logo-img

लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले दिए राजीनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज आफ्नो पदबाट राजीनामा दिएका छन् । लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकलाई सम्बोधन गर्दै उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् । 

संघीय सरकारमा सत्ता समीकरण परिवर्तन भएसँगै नेकपा (एमाले)ले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री महराले प्रदेशसभाबाट विश्वासकाे मत पाउने अवस्था नभएपछि राजीनामा दिएका हुन् । 
 
मुख्यमन्त्री महराले छिट्टै नयाँ सरकार गठन गरी मन्त्रिपरिषद्लाई पूर्णता दिन आग्रह गरे । उनले आफ्नो नेतृत्वको सरकारमा सहभागी हुँदा एमाले तथा अन्य दलका मन्त्रीहरुले सोचेभन्दा बढी विश्वासका साथ काम गरेको दाबी गरे । 

'केन्द्रीय राजनीतिको प्रभाव प्रदेशमा पर्नु दुःखद हो,' उनले भने । आफ्नो नेतृत्वको सरकारले ल्याएको बजेट कार्यान्वयन हुँदैन कि भन्ने चिन्ता गर्दै मुख्यमन्त्री महराले चालू आर्थिक वर्षको नीति तथा कायक्रम कार्यान्वयन हुनेमा आफू आशावादी रहेको बताए । 
  
मुख्यमन्त्री महराको राजीनामासँगै एमाले र नेपाली काग्रेसले नयाँ सरकार गठनको तयारी सुरु गरेको एमालेका प्रमख सचेतक तुल्सीप्रसाद चौधरीले जानकारी दिए । नयाँ सरकार बनाउन एमाले संसदीय दलका नेता लीला गिरीको नेतृत्वमा दाबी पेस गर्ने तयारी रहेको उनले बताए । 

कूल ८७ प्रदेशसभा सदस्य रहेको लुम्बिनीमा एमालेका २९ र काग्रेसका २७ प्रदेशसभा सदस्य रहेका छन् । सत्ता सहकार्यका लागि अन्य साना दललाई समेत प्रदेश सरकारकारमा समेट्ने तयारी रहेको प्रमुख सचेतक चौधरीले बताए । 





  • प्रकाशित मिति : साउन ६, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया