्रालयले जनाएको छ । 



नेपाल सरकार सबै नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न प्रतिबद्ध रहेको मन्त्रालयले जनाएको छ ।


 



  • प्रकाशित मिति : साउन ५, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया