logo-img

बागमती प्रदेशमा नयाँ सरकार गठनकाे आह्वान,आजै दाबी पेस गर्ने कांग्रेसकाे तयारी

बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्। मुख्यमन्त्री शालिकराम जम्कट्टेलको दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख शर्माले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् । 

उनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि साउन ८ गते साँझ ५ बजेसम्मको समय तोकेका छन्। प्रदेश प्रमुख शर्माले मुख्यमन्त्री जम्कट्टेलको राजीनामा स्वीकृत गरी अर्को सरकार गठन नहुञ्जेलसम्म उनलाई कामचलाउ मुख्यमन्त्रीको जिम्मेवारी दिएका छन्।

मुख्यमन्त्री जम्कट्टेलले नयाँ राजनीतिक समीकरणअनुसार सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने भन्दै आज दिउँसो प्रदेश प्रमुख शर्मालाई राजीनामा पत्र बुझाएका थिए। 

प्रमुख शर्माले नयाँ सरकार गठनकाे आह्वान गरेसँगै नेपाली कांग्रेसले मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेकाे छ। कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्तका लागि दाबी पेस गर्ने तयारी गरेका हुन्। 

बहुमत प्रदेशसभा सदस्यको हस्ताक्षरसहित कांग्रेस नेता लामाले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेकाे एमाले प्रदेशसभा संसदीय दलका नेता जगन्नाथ थपलियाले जानकारी दिए।





  • प्रकाशित मिति : साउन ६, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया