logo-img

मुलुक पोलियोमुक्त घोषणा भएको १० वर्षपछि पुनः भेटियो जीवाणु, सतर्क रहन चिकित्सकको आग्रह

नेपाललाई पोलियोमुक्त घोषणा गरिएको १० वर्षपछि पुनः पोलियो भाइरस भेटिएको छ । परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा. अभियान गौतमले नेपालमा पोलियोमुक्त घोषणा भएको १० वर्षपछि पोलियो भाइरस भेटिएको जानकारी दिएका छन् । 

उनका अनुसार प्रयोगशाला परीक्षणको नतिजाअनुसार सो पोलियो भाइरस ‘पोलियो खोप’बाट उत्पन्न पोलियो भाइरस पुष्टि भएको छ । ‘वातावरणीय निगरानीका क्रममा हालै काठमाडौंको टुकुचा बागमती संगम नजिकबाट संकलन गरिएको ढलको नमुना परीक्षण गर्दा पोलियो भाइरस पत्ता लागेको छ ।’ उनले टेकु दोभानबाट संकलन गरिएको नमुना परीक्षण गर्दा पोलियो भाइरस टाइप ‘घ’को जीवाणु भेटिएको जानकारी दिएका छन् । 

नेपालमा १३ वर्षयता पोलियो भाइरस पुष्टि भएको थिएन । विश्व स्वास्थ्य संगठनले १० वर्षअघि नै नेपाललाई पोलियो उन्मूलन घोषणा गरिसकेको छ । नेपालमा सन् २०१० मा अन्तिमपटक मानिसमा पोलियो जीवाणु देखिएको थियो । नेपाल सन् २०१४ पोलियोमुक्त मुलुक भएको थियो । सरकारले सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ । तर, एकाएक पोलियो भाइरस पुष्टि भएपछि भने पुनः सतर्क रहन शाखाले सचेत गराइरहेको छ । 

नेपाल पोलियो रोगमुक्त भए तापनि सन् २०१७ देखि काठमाडौंका विभिन्न पाँच ठाउँबाट महिनाको दुईपटक र उपत्यकाबाहिर विराटनगर, जनकपुर र पोखराबाट महिनाको एक–एक ठाउँबाट एकपटक नमुना संकलन गरेर परीक्षण गरिँदै आइएको छ ।

पोलियो भाइरसविरुद्धको खोप अभियान

डा. गौतमले उपत्यकाका (काठमाडौं, ललितपुर भक्तपुर)बाट आउने नदीको संगममा पोलियो जीवाणु भेटिएसँगै पोलियो भाइरसविरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको जानकारी दिएका छन् । उपत्यकामा यही साउन ९ देखि १२ गतेसम्म पोलियो भाइरसविरुद्धको खोप अभियान सञ्चालन गर्ने डा. गौतमले बताएका छन् । 



डा. गौतमका अनुसार जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकालाई पोलियो खोप खुवाइनेछ । खोप स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत घर–घरमा दिइनेछ ।



सरकारले प्रयोग गर्ने खोप विश्व स्वास्थ्य संगठनबाट गुणस्तर प्रमाणित भएको र नेपालमा प्रयोग गर्नको लागि औषधि व्यवस्था विभागमा दर्ता गरिएको हुँदा खोप ढुक्कसँग लगाउन डा. गौतमले आग्रह गरेका छन् । 

कस्तो रोग हो पोलियो ?

पोलियो भाइरसबाट हुने संक्रामक रोग हो । पोलियो भाइरसबाट संक्रमण भएमा ज्वरो आउने, पखाला लाग्ने, जिउ दुख्ने, थकान महसुस हुनेजस्ता लक्षण देखिने डा. गौतमले जानकारी दिए । यदि रोगका गम्भीर लक्षण देखिएमा पक्षघातदेखि मृत्युसमेत हुने उनको भनाइ छ ।

डा. गौतमका अनुसार पोलियो रोग दूषित खाना र पानीको माध्ययबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ । पोलियो रोग जुनसुकै उमेरका मानिसलाई लाग्न सक्ने डा. गौतम बताउँछन् । तर, पाँच वर्षमुनिका बालबालिका पोलियो भाइरस रोगको जोखिममा बढी हुने जनस्वास्थ्यविद्ले बताए । 

डा. गौतमका अनुसार यो रोगको हालसम्म कुनै निश्चित उपचार छैन । ‘यो रोगको हालसम्म कुनै निश्चित उपचार छैन । यो रोगबाट सुरक्षित हुने एक मात्र उपाय भनेको पोलियो भाइरसविरुद्धको खोप हो,’ डा. गौतमले भने ।
  
सरकारले पोलियोबाट बचाउन बालबालिकालाई राष्ट्रिय खोप तालिकामार्फत पोलियोविरुद्धको खोप नियमित रूपमा दिँदै आएको छ । यो रोगबाट बच्न व्यक्तिगत सरसफाइमा, शुद्धीकरण गरिएको पानी र स्वच्छ खानामा विशेष ध्यान दिन जनस्वास्थ्यविद्को सुझाब छ ।

यस्तै, परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकालाई घरघर गएर पोलियो रोगविरुद्धको ‘आइपिभी’ खोप अभियान सञ्चालन गर्न थालिएको जनाएका छन् ।

उनका अनुसार यस खोप अभियानमा दुई लाख ८० हजार बालबालिकालाई लगाइनेछ । खोप अभियानसँगै घर र अस्पताल पोलियोको जीवाणु छ कि छैन भनेर पनि परीक्षण गरिने उनको भनाइ छ ।

  • प्रकाशित मिति : साउन ६, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया