logo-img

उपसभामुखको ‘हर्कत’को बचाउमा उत्रियो रास्वपा, ‘मिडिया ट्रायल’को आरोप
उपसभामुखले संसदको कमाण्ड सम्हाल्ने नैतिक आधार गुमाएको सत्ता पक्षको दाबी

उपसभामुख इन्दिरा राना मगरले पाँचजना व्यक्तिलाई अमेरिका लैजान गरेको असफल प्रयासको विषयले सञ्चारमाध्यम मात्र होइन, आइतबारबाट संसद पनि तात्न सुरु भएको छ । 

उपसभामुख रानाले ती पाँचजना आफ्नो समूहका रहेको र उनीहरूको र आफ्नो अन्तर्वार्ता एकै मितिमा सारिदिन आग्रह गर्दै काठमाडौंस्थित अमेरिकी दूतावासलाई पत्र लेखेको विषय सदनमा प्रवेश गरेको हो । 

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सत्तापक्षका सांसदहरूले उपसभामुखले पदीय मर्यादाविपरीत कार्य गरेको आरोप लगाउँदै सो विषयमा गम्भीर अनुसन्धान हुनुपर्ने माग गरे । यता, उपसभामुख रानासम्बद्ध दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले भने रानाको बचाउमा उत्रिए । भुटानी शरणार्थी प्रकरण स्मरण गराउँदै रास्वपाले उक्त विषय नै ढिसमिस गराउने प्रयत्न गरेको आभास भएको छ । 

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसदसँग कुनै सम्बन्ध नभएका पाँचजना व्यक्तिलाई अमेरिका पठाउन उपसभामुख रानाले आफ्नो लेटरहेटडको दुरुपयोग गरेर अन्तरर्वार्ताका लागि पत्र लेखेको विषयलाई मानव तस्करीसँग जोडेका छन् ।

उपसभामुख आफैँले नचिनेका मानिसहरूका लागि सिफारिस भएको उल्लेख गर्दै खतिवडाले कसले, किन र कुन प्रयोजनका लागि यस्तो गरेको हो त्यसको आवश्यक अनुसन्धान गर्नुपर्ने माग खतिवडाले गरेका छन् । अब उपसभामुख रानाले संसद्को कमाण्ड गर्न नसुहाउने उनको भनाइ छ ।

उपसभामुखको कार्यकक्ष र संसदलाई भिसा सहजीकरणको ‘कन्सल्टेन्सी’ बनाउन नहुने उनको भनाइ छ । उपसभामुखको यस्तो हर्कतले संसदको मात्र नभई देशको अपमान भएको उनले बताए ।



उनले भने, ‘संसदसँग कुनै साइनो नभएका पाँचजना मान्छे मानव तस्करले प्रयोग गरेर अमेरिकाको भिसाका लागि अन्तरर्वार्ताका लागि प्रयोग गरेको पत्र प्राप्त भयो ।’ यस्तो अवस्थामा उपसभामुखले अब संसद्को कमाण्ड गर्न सुहाउँछ कि सुहाउँदैन ? कसले, किन कुन प्रयोजनका लागि गरेको हो अनुसन्धान हुनुपर्छ ।’

प्रतिनिधिसभामा कुनै पत्र आए सभामुख हुँदा महासचिवमार्फत परराष्ट्र मन्त्रालय पुग्नुपर्नेमा त्यसो नभएको भन्दै खतिवडाले प्रश्न गरेका छन् । अब उपसभामुख रानाले आफ्नो पदबाट राजीनामा दिएर छानबिनका लागि सहयोग गर्नुपर्ने खतिवडाको माग छ ।



राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले भने उपसभामुखको नाममा मिडिया ट्रायल भइरहेको बताएकी छिन् । उनले भुटानी शरणार्थी प्रकरणको हवाला दिँदै उपसभामुख रानाको बचाउन गर्ने भरपुर प्रयास गरेकी छिन् । अनेक त्याग गरेर आएको एक महिलालाई मानव तस्करीको गम्भीर आरोप लगाइएको भन्दै उनले संसदमै आक्रोश पोखिन् ।

पहिला भुटानी शरणार्थीमा संलग्नहरूको ‘डिक्लेयर’ गर्नसमेत उनले सरकारलाई चुनौती दिएकी छिन् । उपसभामुखमाथि गम्भीर आरोप लगाउनुको कारण संवैधानिक परिषदमा बहुमत हासिल गर्नु रहेको उनको बुझाइ छ ।

उनले भनिन्, ‘उपसभामुखको नामबाट लगातार मिडिया ट्रायल भइरहेको छ । यसको कारण अरू होइन, संवैधानिक परिषदमा बहुमत जुटाउन यस्तो प्रचार गरिएको हो । संवैधानिक परिषदमा प्रतिनिधित्व छैन भने माग्नुस् । हो माग्नुस् दिउँला ।’

सुमनाले उपसभामुखकाे बचाउ गरेर बसेलगत्तै एमाले सांसद दामोदर पौडेल वैरागीले उनकाे प्रतिवाद गरे । उपसभामुखकाे उक्त पत्र र त्यसकाे बचाउमा जारी विज्ञप्तिले याे प्रकरण मानवतस्करी नै भएकाे पुष्टि भएकाे दाबी गरे । अरू काण्ड जाेडेर यस काण्डलाई जाेगाउन प्रयास नगर्न उनले चेतावनी दिए ।  

आफ्नो पार्टीबाट उपसभामुख बनेकी रानाको बचाउ गर्दै पहिला भुटानी शरणार्थी प्रकरणको अनुसन्धान हुनुपर्ने बताएकी सुमनाले संसदमा बोल्दै गर्दा यसअघि गृहमन्त्री आफ्नै पार्टी सभापति रवि लामिछाने रहेको बिर्सेको जस्तो देखिन्छ । एक साताअघिसम्म लामिछाने गृहमन्त्री थिए । त्यसबेला उनले भुटानी शरणार्थी प्रकरणमा किन माखो मार्न सकेनन् ? प्रश्न उठ्छ नै । सत्तामा हुँदा अकर्मण्यता देखाएको रास्वपाले प्रतिपक्षमा पुगेपछि आफ्ना काण्डहरू छोप्नका लागि गरिएको तर्क फितलो देखिन्छ ।

सुमनाले यो प्रश्न सरकारलाई भन्दा पनि भर्खरै गृह मन्त्रालय छाडेका आफ्नै पार्टी सभापति लामिछानेलाई गर्नुपर्ने हो । आज संसदमा सुमनाले गरेको भाषणले उनी शिक्षामन्त्री हुँदा आर्जन गरेको स्वच्छ छविलाई नै धमिल्याउने देखिन्छ ।

उपसभामुख रानाले पाँचजना व्यक्तिलाई अमेरिका लैजान गरेको असफल प्रयासलाई फरकधारले गत असार ३० गते पहिलोपटक तथ्यसहित सार्वजनिक गरेको थियो । त्यसपछि अन्य सञ्चारमाध्यमले पनि उक्त विषयलाई प्राथमिकताका साथ उठाउँदै आएका छन् । 

विभिन्न राजनीतिक विश्लेषकहरूले उपसभामुख रानाको उक्त हर्कतलाई अनधिकृत र पदको दुरुपयोग भएको जनाएका छन् । संसदीय मूल्य, मान्यता र आदर्शविपरीत उपसभामुख रानाले गरेको उक्त गैरजिम्मेवार कार्यले पदमा बस्ने नैतिक आधार गुमाइसको छ । यसैले, उपसभामुख रानाले आफ्नो पदबाट राजीनामा दिनु नै उपयुक्त विकल्प हुने विश्लेषण राजनीतिक वृत्तमा हुने गरेको छ ।
 

  • प्रकाशित मिति : साउन ६, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया