logo-img

एमाले-कांग्रेसले काँध हाल्दासमेत प्रचण्ड सरकारले गति लिएन, मुलुक चरम निराशामा पुग्यो : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गो मुलुक चरम निराशामा पुगेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा विश्वासको मत प्रस्ताव पेस गर्ने क्रममा सम्बोधन गर्दै उनले अहिले मुलुक २०४६ साल यताकै निराशामा पुगेको बताएका हुन् । 

उनले  भने,‘सिंगोदेश चरम निराशामा छ । ऋण लिएर तिर्न नसकेका कारण कालोसूचीमा पुग्ने अवस्था छ । अघिल्लो सरकार स्टन्टबाज भयो । थुन्ने अनि सुन्ने काम भएकाले व्यवसायीहरूले काम गर्ने अवस्था नै भएन । व्यवसायीहरू मरिच झैं चाउरिएका छन्,त्यसैले जनतामा आशा र उत्साह भर्नका लागि तीव्र आर्थिक वृद्धिका लागि लागेको हो ।’

साथै उनले १४ खर्ब राजस्व उत्पादन गर्नुपर्नेमा अहिले २४ प्रतिशत राजस्व कम उत्पादन भएको बताए । उनले अहिले बैंकमा पैसा थुप्रिएको तर कुनै पनि व्यवसायी लगानी गर्न तत्पर व्यवसायी नरहेको जिकिर गरे । यस्तै उनले निराशा चिरेर मुलुकलाई आशा र उत्साह भर्न र तीव्र आर्थिक वृद्धिका लागि सरकारले काम गर्ने बताएका छन् ।

त्यस्तै ओलीले एमाले र कांग्रेसले पटक पटक काँध हाल्दा समेत पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गति लिन नसक्दा संसदका दुई ठुला दल मिल्नुपरेको बताएका छन् । उनले प्रचण्ड नेतृत्वको सरकारले थिति बसाल्ने रुचि समेत नदेखाएका कारण समाजमा दूषित परिणाम निस्किने खतरा बढेका कारण दुई दल मिल्नुपरेको बताए । 

उनले भने, ‘म कसैप्रति व्यक्तिगत टिप्पणी गर्न चाहन्न । तर यति चाहिँ भन्छु कि नेपाली कांग्रेस र नेकपा एमालेले पटक पटक काँध हाल्दा समेत अघिल्लो सरकारले गति समात्न सकेन । सरकारले थिति बसाल्न सकेन । थिति बसाल्ने रुचि पनि राखेन । जसका कारण समाजमा अनेकन् दूषित परिणाम निस्किने खतरा बढ्यो । त्यसलाई टुलटुल हेरेर बस्न सकेनौँ ।’

एमाले र कांग्रेस प्रतिस्पर्धी पार्टी भए पनि खास समयमा सहकार्य गरेर परिणाम दिनेगरि काम गरेको बताए । 



‘नेपाली कांग्रेस र नेकपा एमाले प्रतिस्पर्धी पार्टी हौं । विचारमा प्रतिस्पर्धा गरे पनि खास समयमा सहकार्य गरेको र देशलाई परिणाम दिएकै हो । २००७ सालमा राणा शासन अन्त्यका लागि एक भएका थियौँ । त्यसपछि पनि थुप्रै कालखण्डमा एक हुँदै आएका छौँ,’ उनको भनाइ छ ।  



  • प्रकाशित मिति : साउन ६, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया